फागुन २१, रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रोल्पा जिल्लाका दुई नेतालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
पक्राउ गरिएका नेता टीकाराम नेपाली र लालबहादुर सुनारलाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा सहित मंगलबार जिल्ला अदालतमा हाजिर गराएको हो ।
सोमबार पक्राउ परेका उनीहरुलाई १० दिन म्याद थपका लागि अदालतमा लगिएको प्रहरीले जनाएको छ । केही हप्ताअघि जिल्लाको सुलिचौर र गजुलमा रहेको नेपाल टेलिकम र एनशेलको टावरमा आगजनी गरिएपछि नेकपाका नेता कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय रहकै बेला उनीहरु पक्राउ परेका हुन् ।
देशभरका दर्जनौं एनशेल टावरमा आगजनी र विष्फोट गराउने क्रममा यहाँका दुई टावरमा आगजनी गरी क्षति पुर्याइएकाे थियो । एनशेल टावरलाई लक्षित गरिएको भए पनि झुक्किएर सुलिचौरमा नेपाल टेलिकमको टावरमा आगजनी भएको स्रोतले जनाएको छ । टावरमा आगजनी गरिएको नेकपाले जिम्मा लिइसकेको छ ।
नेपाली र सुनारलाई निजी काममै रहेको बेला प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ । पक्राउ परेका दुबैजनालाई राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जनाए । टेलिकम र एनशेल टावरमा आगजनी घटनासँग जोडेर मुद्दा अघि बढाइएको स्रोतको दावी छ ।
नेकपा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले आफ्नो पार्टीको जिल्ला नेताको गिरफ्तारीको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । निजी काममा रहेका बेला विना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै रिहाइको माग समेत गरेका छन् ।
पक्राउ परेका नेपाली नेकपा निकट दलित राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय सदस्य र परियार मुक्तिमोर्चाको पूर्व जिल्ला अध्यक्ष समेत रहेको जनाइएको छ । ‘अपहरणशैलीमा गिरफ्तार गरिएका नेताको रिहाइ नभए प्रतिकार हुन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
सुरक्षा स्रोतले भने केन्द्रीय सर्कुलर अनुसार नेकपाका नेता कार्यकर्तामाथि निगरानी बढाइएको छ । सार्वजनिक सम्पदामाथि क्षति गर्न थालेपछि सुरक्षा सतर्कता सहित प्रहरी चनाखो बनेको छ ।
नेकपाले भने आफ्ना नेता कार्यकर्ताको घर खानतलासी गरी त्रास पैmलाउन खोजेको जनाएको छ । राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, विशेष जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’, नेता विजुली, दिनेश चन्दको घरमा प्रहरीले खानतलासी गरी परिवारलाई तनाव दिएको नेकपाको दावी छ । केही साताअघि होलेरीमा भएको विद्यार्थीको शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको जनाएको छ ।