सिमकोट । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक शव जलाउने पक्की मसानघाट बनेको छ ।
खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानमा पहिलो पटक ५० लाखको लगानीमा पक्की शवदाह बनेको हो ।
नाम्खा गाउँपालिका हुँदै बगेर आउने हुम्ला कर्णाली र सिमकोट गाउँपालिकाको दोजाम खोलबाट आउने खोलाको दोभानमा पहिलो पटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।
‘कर्णाली प्रदेशसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने (ख) नम्बर क्षेत्रका सदस्य जीवनबहादुर शाहीले प्रदेश पूर्वाधार विशेष कार्यक्रमबाट रु ५० लाख बजेट विनियोजन गरेर खर्च गरिएको हो’ अध्यक्ष रावलले नेपालवोटसँग भने, ‘वर्षा समयमा कर्णाली नदीमा पानीको बहाव बढ्दा शव जलाउन कठिन हुने देखिएकै कारण नयाँ घाटको निर्माण गरिएको हो ।’
यसअघि लाशको अन्त्यष्टी गरिदैं आएको खार्पु दोभानमै तीनवटा पक्की घाट निर्माण गरिएका कारण अब मलामीलाई सजिलो हुने दावी अध्यक्ष रावलको छ । खार्पुमा पक्की घाट निर्माण भएपछि सिमकोट, खार्पुनाथ गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मृत्यु भएका लाशहरुलाई जलाउन सहज हुने विश्वाश गरिएको छ । नदी किनारमै अस्थायी घाट बनाएर शव जलाउँदा मलामीलाई जोखिम देखिएको र शवलाई व्यवस्थित गरेर जलाउन नयाँ पक्की घाट निर्माण गरिएको बताइएको छ ।
कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए । ठेहे, सिमकोटलगायतका गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई/तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेला घाट निर्माणले सजिलो बनाएको रोकायाले जानकारी दिए ।
गत वर्ष घाट नहुँदा एक मलामीको अस्थायी ढुंगाको घाट बनाउने क्रममा झण्डै ज्यान जोखिममा परेको बताएका रोकायाले पक्की शव दाह बनाएपछि मलामीलाई शव जलाउन सहज भएको जानकारी दिए ।
घाट निर्माण गरेर प्रयोगमा आएसँगै यसअघि नदीको तीरमा हावा लाग्ने तथा शव राम्रोसँग नजलेरै नदीमा फाल्नुपर्ने बाध्यताबाट अब मलामीले मुक्ति पाउने विश्वास गरिएको छ । प्रदेश पूर्वाधार विशेष कार्यक्रमका लागतमा निर्माण गरिएको पक्की मसानघाट सम्पन्न गर्न खार्पुनाथ गाउँपालिकाले समन्वय गरेको बताइएको छ ।