हुम्लाका विद्यालय स्तरबाटै मोर्डना खोप सुचारु भएको छ । सोमबार पहिलो दिन हुम्लाका ५ सय ५ जना बालबालिकाले मोर्डना खोप लगाउन पाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका ग्रामिण वस्तिमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो ।
हुम्लाको सिमकोट गाउँपालिकामा रहेका तीनवटा विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ । सिमकोट गाउँपालिका वडा नम्बर सातमा रहेको कैलाश, सदरमुकाम सिमकोटमा रहेका दुईवटा बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाएर अभियानको सुरु भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए ।
सदरमुकाम सिमकोटमा रहेका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका ५ सय ५ बालबालिकाले मोर्डना खोप लगाएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिए । आज पहिलो दिन बालमन्दिर माध्यामिक विद्यालयका १ सय ८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३ सय २२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीको भनाई छ ।
मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने काय सम्पन्न भएको र भोली बाँकी रहेका बालमन्दिर र भिमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ । वडा नम्वर ७ डाँडाफयामा रहेको कैलाश माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाउने कार्य चलिरहेकाले विवरण एक साथ आउने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४ सय डोज, बालमन्दिर माध्यामिक विद्यालयका लागि ३ सय ५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३ सय ५० डोज, र रामदेब माध्यामिक विद्यालयका लागि १ सय ९० डोज खोप सहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख सिंहले बताए ।
गाउँपालिकाका खोप केन्द्रहरुतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकोले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु हुने बताइएको छ । हुम्लामा ६ सय ३७ भाइल खोप आएको छ । यसबाट ६ हजार ३ सय ७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउने छन् । खार्पुनाथ गाउँपालिकालाई ७ सय २० डोज, ताँजाकोटलाई ८ सय ३० डोज र अदानुली गाउँपालिकालाई १ हजार ८० डोज उपलब्ध गराइएको छ ।
जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन हुने भएको स्वास्थ्य कार्यालका कोल्डचेन असिश्टेण्ड मान बहादुर रोकायाले बताए । मोडर्ना खोप लगाउनु पर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा ९ हजार ६ सय २१ जना रहेका छन् । हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन् ।
हिमपात र चिसोका कारण यस अघि नै जिल्ला खोप समन्वय समितिको बैठकले नाम्खा गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ ।