चैत १२, सिमकोट । गाउँपालिका अध्यक्षने किर्ते कागजमा काम गर्न थालेपछि अन्यको हालत के होला ?
स्थानीय विकास निर्माण देखि केन्द्र, प्रदेश र स्थानीय तह बिचको सम्बन्ध कायम गर्ने सरकारले योजना माग गर्न आफैले किर्ते गरेका छन् । प्रदेश सरकारले स्थानीय तहमा दिने समपुरक बजेटबाट दिईने योजना माग गर्न चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले किर्ते कागजात पेश गरेको पुष्टि हुन आएको छ ।
बजेट माग गर्न गाउँ कार्यपालिकाको निर्णय चाहिन्छ तर अध्यक्षले सुर्खेतमा रहेका आफुले भनेको मान्ने केही ब्यक्तिसंग मिलेर गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका पदाधिकारी कसैलाई जानकारी नगराई किर्ते गरी प्रदेश मन्त्रालयमा योजनाको फर्म पेश गरेको प्रमाण फेला परेको हो ।
प्रदेशले प्रदान गर्ने समपुरक बजेटमा गाउँपालिका अध्यक्ष चौलागाँई र सोही गाउँपालिका वडा नम्वर २ का अध्यक्ष हरिहर उपाध्याय, स्थानीय बिर्ख धिताल, काँशी उपाध्याय, र दलजित बि.क.ले सुर्खेतमै बसेर किर्ते कागज तयार गरी कालमबाडा सामुदायिक भवन, कालमबाडा सुनकार स्याउ फर्म, बृहत सिचाई रिर्जभ ट्याङकी, माथिल्लो पाली बृहत खानेपानी, मेल्छाम गडेली हँुदै भुजखोला सम्म बाटो निर्माण, लौटारुख देखि लोती सम्म सिचाई नहरका लागि ७ वटा योजनाका फर्म पेश गरेको चंखेली गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शालिग्राम ऐडीले जानकारी दिनुभयो । अध्यक्ष जस्तो मान्छेले उपाध्यक्ष र वडाध्यक्षलाई समेत थाहा नदिई किर्ते हस्ताक्षर गरी ७ वटा योजनाको फर्म कर्णाली प्रदेशको अर्थ मन्त्रालयमा पेश गरेको भन्दै वडाध्यक्ष ऐडीले आक्रोश व्यक्त गर्नुभयो ।
यस बारेमा कुनै जानकारी नगराई सुर्खेतमैं किर्ते गरी अध्यक्षले मनोमानी रुपमा योजना पेश गरेका भन्ने आफुले पनि सुनेको उल्लेख गर्दै यदि यो घटना साँचो हो भने राम्रो काम नभएको गाउँपालिका उपाध्यक्ष बिमला शाहीले बताउनुभयो । अध्यक्ष चौलागाईले भने आफु ग्रामीण बिकास कार्यक्रमको आर्थिक सहयोगमा बैदेशिक भ्रमणका लागि नेदरल्याण्ड गएकाले यस बिषयमा आफु अनभिज्ञ रहेको दाबी गर्नुभयो ।
आफुलाई बदनाम गर्न यस्तो कुप्रचार गरिएको उहाँको दावी छ । प्रदेश सरकारबाट प्राप्त हुने १ करोड बजेट मनोमनी रुपमा योजना बनाई पेश गरेको भन्दै त्यसलाई रोक्न वडा नम्बर ३ का वडाध्यक्ष शालिग्राम ऐडीको नेतृत्वमा स्थानीयहरुले निवेदन समेत प्रदेशको अर्थ मन्त्रालयमा पेश गरेका छन ।