काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न निर्देशन दिएको छ ।
तोकिएको ढाँचामा खर्च विवरण पेश गर्न निर्देशन दिँदै प्रतक्षतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने आयोगले जनाएको हो ।
विवरण पेश गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ ।
उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ ।
विवरण पेश गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सो समेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्ने आयोगले जनाएको छ ।