माघ २६, सिमकोट । गएको बुधबार देखि लगातार परेको भारी हिमपातले हुम्ला कर्णालीमा पानीको बहाव घटेको बताइएको छ ।
अत्याधिक हिमपातले मुचुको तुमकोटमा कर्णाली नदी जमेपछि पानीको बहाव कम भएको मुचु तुमकोटका स्थानीय छपाल लामाले जानकारी दिए ।
मुचुमा ६ फिट हिउँ जमेको बताएका लामाका अनुशार लगातार चार दिन देखिको हिमपातले मुचुमा भएका सबै खोलामा पानी बग्न छोडेको छ । सबैतिरको पानी समेत जमेर पुरै ठोस भएको बताएका लामाले भने, “ निकै आवाज निकालेर बस्ने हुम्ला कर्णाली हिजो देखि आवाज निकाल्नै छोडेको छ ।” ‘आज बिहान हेर्दा त तुमकोट भएर बग्ने हुम्ला कर्णाली नदी बगेकै छैन् ।’ आश्चार्य मान्दै लामाले भने, ‘मुचु अघि भएर बग्ने कर्णाली नदी त पुरै ढुङ्गा जस्तै भएको छ ।’
मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानी समेत ठोस बनेको छ । निकै जोडले बग्ने स्थानमा हुम्ला कर्णालीको पानी सामान्य बगेको देखिने बताएका लामाका अनुशार अन्यत्र त कर्णालीको पानी बग्नै छोडेको छ ।
कर्णाली नदीको पानीको बहाव चिसोका कारण घटेको जिल्ला प्रहरी कार्यालयले समेत पुष्टि गरेको छ । मुचु स्थित प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमूख रविन श्रेष्ठका अनुशार तापक्रम निकै माइनसमा गएपछि नदीको पानी समेत जमेर कर्णालीमा पानीको बहाव कम भएको भन्ने खबर आएको छ ।
कर्णालीमा कतै हिउ पहिरो नआएको बताएका श्रष्ठले कर्णाली नदीमा कही कतै नथुनिएको प्रतिक्रिया दिए । कर्णाली नदिमा हिउँपहिरो आएर पानीको बहाव कम भएको भन्ने खबर सही नभएको बताएका प्रहरी प्रमूख श्रेष्ठले हिमपात हुन छोडेपनि नदीमा जमेको पानी आफ्नै लयमा बस्ने बताए ।
गएको एक दशक यता यति ठूलो हिउँ नपरेको बताएका लामाका अनुशार निकै जाडोले कर्णाली नदी समेत जमेको छ । भारी हिउँसँगै विभिन्न स्थानमा माथिबाट हिउँपहिरो खसिरको बताएका लामाले मुचुमा स्थानीयवासिन्दा घरबाट बाहिर निस्कन समेत नसकेको जानकारी दिए ।
सिमकोटमा ३ फिट हिउँ
गएको चार दिन देखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै तिन फिट हिउँ जमेको छ । निरन्तर रुपमा हिउँसँगै आएको हावाहुरीले सिमकोट आसपासको जनजीवन निकै प्भावित बनाएको हुम्लाका प्रमख जिल्ला अधिकारी माधबप्रसाद ढुंगानाले जानकारी दिए । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको बताएका अधिकारी ढुंगानाले जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा हिमपात र दक्षिणी क्षेत्रमा पानीबाट जनजीवन निकै प्रभावित बनेको बताएका अधिकारी ढुंगानाले निरन्तर स्थानीय स्तरका प्रहरी चौकी मार्फत जिल्लाको अवस्थाका बारेमा सूचना लगिरहेको प्रतिक्रिया दिए ।
हेर्नुहोस् हिमपातको भिडियो