काठमाडौं । स्वास्थ्य अवस्था नाजुक भएको कर्णाली प्रदेशमा स्थिति सुधार गर्न विश्व स्वास्थ्य संघठन (डब्लुएचओ)ले आन्तरिक कार्य योजना निर्माणमा जुटेको छ ।
लामो समय कर्णालीको स्वास्थ्य अवस्था सुधारको क्षेत्रमा काम गरेको डब्लुएचओले प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजना निर्माण कार्यलाई अघि सारेको हो । संगठनले त्यसका लागि परिणम निस्कने खालको कार्ययोजना निर्माण गरिने बताएको छ ।
डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्लुएचओका नेपाल प्रमुख डा. राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लुएचओले विशेष गृहकार्य गरिरहेको बताए ।
यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा. पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाए ।
“हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य संगठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ”, प्रमुख डा।पाण्डवले भने, “यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।”
कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा संगठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उनले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गरे । डब्लुएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई १ सय ७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।