काठमाडौं । जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा मुलुकभरका तीन सयभन्दा बढी स्थानीय तहमा आगजनी, तोडफोड र लुटपाट भएको छ ।
६ महानगरपालिका मध्ये काठमाडौं र ललितपुरबाहेक सबै महानगरपालिकाको कार्यालयमा आगजनी भएको छ । विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका कार्यालय आगजनीबाट ध्वस्त भएका छन् । आगजनी गरिएका पालिकाहरूमा दैनिक प्रशासनिक काम सुरु हुन सकेको छैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार महानगर, उपमहानगर र नगरपालिकासमेत दुई सयभन्दा बढीमा आगजनी र तोडफोड गरेको अनुमान छ । मुलुकमा ६ महानगर, ११ उपमहानगर तथा २७६ नगरपालिका छन् । मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीका अनुसार नगरपालिकाहरूको यकिन वितरण नभए पनि प्रारम्भिक तथ्यांक अनुसार दुईदेखि अढाई सय नगरपालिकामा तोडफोड र आगजनी भएको अनुमान छ । विशेषतः सहरी क्षेत्रमा रहेको नगरपालिकामा बढी क्षति छ भने झापादेखि कञ्चनपुरसम्मका धेरैजसो नगरपालिकामा क्षति भएको छ । प्रारम्भिक जानकारी अनुसार गाउँपालिका भन्दा धेरै नगरपालिका तोडफोड र आगजनी गरिएको छ । गाउँपालिका राष्ट्रिय महासंघले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार मुलुकभर २९ वटा गाउँपालिका भवनमा आगलागी तथा तोडफोड भएको छ । महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलका अनुसार १८ गाउँपालिका भवन पूर्णरुपमा क्षति भएको छ भने ११ मा आंशिक क्षति भएको छ । सबैभन्दा धेरै कोशी प्रदेशका ८ वटा गाउँपालिकामा पूर्ण क्षति भएको छ भने कर्णाली प्रदेशमा कुनै पनि गाउँपालिकामा क्षति भएको छैन । केही राजनीतिक पार्टीका कार्यकर्ता नै आगजनीमा उत्रेको स्थानीयले बताएको जनप्रतिनिधिहरू बताउँछन् । रौतहटका मात्र ५ वटा नगरपालिका कार्यालय ध्वस्त बनाएका छन् । कर्णालीको वीरेन्द्रनगर नगरपालिकाको आंशिक क्षति भएको छ भने १६ मध्ये १२ वडा कार्यालयमा आगो लगाइएको छ । मन्त्रालयका प्रवक्ता पराजुलीले संख्या यकिन नभए पनि कोशीदेखि सुदूरपश्चिमसम्म सबै स्थानमा तोडफोड र आगलागी गरेको सूचना प्राप्त भएको बताए ।
गण्डकी प्रदेशमा तीन वटा गाउँपालिकामा आंशिक क्षति भएको छ । बागमती प्रदेशमा ४ गाउँपालिका कार्यालयमा पूर्ण क्षति भएको छ भने आंशिक क्षति एउटामा भएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा एउटा गाउँपालिका पूर्ण क्षति भएको छ । सुदूरपश्चिम प्रदेशमा एउटा गाउँपालिका पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । मधेश प्रदेशमा चार वटा गाउँपालिकामा पूर्ण क्षति भएको छ । मुलुकभरका गाउँपालिकाका ३६ वटा वडा पूर्ण तथा २५ वटामा आंशिक क्षति भएको छ । कार्यकारी निर्देशक प्याकुरेलले टेलिफोनबाट लिएको सूचनाका आधारमा प्रारम्भिक रिपोर्ट लिएकाले संख्या बढ्न सक्ने बताए । उनले सहरी क्षेत्रमा बढी तोडफोड र आगजनी गरेको बताए । उनका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार गाउँपालिकाका १२ जना अध्यक्षको घर तोडफोड तथा आगजनी भएको छ । उनीहरूमध्ये ८ वटाको पूर्ण र ४ वटाको आंशिक क्षति भएको प्रारम्भिक रिपोर्ट रहेको छ । २९ वटा गाउँपालिकामा आगजनी तथा तोडफोड भएको छ । त्यसैगरी तोडफोड र आगजनी भएको छ । सबैजसो नगरपालिका तथा गाउँपालिकामा एकै प्रकृतिका घटना भएका छन् भने वडा कार्यालयहरू पनि जलाइएको छ । अहिले कार्यालय सञ्चालन गर्न सक्ने अवस्था कतै पनि छैन भने जनप्रतिनिधिहरू पनि डराइरहेका छन् । मुलुकभर ४ सय ६० गाउँपालिका रहेको छ ।
चार महानगर कार्यालय ध्वस्त
मुलुकभरका ६ महानगरपालिका मध्ये काठमाडौं र ललितपुरबाहेक चार वटाको कार्यालयमा आगजनी गरेर ध्वस्त बनाइएको छ । विराटनगर महानगरको चार तले भवन जलेर ध्वस्त भएको छ । उक्त महानगरको वडा २ वटा वटामा आगजनी गरेर ध्वस्त बनाएको छ । वीरगन्ज महानगरपालिकाका ७ भवनमध्ये ३ वटा कामै नलाग्ने अवस्थामा छ भने अन्य भवनमा पनि आंशिक क्षति भएको छ । तर त्यहाँको ९५ प्रतिशत सामान जलेको छ । नजलेका सामान स्थानीयले लुटेर लगेका छन् ।
