माघ ७ सिमकोट । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले हुम्लाका ४० जना जेष्ठ नागरिकलाई कपडा वितरण गरेको छ ।
मन्त्रालयले जाडो महिनामा जेष्ड नागरिकलाई भन्दै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकाका जेष्ठ नागरीक, अपाङ्गलाई न्यानो ज्याकेट र ट्राउजर वितरण गरिएको हो ।
सामाजिक मन्त्रालय सुर्खेतबाट आएको तीन जनाको टोलीले खार्पुनाथका ११ र सिमकोटका २९ जनालाई उक्त न्यानो कपडा वितरण गरेकोे जिल्ला समनव्य समिती हुम्लाका इन्जिनियर देवि ऐडीले बताए ।
“हुम्लाको अत्याधिक जाडोमा आर्थिक अवस्था कमजोर भएका जेष्ठ नागरिक र अशक्तलाई मन्त्रालयको वार्षिक कार्यक्रम अन्र्तगत न्यानो कपाडा वितरण गरेका हौं ।” कपडा वितरणका लागि हुम्ला पुगेकी सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत जमुना पौडेलले भनिन्, “(कर्णाली) प्रदेशको अति दुर्गम मानिएको हुम्ला र डोेल्पा जिल्लाका ४० जना जेष्ठ नागरीक, अपाङ्गलाई यस्तो न्यानो कपडा वितरण गर्ने कार्यक्रम यस वर्षबाट शुरु भएको छ ।”
हिउँदको जाडो समयमा न्यानो कपडा वितरण गरेकोमा जिल्लाका जेष्ठ नागरिक तथा अपांगले भने खुशी व्यक्त गरेका छन् । कार्यक्रमले आफू निकै खुशी भएको बताएका सिमकोट गाउँपालिका ३ का छिरिङ्ग फुन्जोक लामाले नेपालबोटसँग भने, “मन्त्रालयले हामी जस्ता मर्ने बेला भयाका (भएका) बुढाबुढीलाई सम्झेर चिसोबाट बच्न न्यानो लुगा दिएर निकै राम्रो काम गरेको छ ।”
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल, सिमकोट गाउँपालिका उपाध्यक्ष वलि रावत, स्थानिय जेष्ठ नागरीक लगायत अन्य कार्यलय प्रमुखको समेत उपस्थित रहेको थियो ।