सिमकोट,
हुम्लामा टाइफाइड रोग विरुद्धको खोप लगाउने कार्य सुरु भएको छ । टाइफाइट विरुद्धको खोप सिमकोट गाउँपालिकाका विद्यालयहरुमा आजबाट लगाउन सुरु भएको हो । आइतबार पहिलो दिन २ सय ४५ र सोमबार दोस्रो दिन १ हजार १ सय ७८ जना बालबालिकाले सो खोप लगाएका हुन् ।
आइतबार सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा २ सय ४५ जना बालबालिकाले उक्त खोप लागएका छन् भने सोमबार सिमकोट गाउँपालिका वडा नम्वर ३, ५, र ६ मा स्थापित विद्यायलहरूमा उक्त खोप सन्चालन गरिएको छ ।
नेपाल सरकारको निति अनुसार देशै भर १५ महिनादेखि माथि १५ वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई उक्त खोप लगाउने भनेपछि हुम्लामा पनि सो अभियान सन्चालन भई रहेको छ । आज सिमकोट गाउँपालिका ५ मा रहेको बाल मन्दिर माविका ३ सय, मानसरोवर माविका ३ सय २३, रलिङ्घ माविका १ सय ३७ र कैलाश बोदि स्कुलका ४ सय १८ जना विद्यार्थीहरूले सो खोप लगाएका हुन् ।
त्यस्तै सिमकोट गाउँपालिकाको वडा नम्वर ८ को खोल्सी र खार्पुनाथको मान्धारमा पनि सो खोप सन्चालन भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले जनाकारी दिए । नाम्खा र खार्पुनाथको विवरण भने आउन बाँकी रहेको प्रमुख सिंहको भनाई छ ।
उनका अनुसार हुम्ला जिल्लाका लागि २४ हजार १ सय ४९ डोज खोप आवश्यक्ता पर्ने भएको भए पनि करीव २५ हजार टाइफाइड विरुद्धको खोप जिल्लामा पुगेको छ । जिल्लामा आएको उक्त खोप तीन वटा गाउँपालिका मध्ये सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा पठाई सकेको र अन्य चार वटामा सर्केगाड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाकामा भने पठाउने कार्य भई रहेको बताइएको छ ।
उक्त टाइफाइट विरुद्धको खोप अभियान भने देश भर पहिलो पटक सन्चालन भएको छ । सो खोप लगाई सकेपछि करीव आधा घण्टा विश्राम गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । त्यस्तै आज सन्चालन भएको उक्त खोप अभियानमा रहेका खोप केन्द्रहरुको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख सिंहले अनुगमन समेत गरेका थिए । अनुगमनका क्रममा खोप अभियान सौहार्द पुर्ण ढंगले सन्चालन भई रहेको प्रमुख सिंहले बताए ।