फागुन १७, जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ ।
जुम्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयमा सरुवा भएपछि सिन्धुपाल्चोकका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे प्रमूख जिल्ला अधिकारीको जिम्मेवारी लिएर जुम्लामा आएपछि पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनु भएको हो । गृह मन्त्रालयले भर्खरै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत बञ्जाडेलाई जुम्लाको जिम्मेवारी दिएर पठाएको हो ।
पहिलो पटक प्रमूख जिल्ला अधिकारीको जिम्मेवारी पाएर शुक्रबार जुम्ला आइपुगेकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी बञ्जाडेलाई जुम्लामा सरकारी कार्यालय र स्थानीयवासिन्दाको तर्फबाट स्वागत गरिएको छ । स्वागतसँगै पत्रकार भेटघाट गरेर परिचय कार्यक्रमको समेत आयोजना गरेकी अधिकारी बञ्जाडेले आफूले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
स्थानीय पत्रकारहरुसँगको भेटमा अधिकारी बञ्जाडेले जिल्लाको शान्ति, शुव्यवस्था र विकासका लागि पत्रकाहरुको भूमिका ठूलो भएको भन्दै स्थानीय प्रशासनलाई चुस्त र दुरुस्त ढंगले सञ्चालन गर्न रचनात्मक सहयोगको जरुरत पर्ने बताइन् ।
दुर्गम कर्णालीमा आएर सेवा गर्ने आफ्नो धोको यो पटक आएर पूरा भएको बताएकी अधिकारी बञ्जाडेले अब सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा सवैको साथ आवश्यक भएको प्रतिक्रिया दिइन् ।
उनले महिला भनेर गरिने समाजको दृष्टि बदल्ने गरी काम समेत गरेर फर्किने आशा गरेको बताउदै भनिन्, ‘सीडीओको रुपमा म जुम्ला जिल्लामा आएको छु, तर मलाई हेर्ने दृष्टिकोण महिला हुने भएकाले काम बढी गर्नुपर्नेछ ।’
अर्घाखाँची स्थायी घर भएकी प्रजिअ बञ्जाडेले जिल्लाको विकास र समसामयिक अवस्थालाई जिल्लामा कार्यरत पत्रकारहरुबाट जानकारी लिएकी छन् । जिल्लाका विकास र समृद्धिमा यहाँका नागरिकहरुको अनुभूति गर्नेगरी योजना बनाउने र त्यसैअनुसार अगाडि बढनुपर्ने, मदिरा नियन्त्रण अभियान केवल रक्सी खन्याउने नभई उत्पादनमा कस्तो व्यक्ति वर्ग र कसरी भइरहेको छ, गहिरो अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन् ।