काठमाडौं । पूर्वसहमतिअनुसार कांग्रेस नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन माओवादी र कांग्रेसको अग्रसरता, चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छाड्न दबाब दिन सांसदहरूको हस्ताक्षर संकलन गरेको खबर आजको नयाँपत्रिकाले समाचार लेखेको छ ।
यस्तो थियो, सत्ता साझेदारीको सहमति
बागमती प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता प्रदेश सभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने । उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेश सभाको बाँकी अवधिमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने ।
एक साताभित्र सरकार परिवर्तन हुन्छ : इन्द्र बानियाँ, कांग्रेस संसदीय दलको नेता
नयाँ सरकार गठनका लागि पनि हस्ताक्षर संकलन आवश्यक छ, त्यसका लागि सांसदबाट हस्ताक्षर लिइराखेका हौँ, मुख्यमन्त्रीविरुद्ध होइन । एक साताभित्र सरकार परिवर्तन हुन्छ । कांग्रेसले सरकारको नेतृत्व गर्छ ।
नयाँ सरकार बनाउन हस्ताक्षर संकलन गरेका हौँ स् शालिकराम जम्कट्टेल माओवादी संसदीय दलको नेता
सहमति कार्यान्वयन गराउन आवश्यक पर्ने आकलन गरेर हस्ताक्षर संकलन गरेका हौँ, यो नयाँ सरकार बनाउनका लागि होे । सहमतिअनुसार मुख्यमन्त्रीज्यू अघि बढ्छु भन्नुभएको छ । उहाँले पार्टी अध्यक्षसँग छलफल गरेर मात्र छोड्छु भन्नुभएकाले केही समय धकेलिएको मात्र हो ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउन हस्ताक्षर गर्ने कांग्रेसका २२ सांसद
बागमतीमा हाल कायम १०७ सांसदमध्ये कांग्रेसका २२ सांसद सबैले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा इन्द्रबहादुर बानियाँ, कल्पना नेपाली, कृष्णलाल भँडेल, गीता वाग्ले, छिरिङदोर्जे लामा, जीवन डंगोल, दीपेन्द्र श्रेष्ठ, नरोत्तम वैद्य, निमा लामा, न्हुक्षेनारायण श्रेष्ठ, पुकार महर्जन, प्रभात तामाङ, बलराम पौडेल, बिजुला बर्मा राणा, भीमसेन खत्री, मिलनबाबु श्रेष्ठ, रजनी अमात्य जोन्छे, डा. राजाराम कार्की क्षेत्री, राजेन्द्र गुरुङ, राधा घले, विजया श्रेष्ठ केसी र सन्तबहादुर प्रजा छन् ।
यी हुन्, हस्ताक्षर गर्ने माओवादीका २२ सांसद
माओवादीका २३ मध्ये २२ सांसदको हस्ताक्षर संकलन भएको छ । उपसभामुख राधिका तामाङबाहेक आङदेन्डी लामा, ओमबहादुर ग्लान, कञ्चन खनाल, कुमारी मोक्तान, घनश्याम दाहाल, जगत सिंखडा, दिनेश महर्जन, प्रतिमा श्रेष्ठ, प्रेम पुलामी, भावना सुवेदी, युवराज दुलाल, रत्न ढकाल, राजकाजी महर्जन, रामलाल महतो, लालकुमारी पुन, लेखनाथ दाहाल, विशाल खड्का, बुद्धिमान माझी, शालिकराम जम्कट्टेल, सीता अधिकारी, हिमाली गोले र हिरानाथ खतिवडाले हस्ताक्षर गरेका छन् ।
पूर्वसहमतिअनुसार कांग्रेस नेता इन्द्र बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाउन माओवादी र कांग्रेसले पहल थालेका छन् । चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छाड्न दबाब दिन उनीहरूले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् । पाण्डे एकीकृत समाजवादी संसदीय दलका नेता हुन् ।
प्रदेश सभामा माओवादीका २३ र कांग्रेसका २२ सांसद छन् । एमाले नेतृत्वको सरकार ढलेपछि गत वर्ष ११ कात्तिकमा चारदलीय गठबन्धनबाट पाण्डे नेतृत्वको सरकार बनेको थियो । त्यसवेला नै प्रदेश सरकारको बाँकी कार्यकालमध्ये आधा पाण्डे र आधा कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री हुने सहमति थियो ।
माओवादी र कांग्रेसले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष बहुमत हस्ताक्षर बुझाउन र सहमति कार्यान्वयनका लागि दबाब दिन हस्ताक्षर संकलन गरेको बताएका छन् । तर, मुख्यमन्त्री पाण्डेले गठबन्धनका शीर्ष नेताहरूबीच केन्द्रमा हुने सहमतिअनुसार आफूले कदम चाल्ने बताएका छन् ।
