चैत ४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकिकरणमा आफूलाई पेलेर जिल्ला तहको कमिटी बनाए समानन्तर कमिटी बनाउँदै जाने वरिष्ठ नेता माधबकुमार नेपालले चेतावनी िदएका छन् ।
पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्षको तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काममा समेत आफुले खासै नय नपाएको बताएका नेता नेपालले पछिल्लो पटक हुने भनिएको जिल्ला तहको एकतामा आफू चुप लागेर नबस्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड पार्टी एकताको अन्तिम गृहकार्यमा जुटेका बेला माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने चेतावनी दिएको हो। अध्यक्षद्वबीच जिल्ला नेतृत्व टुंगाउन छलफल चलिरहेको बेला नेपालले समानान्तर कमिटीको चेतावनी दिएर आफ्नो प्रष्ट अंशबण्डा खोजेका छन्।
नेता नेपालले सचिवालय बैठकभन्दा बाहिरबाट जिल्ला नेतृत्व टुंग्याए समान्तर कमिटी बनाउने चेतावनी दिएका हुन्। तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपाललाई सहमतिमा ल्याउन प्रयास गरे पनि सफल हुन सकेका छैनन्। अर्का अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि केही दिन अमेरिका निस्किएका छन्। प्रचण्डको अनुपस्थितिले विवादलाई थप जटिल बनाउने आशंका गरिएको छ।
सरकारले फागुन २४ गते सीके राउत समूहसँग ११ बुँदे सहमति र फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेपछि नेकपाका शीर्ष नेताबीच सम्वाद शुरु भएको थियो। यस्तो सहमति लगत्तै सचिवालय सदस्यहरु नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए। त्यसलगत्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो, जहाँ राउतसँग भएको सहमति र पार्टी एकता सम्बन्धी विषयमा छलफल भएको थियो।
त्यसपछि प्रधानमन्त्री एवं अध्यक्ष ओलीले शुरुमा नेपाल, खनाल र गौतमसँग छलफल गरेका थिए। पछि अध्यक्ष ओलीले नेपालसँग पनि छुट्टै छलफल गरेका थिए। जहाँ सीके समूहसँगको सहमति र विप्लव समूहमाथि प्रतिबन्ध लगाउने विषयका साथै एकता सम्बन्धी बाँकी काम टुंगाउने विषयमा छलफल भएको थियो।
सीके राउत र विप्लवमाथि प्रतिबन्धवारे पहिला असन्तुष्ट नेता नेपाल र खनाल प्रधानमन्त्रीसँगको छलफलपछि सरकारी निर्णयको पक्षमा उभिएका थिए। तर, पार्टी एकता सम्बन्धी दुई अध्यक्षको सहमतिमा चाहिँ नेता नेपाल, खनाल, गौतम र श्रेष्ठको असन्तुष्टि कायमै रहेको स्रोत बताउँछ।
पछिल्लो समय ओली र प्रचण्ड ७७ जिल्लामा पार्टी अध्यक्ष र सचिव टुंगाउने कोशिसमा छन्। ७७ जिल्लामध्ये कति जिल्लामा पूर्वएमाले र कति जिल्लामा पूर्वमाओवादी भन्ने बहस चलिरहेको छ। तर, पूर्वएमालेले पाउने जिल्लामा माधव नेपाल समूहबाट कति जना भन्ने टुंगो नलाग्दा विवाद बढ्दै गएको हो। पूर्वएमालेभित्र भागबण्डा नमिल्दा एकता लम्बिँदै गएको छ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना पुगेको छ। तर, यो १० महिनामा पार्टी एकताका आधा भन्दा बढी काम टुंगिन सकेका छैनन्। यस अघि गठित कार्यदलका अनुसार विधान परिमार्जन, पोलिटव्यूरो गठन, केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन, हुन सकिरहेको छैन।
त्यसैगरि केन्द्रीय आयोगहरुको गठन, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिष्ट मञ्चको गठन, राष्ट्रिय परिषदमा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जिल्लासहित मातहत कमिटीहरुको एकीकरण, जनवर्गीय संगठनहरुको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन।
पार्टी एकताको पछिल्लो १० महिनामा दुई अध्यक्ष तय, ४४१ सदस्यीय केन्द्रीय समिति गठन, नौ सदस्यीय सचिवालय, महासचिवमा विष्णु पौडेल र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवत्ताको जिम्मेवारीबाहेक ४५ सदस्यीय स्थायी कमिटी गठन र प्रदेश कमिटी गठनको काम सकिएको छ।
तर, प्रदेश कमिटीको नामावली स्थायी कमिटीबाट अनुमोदन हुन बाँकी छ। केन्द्रमा प्रदेश सदस्य परिमार्जन हुनुपर्ने विवाद चलिरहे पनि प्रदेश कमिटीका अधिकांश सदस्यहरुले सपथ लिएका छन्। विज्ञप्ति नै जारी गरेर प्रदेश कमिटी सार्वजनिक गरिएका कारण कसैलाई पनि फिर्ता गर्नसक्ने अवस्था छैन। यसले पनि एकतामा सकस भइरहेको छ।
जिल्ला अध्यक्ष र सचिवको टुंगो लाग्न अझै केही समय लाग्नेछ। अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन कम्तिमा १० दिन लाग्ने बताएका छन्। प्रचण्ड फर्केपछि फेरि बैठक बस्ने र सचिवालय वा स्थायी समितिको बैठक बोलाएर जिल्ला नेतृत्व टुंगाउने सहमति भएको स्रोत बताउँछ।
पूर्वएमालेको भागमा पर्ने कोटामा माधव नेपाल, बामदेव गौतम, झलनाथ खनालले मात्र होइन, ईश्वर पोखरेल लगायतका नेताहरुले पनि आफ्नो भाग खोजिरहेका छन्। माधव नेपालले त आफ्नो समूहलाई उपयुक्त कोटा नदिए समानान्तर कमिटी गठनको चेतावनी नै दिएका छन्।