काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी समन्वय विभागका मन्त्री (प्रमुख) लिउ जियान्चाओले मंगलबार एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग शिष्टाचार भेट गरेका छन् ।
ओलीसँग साढे चार घन्टा र नेपालसँग सवा एक घन्टाको वार्तामा चिनियाँ नेताले नेपाल र नेपालका पार्टीहरूको आन्तरिक मामिलामा चीनले हस्तक्षेप नगर्ने बताएका छन् । साथै, उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गरेकोमा खुसी व्यक्त गर्दै समान विचार भएका दलहरू मिलेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका छन् ।
मंगलबार बिहान १० बजेदेखि ओली र लिउबीच ओलीनिवास बालकोटमा साढे चार घन्टा लामो कुराकानी भएको थियो । ओलीनिवासमै आयोजित दिवाभोजपछि ओलीसँग लिउले बेग्लै करिब डेढ घन्टा कुराकानी गरेका थिए । ओलीसँग नेता लिउले सबै दलसँग सुदृढ सम्बन्ध चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको प्राथमिकतामा रहेको सुनाएका थिए ।
‘नेपालमा जसको सरकार भए पनि फरक पर्दैन, एक चीन नीतिप्रति उनीहरूको प्रतिबद्धताबाट हामी सन्तुष्ट छौँ, प्रमुख पार्टीहरूसँग हाम्रो सम्बन्ध उत्तिकै सुमधुर हुन्छ’ लिउलाई उद्धृत गर्दै एमाले नेता डा। राजन भट्टराईले नयाँ पत्रिकासँग भने, ‘हामी कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौँ । यहाँको राजनीति कसरी अघि बढाउने, तपाईंहरूको आन्तरिक विषय हो ।’
भट्टराईका अनुसार चिनियाँ नेताले जननेता मदन भण्डारी र जनताको बहुदलीय जनवादको पनि चर्चा गरेका थिए । ‘एमालेले नेपाली धरातलमा जबज प्रतिपादन गरेको छ, हामीले हाम्रो यथार्थमा मार्क्सवादको विकास गरेका छौँ,’ लिउको भनाइ थियो, ‘पार्टी स्थापनाको १०० वर्षमा हामीले चीनलाई रूपान्तरित गरेका छौँ ।’
ओलीले जुनसुकै राट्रिय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय परिवेशमा पनि एमाले र नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपालबाट चीनविरोधी गतिविधि हुन नदिने पनि आश्वस्त पारेका थिए । भट्टराईका अनुसार अध्यक्ष ओलीले नेपाल र चीनबीच यसअघि भएका सहमति र सम्झौताअनुसार परियोजना निर्माण सुरु गर्न चीनलाई आग्रह गरेका थिए ।
‘विगतमा भएका सहमति भनेर एकमुष्ट रूपमा अध्यक्षज्यूले दुई देशका सबै सहमति सम्झौता कार्यान्वयन गरौँ भन्नुभएको छ, चिनियाँ नेताले पनि सकारात्मक जवाफ दिनुभएको छ,’ भट्टराईले भने । ओलीले कोभिड महामारीपछि चीन जान नपाएका नेपाली विद्यार्थी फर्काउन लागेकोमा चीनलाई धन्यवाद दिए । उनले नेपाल–चीन सीमानाका निर्बाध रूपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका थिए । अध्यक्ष ओलीले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको उल्लेख गर्दै पार्टी र देशबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको बताए ।
भट्टराईका अनुसार लुईको भनाइ थियो, ‘तपाईंहरूको आन्तरिक राजनीतिक घटनाक्रममा हामी केही भन्दैनौँ । हामीले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेका छौँ । नेपालको परिस्थितिबारे जानकारी लिन आएका छौँ । बेइजिङ फर्केर विस्तृत समीक्षा गर्नेछौँ ।’
कम्युनिस्ट पार्टीको वेबसाइटमा राखिएको चिनियाँ भाषाको विवरणअनुसार अध्यक्ष ओलीले नेपाल र चीन हिमाल र नदीले जोडिएको दुवैको साझा गन्तव्य बताउँदै पछिल्ला वर्षहरूमा नेपाल–चीन सम्बन्धले तीव्र विकास गरेको उल्लेख गरेका थिए ।
‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न र नेपालको विकास एवं स्थायित्वका लागि चीनले निःस्वार्थ सहयोग तथा दीर्घकालीन र दृढ समर्थन गरेको छ,’ ओलीले भनेका छन् ।