वीरगन्ज महानगरका सूचना अधिकारी सुनिलकुमार कर्णका अनुसार महानगरपालिकाको भवनमा दुई दिनसम्म आगो बलेको थियो । चोरीका सामान अहिले प्रहरीको सहयोगमा बरामद गरिरहेको उनले बताए । महानगरका १० वटा ट्याक्टर जलेका छन् भने वडा १०, १४ र २६ को भवन आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको छ ।
पोखरा महानगरपालिकाको भवन आगलागीबाट ध्वस्त भएको छ । महानगरको ३३ मध्ये २६ वडामा आगजनी गरिएको छ । बाँकी ७ वटा वडा कार्यालय मात्र सुरक्षित रहेको छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार ९ वटा गाडी जलेका छन् भने महँगो सामान लुटेर लगेका छन् । अर्यालका अनुसार सुरुमा ढुंगामुढा गरेर सामान लुटेपछि आगजनी गरेर फरार भएका थिए । लुटपाट र आगजनी गर्नेहरू प्रायः सबै स्थानीय चिनाजान अनुहारका भएको जनप्रतिनिधिले बताएको अर्यालले सुनाए । क्षति भएका ठाउँमा कार्यालय सञ्चालन गर्न सक्ने अवस्था नभएको उनले बताए ।
भरतपुर महानगरपालिका कार्यालय पनि आगजनीबाट ध्वस्त भएको छ । महानगरको दमकल, फोहोर बोक्ने गाडीलगायतका मेसिनरी सामान पूरै जलाइएको छ । मेयर, उपमेयरले चढ्नेसहितका गाडी भने अघिल्लो दिनमै सेनाको ब्यारेकमा राखिएकाले जोगिएको भरतपुरका उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए । ‘बाँकी केही छैन, कताबाट काम सुरु गर्ने हो अन्योल जस्तै छ,’ उनले भने । पोखरका मेयर धनराज आचार्य, वीरगन्जका मेयर राजेशमान सिंह, भतरपुरकी मेयर रेणु दाहाल र उपमेयर अधिकारीको घर आगजनी गरेर ध्वस्त भएको छ । भरतपुरका उपमेयर अधिकारीले आफूले २०५० मा धेरै दुःख गरेर बनाएको घर ग्याँस सिलिन्डर पड्काएर ध्वस्त बनाएको बताए । उनले भने, ‘मेरो घर पनि सामान्य खालको थियो, अहिले शरीरमा लगाएको एकजोर कपडाबाहेक केही छैन । उनले दुखेसो पोखे ।’ वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाल ९भण्डारी० र उपमेयर नीलकण्ठ खनालको घर तोडफोड गरेर सामानहरू जलाइएको छ ।
उपत्यकाका पालिकामा तोडफोड र आगजनी
उपत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर तीन जिल्लाका सहरी क्षेत्रका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका १८ वटामा मध्ये धेरैमा तोडफोड र आगजनी गरिएको छ । काठमाडौं महानगर र ललितपुर महानगरमा तोडफोड र आगजनी गरिएको छैन । कीर्तिपुर नगरपालिकाको ६ तले भवन, १० वटा गाडी तथा २२ वटाभन्दा बढी मोटरसाइकल जलाइएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटार र मूलपानी क्षेत्रमा पर्ने वडा ६, ७ र ९ को कार्यालय भवनमा आगजनी गरेका छन् । उक्त नगरपालिका भवनमा भने तोडफोड मात्रै गरेका छन् । तोडफोड गर्न आएका आन्दोलनकारीलाई स्थानीयले लखेटेका थिए । गोकर्णेश्वर नगरपालिका–७ को दक्षिणढोकास्थित भवन जलाएका छन् भने वडा १, ३ र ५ को भवनमा तोडफोड गरेका छन् । दक्षिणकाली नगरपालिकाको भवन पनि तोडफोड गरेका छन् ।
तारकेश्वर नगरपालिकाको ५ वटा गाडी जलाएका छन् भने कार्यालय तोडफोड गरी कागजात जलाएका छन् । तारकेश्वरको वडा १, ४, १० र ११ मा आगजनी र तोडफोड गरेका छन् । तारकेश्वरका मेयर कृष्णहरि महर्जनले नगरपालिकाले अत्यावश्यक सेवा काम सुरु गरेको जानकारी दिए । भक्तपुरको सूर्यविनायक नगरपालिकाको भवन तथा कम्पाउन्ड तोडफोड गरेका छन् । उक्त नगरपालिकाको वडा ४ र ७ आगजनी गराएर ध्वस्त बनाएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका भवनमा ढुंगामुढा गरेर तोडफोड गरिएको छ । नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठका अनुसार वडा ८ को कार्यालयमा आगो लगाएर ध्वस्त पारिएको छ भने वडा ३ मा तोडफोड र लुटपाट गरिएको छ ।