सिमकोट । अज्ञात रोगका कारण हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ८ को खोल्सीको लिपरांगमा एकैदिन ६ वटा पशुहरु मरेका छन् ।
पत्तो नै नलागेको अज्ञात रोगका कारण आज बुधबार मात्रै ६ वटा दुना गाई मरेको खोल्सीबाट वडाध्याक्ष कमलबहादुर बुढाले जानकारी दिए ।
एक्कासी बिरामी नभई विहानदेखि अहिले वेलुकासम्म खोल्सीको लिपरांग भन्ने खर्कमा दुहुना गाई समेतका पशुवस्तु मरेको वडाध्यक्ष बुढाले बताए ।
‘खर्कमा भएका पशुहरुमा कुनै समस्या नदेखिएको भएपनि बुधबार विहानबाट एक्कासी ३ बाच्छा र ६ वटा गाई
मरेका छन्’, ‘वडा अध्यक्ष बुढाले नेपालवोटसँग भने, ‘सुरुमा थरथर काम्ने र मुख, मलद्धार र यौनाङगबाट रगत फाल्ने गरेको र त्यस लगत्तै मर्ने गरेका छन् ।’
बुधबार मात्रै सो खर्कमा सिमकोट गाउँपालिका वडा नम्वर ८ को खोल्सीका चौक्या शाही, जसबहादुर शाही, धनमान शाही, कालिबहादुर शाही, चाउ¥या शाही र लोकविर सिंहका एकएक वटा गाई मरेको बताइएको छ ।
एकै दिनमा यसरी पशु मर्नेमा देखिएको लक्षण चरचरे र भ्यागुत्ते रोगको भएको सिमकोट गाउँपालिका पशु शाखाका पशु स्वास्थ्य प्रविधिक विष्णु बुमीले जानकारी दिए । केही समययता सिमकोटका विभिन्न खर्कमा राखिएका पशुवस्तुहरुमा त्यस्तो रोग फैलिएको बताएका पशु प्राविधिक वुमीले सबै पशुवस्तुहरुमा खोप लगाउनका लागि पशु स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाउने तयारी भैरहेको जानकारी दिए । उनका अनुसार टोली आज बिहिबार बिहानै त्यसतर्फ जाने छ ।