ओलीले चीनको मुख्य चासोका विषयमा एमाले स्पष्ट रहँदै आएको र सधैँ एक चीन नीतिमा अडिग रहेको बताए । ‘कुनै पनि शक्तिलाई नेपालको भूभाग चीनविरोधी गतिविधिमा संलग्न हुन हामी दिनेछैनौँ,’ ओलीको भनाइ थियो ।
ओलीले विगत शताब्दीमा चिनियाँ कम्युनिस्ट पार्टीको विकास र उपलब्धिहरूको अनुभव नेपाल र नेपाली राजनीतिक दलहरूका लागि महत्वपूर्ण प्रोत्साहन भएको बताए । ‘सिपिसीसँगको आदानप्रदान र सहकार्य सुदृढ गर्न एवं शासन सञ्चालनमा सिपिसीको सफल अनुभवबाट सिकेर अघि बढ्न एमाले र सिंगो देश तत्पर छ,’ ओलीको भनाइ थियो । ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन पूर्ण सफलताको कामना गरेका छन् ।
चिनियाँ नेता लिउले नेपाल–चीन सम्बन्धको विकासमा ओलीको योगदान रहेको भन्दै धन्यवाद दिए । ‘चीन र नेपाल पुस्तौँदेखि घनिष्ट छिमेकी हुन् । नेपालले एक चीन नीतिप्रति राखेको अडान, ताइवान, तिब्बत, सिनजियाङ र हङकङसम्बन्धी मामिलामा चीनको अडानप्रति नेपालको दृढ समर्थनको चीन प्रशंसा गर्दछ,’ लिउको भनाइ वेबसाइटमा राखिएको छ । लिउले नेपालप्रति चीनको नीति दीर्घकालीन, रणनीतिक र दृढ रहेको बताए ।
‘नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न चीन दृढतापूर्वक समर्थन गर्दछ र नेपाली जनतालाई उनीहरूको सामाजिक व्यवस्था र विकास मार्गको स्वतन्त्र छनोटका लागि समर्थन गर्दछ,’ लिउको भनाइ छ । उनले नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग र सहायता निरन्तर रहने पनि वचन दिएका छन् ।
‘विश्व यतिवेला एक शताब्दीमा नदेखिएको गहिरो परिवर्तनबाट गुज्रिरहेको छ । विश्व परिवर्तनको कालखण्डमा प्रवेश गरिरहेको ऐतिहासिक क्षणमा चीन–नेपाल सम्बन्ध थप रणनीतिक महत्वको छ,’ लिउको भनाइ थियो, ‘महासचिव सी जिनपिङको सन् २०१९ मा नेपाल भ्रमणका क्रममा भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विकास र समृद्धिका लागि चीन–नेपाल मित्रताको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउन चिनियाँ पक्ष नेपाली पक्षसँग मिलेर काम गर्न इच्छुक छ ।’
लिउले भने–विचार मिल्ने पार्टीहरू मिल्नुहोस्
अध्यक्ष नेपालसँग होटेल एभरेस्टमा भएको छलफलमा लिउले विचार मिल्ने पार्टीहरू मिलेर अघि बढ्न सुझाव दिएका छन् । यसलाई वामपन्थी पार्टीहरूबीचको एकताका सन्दर्भमा मात्रै बुझ्न नहुने नेताहरूको भनाइ छ ।
‘उहाँले फलाना–फलाना पार्टी मिल्नुपर्छ भन्नुभएको होइन, पार्टीहरू एकताबद्ध भएर अघि बढून् भन्ने चाहना व्यक्त गर्नुभयो,’ भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग भने । नेपाल असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको पनि नेपालको भनाइ थियो ।
अध्यक्ष नेपालले चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप मान्य नभएको पनि बताएका थिए । ‘तिब्बत र ताइवान चीनका आन्तरिक विषय हुन् भन्नेमा हामी स्पष्ट छौँ,’ अध्यक्ष नेपालले वार्तापछि भने । लिउले यस्तो अभिव्यक्तिप्रति नेपाललाई धन्यवाद दिएका थिए ।
नेता लिउले एसपिपी अस्वीकार गर्दै राष्ट्रिय एकता कायम गरेको भन्दै नेपालका सबै नेताको प्रशंसा गरेका थिए । ‘अरू विषयमा त नाम लिएनन्, तर एसपिपीको नाम नै लिएर यो अस्वीकृत भएकोमा नेपाली नेताहरूलाई लिउले बधाई दिए,’ भेटबारे जानकार समाजवादी पार्टीका एक नेताले भने । नेता लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर स्वदेश फर्किनेछन् ।
साभार नयाँपत्रिका