काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
२९९ सदस्यीय केन्द्रीय कमिटिमध्ये २३६ जना केन्द्रीय सदस्यहरुको नामावली सार्वजनिक गर्दै आज (आइतबार) साँझ सत्ता साझेदार दल माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको हो ।
माओवादीको महाधिवेशन पुस ११ देखि प्रज्ञा भवन कमलादीमा शुरु भएर आठ दिनसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशनको अन्तिम दिन आइतबारको बन्दशत्रमा पार्टी अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बन्दशत्रमा प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २३६ जनाको नामावली बन्दसत्रमा बाचन गरेपछि हलले पारित गरेको थियो । पार्टीको पदाधिकारी नवनिर्वाचित केन्द्रीय कमिटिको सोमबार बस्ने पहिलो केन्द्रीय कमिटीको बैठक गर्ने बताइएको छ ।
नेतृत्व चयनमा प्रतिनिधि भूमिकाबिहीन
देशभरबाट नयाँ नेतृत्व छनोटका लागि देशभरबाट काठमाडौं केन्द्रीत भएका प्रतिनिधि यो पटकको महाधिवेशनमा समेत नेतृत्व छनोटमा भूमिका विहिन बनेका छन् ।
लामो समय राष्ट्रिय सम्मेलनबाट घोषणाकै आधारमा नेतृत्व पाएका देशभरका माओवादी प्रतिनिधिहरुले यो पटककपनि आफूले चाहे अनुसारको नेतृत्व छनोटबाट बञ्चित भएका हुन् । पार्टी हाँक्ने कमाण्डर अर्थात अध्यक्ष तथा पदाधिकारीको चयनबिना नै माओवादी महाधिवेशन सकिएको हो । देशभरबाट आएका प्रतिनिधले अध्यक्ष चुन्न पाएनन् । अध्यक्ष मात्र होइन, पार्टीको समग्र नेतृत्व चयन प्रक्रियामा नै उनीहरु भूमिकाविहिन बनेका छन् ।
यसअघि नेकपा एमालेको महाधिवेशन गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधको अधिकार कुल्चिँदै नाम लिस्ट पढेको भनेर तिव्र विवाद भएको थियो । त्यसबाट पाठ नसकि माओवादी पनि केन्द्रीय सदस्य चयनमा ठ्याक्कै त्यही शैली अनुशरण गरेको छ । ओलीकै शैलीलाई पछ्याउँदै प्रचण्डले बन्दकोठामा लिस्ट बनाएर बन्दसत्रमा सुनाए ।
एमालेमा ओलीले पढेको लिस्टलाई चुनौति दिँदै केही नेताले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । तर, माओवादीमा त्यो पनि भएन । प्रचण्डले सुनाएको सुचीलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेपछि चुनावको लेठो माओवादीले लिनु परेन । यसले एकातर्फ पार्टीमा प्रचण्डको एकमना प्रभूत्व त दर्शाएको छ नै, अर्कोतर्फ प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन नगरेको आरोप माओवादीले खेपिरहनुपर्ने भएको छ ।
आफूसहित परिवारका तीन सदस्यलाई प्रचण्डले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् । यदि उनीहरु प्रतिनिधिको भोटले केन्द्रीय सदस्य बनेको भए त्यसमा कसैले प्रश्न उठाउन सक्थेन । तर, प्रचण्डले टिका लगाएको शैलीमा परिवारका सदस्यहरुलाई केन्द्रय सदस्य तोक्दा त्यो उनीहरुकै निम्ति बेस्वादिलो बनेको छ ।
अध्यक्ष र पदाधिकारीको छनोट महाधिवेशनमा हुने(नहुनेबारे अन्योल थियो । त्यसो त माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेकोमा अघिल्लो दिन आएर मात्रै यसलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाविधेशनमा कम्तिमा अध्यक्षको चयनमा आफूहरुले गर्न पाउने विश्वास प्रतिनिधिले राखेका थिए । अन्तिम दिन आज बन्दसत्रमा प्रतिनिधिहरुले हलबाटै छनोट गर्नुपर्ने माग पनि गरेका थिए ।
यदि प्रतिनिधिहरुलाई त्यो अधिकार दिइएको भए पनि प्रचण्ड नै अध्यक्ष बन्ने निश्चित नै थियो । तर, पार्टीको विधानलाई देखाउँदै प्रचण्डले अध्यक्षसहितका सबै पदाधिकारी भोली केन्द्रीय समितिले चयन गर्ने बताए । माओवादी विधानमा पदाधिकारीहरुको चयन पार्टीको केन्द्रीय समितिले गर्ने भनिएको छ । अध्यक्ष पनि एकजना पदाधिकारी नै भएकाले केन्द्रीय समितिले नै छान्न विधानअनुकुल हुने प्रचण्डको भनाइ थियो ।