सिमकोट । अक्सीजनको लेवल स्वास्थ्य मापदण्ड भन्दा निकै कम भएपछि सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
चिकित्सक सहित चार्टर गरिएको सिम्रीक एयरको हेलिकोप्टरबाट धामीलाई जुम्ला लगिएको जिल्ला अस्पताल हुम्लाका डा. टसी लामाले जानकारी दिए ।
बिहिबार वेलुका देखि जिल्ला अस्पतालमा राखिएको संयोजक धामीको स्वाश–प्रश्वाश ५२ मा झरेपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा लगिएको डा. लामाले जानकारी दिए ।
‘धामीको श्वाश–प्रश्वाशको अवस्था निकै संकटग्रस्थ थियो’ डा. लामाले नेपालवोटलाई भने, ‘जिल्ला अस्पतालको व्यवस्थाले संभव नहुने देखेपछि चिकित्सक सहितको हेलिकोप्टर चार्टर गरेर आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।’
बुधबार एन्टिजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएका धामीलाई श्वाश फेर्न समस्या भएपछि बिहिबार राती जिल्ला अस्पतालको एचडियुमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको डा. लामाले उल्लेख गरे ।
कर्णाली प्रदेशका अन्य अस्पताल भन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठानमा चिकित्सक र अक्सीजनको हिसाबले पनि सम्पन्न भएकाले सर्केगाड गाउँपालिका र धामीका आफन्तको आग्रह अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।
भक्तपुर इन्टरन्यासनल अस्पतालका डा. अविषेक देव र स्टाफनर्स अनिशा किलम्बु रहेको टोली सहित सिम्रीक एयरको हेलिकोप्टर चार्टर गरेर धामीलाई आज जुम्ला
लगिएको सर्केगार्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सर्केगाड गाउँपालिकाले आधा र संक्रमित धामी स्वयमले आधा व्यहोर्न गरेर कूल ९ लाख ५० हजार रुपैयाँको लागतमा सिम्रिक हेलिकप्टरबाट जुम्ला रेस्क्यू गरिएको हो ।
धामीलाई के भएको छ ? के भन्छन् चिकित्सक जान्न तलको भिडियो हेर्नुहोस्