सिमकोट । संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाको अदानचुली गाउँपालिकाका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
गाउँपालिकामै परिक्षण गरिएका मध्ये झण्डै ५० प्रतिशत बढीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै काम अनिश्चित कालका लागि बन्द गरिएको गाउँपालिका उपाध्यक्ष सौमती ऐडीले जानकारी दिइन् ।
आइतबार गाउँपालिकाले आयोजना गरेको सर्वपक्षिय बैठकको निर्णय अनुसार आइतबारदेखि नैं लागू हुने गरेर गाउँपालिकाका सबै काम बन्द गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाले एन्टीजेन विधिमार्फत शनिबार देखि शुरु गरिएको परिक्षणमा ७ जनामा स.क्रमण पुष्टि भएपछि गाउँपालिकालाईसिल गर्ने निर्णय गरिएको हो । बैठकले सोमबारदेखि गाउँपालिका वडा कार्यालयमा राखिएका ईन्टरनेट समेत जेठ ९ गतेसम्मको लागि बन्द गर्ने निर्णय भएको बताइएको छ । कार्यालयमा राखिएको इन्टरनेटका कारण प्रयोगकर्ताको भिंड लाग्ने भएपछि त्यस्तो निर्णय गरिएको हो । बन्दको समयावधीमा वडा अध्यक्षको सिफारिसमा एक गाउँबाट अर्को गाउँ आउन र जान पाउने निर्णय गरिएको उपाध्यक्ष ऐडी जानकारी दिइन् ।
‘आगामी जेठ ९ गतेसम्म गाउँपालिका भित्रका सबै होटेल, पसललाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेका छौं’ उपाध्यक्ष ऐडीले भनिन्, ‘यो अवधीमा मेसिनले गर्ने काम बाहेक अन्य सबै विकास निर्माणका कामलाई समेत तत्काल स्थगन गर्ने निर्णय गरिएको छ ।’
गाउँपालिकाले आयोजना गरेको बैठकमा वडा अध्यक्ष, गाउँकार्यपालिकाका सदस्य, नेकपा एमालेका धर्मराज शाही, माओबादी केन्द्रका कर्ण रोकाया र नेपाली काँग्रेसका शेरबहादुर बुढाको सहभागिता रहेको अदानचुली गाउँपालिकाले जनाएको छ ।
सिमकोट–७ पनि सिल
यसैगरी कोरोना संक्रमणलाई मध्यनजर गर्दै सिमकोटको वडा नम्बर ७ लाई पनि आजदेखि सिल गर्ने निर्णय गरिउको छ ।
वडाको निर्णय अनुसार जिल्लाले जारी गरेको निषेधाज्ञको अवधीमा वडाको क्षेत्र िपूर्ण रुपमा सिल गरिएको वडा अध्यक्ष राजबहादुर शाहीलाई उदृत गर्दै पत्रकार मन्दिर सिंहले जानकारी दिए । उनका अनुसार वडाको निर्णय अनुसार पूर्वमा सिमकोट लाग्ना, पश्चिममा नाम्खाको ताग्रु खोला, दक्षिणमा सिमकोट वडानम्बर ८ को स्याँढा जाने पुल र उत्तरमा हिल्सा–सिमकोट सडक भित्रको चार किल्लालाई सिल गर्ने निर्णय वडाले गरेको छ । बाहिरबाट आउनेहरुका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएकाले निषेधाज्ञको अवधीभर वडालाई सिल गर्ने निर्णय गरिएको सिमकोट–७ का वडाअध्यक्ष राजबहादुर शाहीले जानकारी दिए ।
हुम्लामा एन्निटजेन परिक्षणमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।