सिमकोट । कोरोना भाइरसको तेस्रो लहरको हला चलिरहेका बेला हिमाली जिल्ला हुम्लाको ताँजकोट गाउँपालिकाले पालिकाभरका सबै विद्यालयलाई सञ्चालनमा ल्याएको छ ।
दोस्रो चरणको कोरोनासंक्रणका दृष्टिकोणले कुनै बेला हटस्पटका रुपमा रहेको ताँजकोटले अहिले संक्रमितको संख्या नभएको भन्दै पालिकाभरका सबै विद्यालयलाई सञ्चालन गरेको हो ।
गएको साउन ७ गते बसेको ताँवको गाउँ कार्यपालिकाको निर्णय अनुसारपालिकाका सबै विद्यालय सञ्चालनमा आएको ताँजकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले जानकारी दिए ।
ढकालका अनुसार बिद्यालयहरु सञ्चालनमा ल्याएपनि केहि शिक्षकहरु बाहिर भएकाले विद्यालयको प्रशासन मात्रै खुला गर्ने काम भएको छ ।
विद्यालय बाहिर रहेका सबै शिक्षकलाई विद्यालयमा हाजिर हुन खबर गरिसकेको बताएका शिक्षा शाखा प्रमुख ढकालका अनुसार सबै शिक्षक विद्यालयमा पुगेपछि नियमित रुपमा विद्यालयको पठकनपाठन गर्ने कार्य अघि बढ्ने छ ।
‘लामो समय विद्यालय बन्द हुँदा सबैभन्दा बढि थिलथिलो बनेको पठनपाठन क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि आन्तरिक रुपमै गाउँपालिकाको साउन ७ गतेको निर्णय अनुसार हामीले १५ गते देखि विद्यालयलाई सञ्चालनमा ल्याएका छौं’ शिक्षा शाखा प्रमुख ढकालले नेपालवोटसँग भने, ‘विद्यार्थी बढि भएका विद्यालयका हकमा हामीले ६–१० को कक्षा बिहान सञ्चालन गर्ने र कक्षा १–५ को पठनपाठन दिउँसो गर्ने गरि व्यावस्थापन गर्न पत्राचार गरिएको छ ।’
गाउँपालिकाका कोरोना संक्रमितको संख्या लगभग सुन्य जस्तै भएपछि आफूहरुले पालिकाको निर्णय अनुसार विद्यालय सूचारु गर्न थालेको बताएका शिक्षा शाखा प्रमुख ढकालले कुनै समस्या आएमा तत्काल गाउँपालिकाको निर्णय अनुसार अघि बढ्न प्रतिक्रिया दिए । सरकारको निर्णय अनुसार जिल्लाभरका सबै विद्यालय बन्द भएका बेला दोस्रो चरणको कोरोना संक्रमणमा हटस्पट बनेको ताँजकोटले विद्यालय सूचारु गर्नुलाई स्थानीय मिश्रीत खाले प्रतिक्रिया दिएका छन् ।
ताँजकोटको निर्णय वैज्ञानिक र दिगो होला त ?
सरकारले विश्वमा हालसम्म देखिएका कोरोनाका बिभिन्न भेरिएन्टमध्ये सबैभन्दा बढी खतरनाक र संक्रामक डेल्टा भेरिएन्ट रहेकोले यस अघिनै तय भएको कक्षा १२ को परिक्षा स्थगित गर्न आग्रह गरिरहकै बेला स्थानीय स्तरकै निर्णय कतिकाृ भरपर्दो र वैज्ञानिक छ भन्नेमा संका गर्न थालिएको छ ।
कोरोनाको तेस्रो भेरियन्ट अर्थात डेल्टा भेरियन्ट यसभन्दा अघिको भन्दा निकै खतरानक भएकाले शिक्षक र विद्यार्थीलाई कोरोना विरुद्धको खोप नदिएर मनपरि ढंगले विद्यालय सञ्चालनमा ल्याउन उपर्युक्त नभएको भाइरोलोजिष्ट डा. श्रवण कुमार मिश्रले बताए ।
पछिल्लो भेरियन्टको असर देखेर स्वास्थ्य मन्त्रालयले कक्षा १२ र अन्य विश्व विद्यालयका परिक्षा स्थगित गर्न सुझाव दिएकै बेला हुम्ला जस्तोदुर्गम जिल्लाको एक पालिकामा विद्यालय सञ्चालन गर्न उपर्युक्त नभएको प्रतिक्रिया दिएका डा. मिश्रले विद्यालय सञ्चालन मनपरि गर्ने पालिकाले कुनै समस्या आएको खण्डमा आफै समस्या समाधान गर्न सक्नु पर्ने बताए ।
कोरोनाको कप्पा भेरिएन्ट तुलनात्मक रुपमा कमजोर रहेको विश्लेषण गरेका डा. मिश्रले नेपालमा फेला परेका अल्फा, कप्पा, डेल्टा र डेल्टा प्लस गरी कोरोनाको ४ वटा भेरिएन्ट तुलनात्मक रुपमा खतरानक भएको उल्लेख गरे ।
नेपालमा कोरोनाको दोस्रो लहर साम्य नहुँदै फेरि तेस्रो लहरको सङ्केत देखिन थालेको बताएका डा. मिश्रले देशभरको शैक्षिक शत्र एकै मयमा शुरु हुने र एक समयमा बन्द हुने भएकाले कुनै पालिकाले विद्यालय सूचार गर्नु र नगर्नुमा खासै फरक नपर्ने भन्दै स्वास्थ्यको संभावित जोखिमका आधारलाई पनि हेक्का राख्न आग्रह गरे ।
‘हामीले लोकप्रीयताका आधारमा विदालय खोल्न त राम्रो सुनिन्छ’ डा. मिश्रले भने, ‘यसले भविष्यमा आउन सक्ने संभावित जोखिमलाई मध्त्तययनजर गर्ने हो भने यसते कार्य तत्काल गर्न आवश्यक देखिदैन् ।’