माओवादी संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले माओवादीका सबै सांसदले हस्ताक्षर आफूलाई बुझाएको बताए । उनले सहमति कार्यान्वयन गराउन हस्ताक्षर संकलन गरिएको दाबी गरे । ‘मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन गरियो भनेर अफवाह फैलाइयो, त्यो गलत हो । हामीले सहमति कार्यान्वयन गराउन आवश्यक पर्ने आकलन गरेर सांसदबाट हस्ताक्षर संकलन गरेका हौँ, यो नयाँ सरकार बनाउनका लागि हो,’ उनले भने ।
जम्कट्टेलले पाण्डेलाई बजेट पास भयो, अब मुख्यमन्त्रीबाट राजीनामा दिनूस् भनिसकेकोसमेत बताए । उनी एक हप्ताभित्र सरकार परिवर्तन हुने निश्चित रहेको दाबी गर्दै पटक–पटक भएको छलफलमा गठबन्धनलाई थप बलियो बनाउँदै पाण्डे नेतृत्वको सरकार परिवर्तन गर्ने पक्षमा देखिए । ‘सहमतिअनुसार मुख्यमन्त्रीज्यू अघि बढ्छु भन्नुभएको छ,’ उनले भने, ‘उहाँ ९मुख्यमन्त्री०ले पार्टी अध्यक्ष माधव नेपालसँग छलफल गरेर मात्र छोड्छु भन्नुभएकाले केही समय धकेलिएको मात्र हो । नेपाललाई भेट्न उहाँ काठमाडौं गइसक्नुभयो ।’
कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार परिवर्तनमा मुख्यमन्त्री पाण्डे बाधक नबनेको बताए । उनले सरकार परिवर्तनको सवाल लिखित सहमतिसहितको प्रक्रिया भएकाले प्रक्रियाको थालनी भइसकेको दाबी गरे । ‘नयाँ सरकार गठनका लागि पनि हस्ताक्षर संकलन आवश्यक छ, त्यसका लागि हामीले सांसदबाट हस्ताक्षर लिइराखेका हौँ, मुख्यमन्त्रीविरुद्ध होइन,’ उनले भने, ‘एक साताभित्र सरकार परिवर्तन हुन्छ । कांग्रेसले सरकारको नेतृत्व गर्छ ।’ बानियाँले चुनावको मिति घोषणाअघि नै सरकार परिवर्तन गर्नुपर्ने र सहमतिअनुसार आधा–आधा कार्यकाल हुने गरी नयाँ सरकार गठन हुने भएकाले दबाब बढाएको बताए ।
मुख्यमन्त्री पाण्डेले आफूले बारम्बार केन्द्रीय नेतृत्वबाट सरकार परिवर्तनका विषय टुंगिनुपर्ने बताउँदै आएको प्रतिक्रिया दिए । उनले केन्द्रबाट सरकार परिवर्तनको विषय टुंगो लगाए आफू बाधक नबन्ने बताए । ‘सरकार हेरफेर सिंगो सत्तागठबन्धनका शीर्ष नेताले निर्णय लिने विषय हो । शीर्ष तहमा सहमति भयो भने म बाधक हुनेछैन । जे हुन्छ शीर्ष तहबाट हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने । प्रदेशमा सहमति भए पनि केन्द्रीय गठबन्धन र अरू प्रदेशबारे समेत शीर्ष तहमा छलफल हुनुपर्ने भएकाले केन्द्रीयस्तरबाट टुंगिनुपर्ने उनको दाबी छ ।
बागमतीमा पाण्डे नेतृत्वको सरकार बनाउन कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच ४ कात्तिक ०७८ मा सहमति भएको थियो । एक मात्र बुँदामा गरिएको सहमतिमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल, कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादी दलका नेताको तर्फबाट राजेन्द्र पाण्डेले हस्ताक्षर गरेका थिए । ‘बागमती प्रदेश सरकारको मुख्यमन्त्री नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० बागमती प्रदेश संसदीय दलका नेता प्रदेश सभा सदस्य माननीय राजेन्द्रप्रसाद पाण्डेलाई बनाउने,’ सहमतिपत्रमा थियो, ‘उहाँ मुख्यमन्त्रीमा नियुक्त भएको मितिले प्रदेश सभाको बाँकी अवधिमध्ये आधा अवधि पहिलो चरणमा मुख्यमन्त्री रहने र दोस्रो आधा अवधि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री रहने ।’
एमालेबाट अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढलेपछि गत वर्ष ११ कात्तिकमा चार दलको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले पाण्डेलाई मुख्यमन्त्री बन्ने अवसर दिलाएको थियो । माओवादीका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका एकसहित ५९ जना सांसदको समर्थनमा गठबन्धनबाट पाण्डे मुख्यमन्त्री बनेका थिए । एक सय १० सांसद रहेको बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । तर, हाल बागमतीमा एक सय सात सांसद छन् ।