काठमाडौँ : मुगुका अग्नी पीडितलाई कर्णाली प्रदेश सरकारले राहत रकम दिने भएको छ । बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टका अनुसार, "आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार राहत रकम प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृत दिइएको र घरधनीसहित घर भाडामा बस्ने र व्यवसायीलाई समेत दुई किस्तामा राहत दिइने छ ।"
पूर्ण घरक्षतितर्फ १० लाखसम्म क्षति भएकाले एक लाख, ११ देखि ५० लाखसम्म क्षति भएकाले एक लाख पचास हजार, ५१ लाखदेखि एक करोडसम्म क्षति भएकाले दुई लाख, एक करोडदेखि एक करोड पचास लाखसम्म क्षति भएकाले दुई लाख पचास हजार, एक करोड ५१ लाखदेखि तीन करोडसम्म क्षति भएकाले तीन लाख पचास हजार, तीन करोडभन्दा माथि क्षती भएकाले चार लाख, आंशिक घर क्षतितर्फ एक लाख क्षति भएकाले २५ हजार, २७ लाखदेखि ५० लाखसम्म क्षति भएकाले पचास हजार र ५० लाखभन्दा माथि क्षति भएकाले एकमुष्ट पचहत्तर हजार राहत रकम पाउने प्रवक्ता विष्टले जानकारी दिए ।
ऊक्त आगलागीबाट क्षति भएका व्यवसायीहरूतर्फ भने २० लाखसम्म क्षति भएकाले तीस हजार, २१ लाखदेखि ४५ लाखसम्म क्षति भएकाले पचास हजार, ४६ लाखदेखि ७० लाखसम्म क्षति भएकाले पचहत्तर हजार र एक करोडभन्दा माथि क्षति भएकाले एक लाख राहत रकम पाउने छन् । तर घरभाडामा बस्नेलाई भने १० लाखसम्मको क्षति भएकाले २० हजार, २० लाखदेखि ५० हजारसम्म क्षति भएकाले चालिस हजार र ५० लाखभन्दा माथि क्षति भएकाले साठी हजार रकम पाउने निर्णय प्रदेश सरकारले गरेको हो ।