सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भौगोलिक विकटताकै कारण हुम्लाको विकासमा समस्या आएको बताएका छन् ।
गृह जिल्ला हुम्ला पुगेका मुख्यमन्त्री शाहीले लामा सांस्कृती मञ्चद्धारा आयोजना गरिएको कार्यक्रममा बोल्दै कर्णालीका अन्य जिल्लाको तुलनामा हुम्लामा विकटताकै कारण विकास निर्माणका काम अपेक्षित रुपमा अघि नबढेको प्रतिक्रिया दिए ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रीत गरेर नेपाली कांग्रेस केन्द्रले शुरु गरेको ‘जनतासँग कांग्रेस’ अभियान कार्यक्रमको उद्घाटन गर्न सिमकोट पुगेका मुख्यमन्त्री शाहीलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्य मन्त्री शाहीले भौगोलिक रुपमा विकट हुम्लामा अन्य जिल्लाको तुलनामा विकासे काम सकस भएको प्रतिक्रिया दिए ।
‘अन्य जिल्लामा १० किलो मिटर बाटो बनाउदा दुईतिन दिन लाग्ने भएतापनि हुम्ला जिल्लामा १० मिटर बाटो बनाउन दशौं महिनाा कुनु पर्ने बाध्यता अझै हटेको छैन्’ मुख्यमन्त्री शाहीले थपे, ‘समयमै विष्पोटक पदार्थ उपलव्ध नभएकै कारण हुम्लामा सडक बनाउन ढिलाई हुने गरेको छ ।’
गएका १०।१२ वर्षदेखि हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ मात्रै भन्ने गरिएको बताएका मुख्यमन्त्री शाहीले हालसम्म पनि सडक सन्जालमा नजोडिनु त हुम्ली जनताको पनि मुख्य भूमिका रहने बताए । यसका लागि सवैले साथ दिनु पर्नेमा उनले जोड दिए ।
मुख्यमन्त्री शाहीलाई सम्मान
लामा सांस्कृतिक मञ्च हुम्लाले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सम्मान गरेको छ ।
देशका सात वटा प्रदेश मध्ये कर्णाली प्रदेशको नेतृत्व हुम्लाबाट गर्न सफल भएको भन्दै लामा साँस्कृती मञ्च हुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मान गरेको हो ।
मञ्चको सिमकोट स्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मुख्यमन्त्री शाहीलाई बधाईसहित सम्मान गरेको लामा साँस्कृती मञ्चका अध्यक्ष धर्मानन्द लामाले जानकारी दिए ।
लामा समुदायको बाहुल्यता रहेको नाम्खा गाउँपालिकाका नागरिकहरुको जिवनस्तरमा आएको परिवर्तनसँगै जिल्लाका अन्य गाउँपालिकाका नागरिकहरुको जीवनस्तरमा परिवर्तन गर्न स्वयम् आफैले सोच्नुपर्ने बताएका शाहीले त्यसका लागि अन्य समुदायका नागरिकको बानीमा सुधार आउनु पर्ने सुझाव दिए ।
लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मनन्द लामाको अध्यक्षता तथा कर्णाली प्रदेशका मुख्य मन्त्री जीवन बहादुर शाहीको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सीता परियार, सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला भाम रोकाया र अन्य सरोकारवाला निकायका प्रमुख एबं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।