सुर्खेत । केहि दिनयता विवादित हुँदै आएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह चढ्ने गाडीलाई लक्षित गर्दै आन्दोलनकारी विद्यार्थीले बञ्चरो प्रहार गरेका छन् ।
बञ्चरो प्रहार गर्नेको खोजि गर्नेक्रममा प्रहरीसँगको झडपमा सात विद्यार्थी घाइते बनेका छन् । विश्वविद्यालयका समस्या समाधानका लागि छलफल भइरहँदा केही व्यक्तिहरुले आफूमाथि भौतिक आक्रमण गरेको उपकुलपति डा. सिंहले जानकारी दिए । आक्रमणबाट आफ्नो गाडीको सिसा फुटेको उनले जानकारी दिए ।

‘म मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्न भन्दै बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी भइरहेको थिएँ’ उनले भने, ‘केही व्यक्तिहरुले ममाथि नै आक्रमण गरे ।’
समयमै प्रहरी आइपुगेका कारण अप्रिय घटना हुन नपाएको सिंहले बताए । आफूलाई प्रहरीले स्कर्टिङ गरेर निवासमा ल्याइदिएको उनको भनाइ छ ।
उपकुलपतिमाथि आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जबाट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष राज पौडेल, दीपेन्द्रजंग शाही, भूपेन्द्र बम, केशव खड्का, रोशन बस्नेत, गोविन्द सिजापती, तेजबहादुर बमलगायत घाइते भएका छन् ।

नेविसंघ नेता एवम् स्ववियू सभापति झक्कबहादुर शाहीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसबारेमा बुझ्न खोज्दा एसपी पदमबहादुर विष्टले फोन उठाएनन् ।
विश्वविद्यालयमा सत्तारुढ गठबन्धनका विद्यार्थी संगठन र प्राध्यापक संगठनहरु विगत लामो समयदेखि अनलाइन परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन् ।