सिमकोट । विद्यालयका विद्यार्थीहरुमा लागेको रुघाखोकीको प्रकोप बढ्दै गएपछि जिल्लाको खार्पुनाथ गाउँपालिका ५ को हिल्सा नौधारा आधारभूत विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरु दिनहुँ बिरामी पर्न थालेपछि मंगलबार (भाद्र २१ गतेबाट) विद्यालय बन्द गरिएको हो ।
भदौ १९ गतेदेखि यता खार्पुनाथ गाउँपालिका स्थित हिल्सा नौधार आधारभूत विद्यालयमा अध्यायनरत विद्यार्थीहरुमा सिजनल रुघाखोकीले थला पर्न थालेपछि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार उक्त विद्यालय भदौ २५ गतेसम्मका लागि बन्द गरिएको विद्यालयका प्रधानाध्यापक पुर्णबहादुर रोकायाले जानकारी दिए ।
भदौ १९ गते अघि सामान्य रुपमा विद्यार्थीको सहभागिता भएर विद्यालयमा पठनपाठन भएपनि हाल कक्षा एकदेखि ७ कक्षासम्म सन्चालन हुँदै आएको विद्यालयका ६८ जना विद्यार्थी संख्या रहेको विद्यालयमा २० जना विद्यार्थीको सहभागि संख्यामा उपस्थिती हुन थालेपछि विद्यार्थीको स्वास्थ्य आवस्था हेरी विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक रोकायाले बताए ।
यतिखेर ज्वरो आउने, पेट दुख्ने, खोकि लाग्ने, घाँटि दुख्ने र झाडा पखाला जस्ता लक्षण देखा पर्न थालेपछि केही दिन घरमै रेष्ट गर्नुका साथै उपचारपछि विद्यालय खोलेर पठनपाठन सुचारु गरिने भएको प्रधानाध्यापक रोकायाको भनाई छ । हाल विरामी परेका करीव ४० जना विरामी विद्यार्थीहरुको स्थानीय स्तरमा उपचार भईरहेको छ ।
विद्यालयमा विरमीको संख्या बढन थालेपछि हिल्सा नौधारा आधारभूत विद्यालयको भदौ २४ गते हुने ४४ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम समेत अनिश्चित कालका लागि स्थगित गरिएको प्रअ रोकायाले जानकारी दिए ।