सिमकोट । नाम्खा गाउँपालिकाको लोलुङजोङ क्षेत्रमा सिमा मिचिएको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री हेलिकोप्टर चार्टर गरेर आउनु पर्ने कारण नभएको चीनसँग सिमा जोडिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले प्रतिक्रिया दिएका छन् ।
हिल्सा र लिमि–लाप्चा क्षेत्रमा चीनले सीमा मिचेको भन्ने हल्ला चलेको दश महिनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद जीवनबहादुर शाही विवादित क्षेत्रको निरीक्षणमा गरेकै भोलीपल्ट चीनसँग सिमाना जोडिएकै क्षेत्रका स्थानीय सरकार प्रमुख लामाले यस्तो प्रतिक्रिया दिएका हुन् । २०७७ सालको भदौंमा हाम्रो नाम्खा–५ को लोलुङजोङ क्षेत्रमा चीनले लगाएका भवनहरु नेपाली भूभागमा छन् नि भन्ने हल्ला चलेको भएपनि पछि सबै पक्षको अध्ययन गर्दा उक्त भवन चीनकै सिमानामा परेको निक्र्यौल भएको दश महिनापछि प्रदेश सरकारका मुख्यमन्त्रीको भ्रमणलाई सिमाना मिचिएको बारेमा अनुगमन भन्न नमिल्ने तर्क लामाको छ । हाम्रो गाउँपालिकाको कुनैपनि क्षेत्रमा चीनले सिमा मिचेको छैन्’ उनले भने, ‘मुख्यमन्त्री र कांग्रेसका प्रदेश सभा संसदीय दलको नेता कसरी ? के कामका लागि पुग्नुभयो त्यो त हामीलाई केहि थाहा छैन् ।’
मुख्यमन्त्री सीमा क्षेत्र अवलोकन गर्न गएको कुरा स्वीकार्न समेत नमानेका अध्यक्ष लामाका अनुसार मुख्यमन्त्री शाहीको लिमि क्षेत्रको भ्रमण केवल राजनीतिक मात्रै हुनसक्ने अनुमान गरे । उनका अनुसार उक्त क्षेत्रमा अहिले सीमा विवाद छैन । मुख्यमन्त्री र सांसद राजनीतिक भेटघाटका लागि आएको हुनसक्ने र उनीहरु हिल्सासम्म मात्रै पुगेको लामाले बताए ।

‘हिल्साको सीमास्तम्भ बजारमै छ’ उनी भन्छन्, ‘उहाँहरु बेलाबेलामा आउनु हुन्छ । गाउँपालिकासँग कुनै समन्वय भएको छैन ।’ सीमा विवाद भएको भनिएको ठाउँमा पनि मुख्यमन्त्रीको टोली नपुगेको उनको भनाइ छ । विवादित भएको ठाउँ लिमीलाप्चा हो । त्यहाँको सीमाबारे चाहिँ अध्ययन हुनुपर्नेमा उनले जोड दिए । गत साल लिमिलाप्चामा चीनले सीमा मिचेको खबर आएको थियो ।
सीमा मिचिएको भनिएकोबारे अध्यक्ष लामा भन्छन्– त्यहाँ पूरै फाँट छ । त्यहाँ यहीनेर हाम्रो सीमा भन्न गाह्रो छ । हाम्रो आँखाले हेर्दा १२ नम्बर पिल्लर लाप्चाको टुप्पोमा छ ।
त्यहाँको नक्साङ्कन सन् १९८३ मा भएको हो । त्योअनुसार सीमा मिचिएको देखिन्न । गत वर्ष सांसद जीवनबहादुर शाहीले सीमा मिचिएको भनेर प्रतिवेदन दिनुभएको भन्ने सुनियो । तर त्यतिबेला हामी पनि गएका थियौं । त्यस्तो ठोस प्रमाण भेटिएन ।
२ नम्बर र ११ नम्बर पिलरको दूरी ७६ किलोमिटर छ । त्यो बीचमा कुनै पनि सीमास्तम्भ खडा गरेको छैन । फाँटमा अलिकति बीच–बीचमा पनि सीमास्तम्भ हुनुपर्ने हो । त्यो हाम्रोमा समस्या देखियो । तर भएको सीमास्तम्भ नै हराएको भन्ने होइन । कतिपयले हेर्दै नहेरी र त्यो क्षेत्रमै नपुगी पिलर हराएको भनेर अनुमान गरेको पनि पाइयो ।