सिमकोट । चालु आर्थिक वर्षको अन्तिम महिना असार मसान्तलाई मध्येनजर गर्दै निषेधाज्ञ हटाइएको हुम्लामा पुनः कोरोना सक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ ।
असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि संक्रमितको संख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
सबै बजार, व्यावसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, सेनिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण संक्रमितको संख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेण्डेन डा. टसीयाञ्जुक लामाले जानकारी दिए ।
‘केही दिनयता हुम्लामा परिक्षण गरेको सतप्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ’ डा. लामाले नेपालवोटसँग भने, यस्तै प्रकारले संक्रमितको संख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै संक्रमितलाई पचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।’
निषेधाज्ञ हटाएको एकसातामै जिल्ला अस्पतालमा लक्षणसहितका संक्रतिमको संख्या बढेको उल्लेख गरेका डा. लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिए ।
संक्रमित चार जनालाई एचडियुमा सारियो
लक्षण सहितका चार जना कोरोना संक्रमितहरुको अक्सीजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु कक्षमा सारेको छ । जिल्ला स्तरिय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसुलेसनमा राखिएका चार जनासंक्रमितहरुको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आज जिल्ला अस्पतालको परिसरमा पाल भित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा. टसीयाञ्जुक लामाले जानकारी दिए ।
‘संक्रमितहरुको अक्सीजनको लेवल ६० भन्दा तल झरेर श्वाश प्रश्वाशमा निकै गाह्रो भएपछि हामीले तत्काल आइ फ्लो अक्सीजन दिन एचडियूमा सारेका हौ’ उनले थपे, ‘संक्रमितहरुमा दम र निमोनियाको समेत लक्षण देखिएपछि उनीहरुको अवस्था निकै जटिल छ ।’ ४० भन्दा माथिको उमेर समुहका संक्रमितलाई ज्वरो सहित गम्भीर प्रकारका लक्षण देखा परेको बताइएको छ ।
आजै पाँच संक्रमित थपिए
कोरोना परिक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आज मात्रै पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यापमा १४ मा गरिएको एन्टिजेन परिक्षणमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
फडेराका अनुसार सिमकोट गाउँपालिकामा ९ जनामा गरिएको एन्टीजेन परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार नौं सय असी जनामा परिक्षण गर्दा दुई ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये ४३ जना सक्रिया संक्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् ।