छप्रेला (हुम्ला) । नेकपा (एमाले)ले सञ्चलन गरेको ‘मिसन ग्रासरुट’ अभियानको दोस्रो चरणमा हुम्लाको ताँजकोट गाउँपालिकाका ६ जनाले माओवादी केन्द्र पार्टी परित्याक गरेर एमाले प्रवेश गरेका छन् ।
नेकपा (एमाले)ले सञ्चलन गरेको पार्टी सुदृढिकरण तथा बिस्तारका लागि सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानको दोस्रो चरणका कार्यक्रम अन्तरगत ताँजकोटको छप्रेलामा आयोजित गाउँ कमिटी बैठकमा माओवादी केन्द्र ताँजकोट–१ कमिटीमा आवद्ध सुर्जमल खड्काको नेतृत्वमा ६ जनाले एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेमा ताँजकोट गाउँपालिका वडा नम्बर १ का सुर्जमल खड्का नेतृत्वमा गौरीलाल खड्का, धञ्जित खड्का, जंगलाल रिठाल, वडा नम्बर २ का जयबहादुर बुढा, मक्क कार्की रहेको एमाले ताँजकोट गाउँ कमिटीका उपाध्यक्ष गोर्खे सार्कीले जानकारी दिए ।
माओवादीले गाउँपालिका देखि प्रदेश र संघीय सरकारमा नेतृत्व गर्दापनि जनयुद्धताका जनतालाई वितरण गरेका आश्वाशनको वेवास्ता गरेका कारण आफूले माओवादी पार्टी परित्याक गरेको नवप्रवेशी सुर्जमल खड्काले बताए ।
‘हामीलाई जनयुद्धको समयमा घरमा आएर समृद्धीका ठूला नारा लगाउने माओवादी नेताहरु अहिले सत्तामा जाँदा पार्टीका योगदान गरेका भन्दा आफू र आफन्तलाई मात्र सम्झिने गरे’, खड्काले भने, ‘अब राष्ट्रियता र जनजीविकाको सवालमा अडिक रहने र लोककल्याणकारी सरकारको नीति लिने एमाले बाहेकको विकल्प नभएको ठहर गर्दै हामीले पार्टी प्रवेश गरेका हौं ।’
नवप्रवेशीलाई छ जनालाई पार्टीको सदस्यता रसिद सहित अविर र खादा लगाएर एमाले केन्द्रीय सदस्य निरज आचार्यले स्वागत गरेको एमाले कर्णाली प्रदेश कमिटी सदस्य पूर्णप्रसाद ढकालले जानकारी दिए ।
पार्टी निर्माणमा योगदान गर्ने १६ जना सम्मानित
एमाले ताँजकोट गाउँ कमिटीले पार्टी निर्माण र संगठन बिस्तारमा योगदान पुर्याएका विभिन्न १६ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाको केन्द्र छप्रेलामा आयोजित गाउँ कमिटी बैठकका क्रममा एमालेले पार्टी स्थापनामा अमूल्य योगदान गरेका ज्ञानबहादुर शाही, वृषबहादुर शाही, कर्णराज गिरी, दाने खड्का, सौर्य रिठाल, रण खड्कालाई अविर र खादा लगाएर सम्मान गरिएको हो । यसैगरी बैठकमा ज्येष्ठ कम्युनिस्ट सदस्य देवी रोकाया, पौरखे कार्की, प्रबानन्द ढकाल, धनपती कार्की, धनलाल जैशीलगायतलाई सम्मन गरिएको हो । सम्मानित सबै ज्येष्ठ कम्युनिस्ट सदस्यलाई नेकपा (एमाले) निर्वाचन विभागका उप–प्रमुख समेत रहेका अभियानका केन्द्रीय प्रतिनिधि निरज आचार्यले सम्मान गरे ।
पार्टी प्रवेश तथा ज्येष्ठ कम्युनिस्ट सदस्यहरुलाई सम्मान गर्न आयोजित बैठकलाई संवोधन गर्दै एमाले केन्द्रीय सदस्य आचार्य एमाले पार्टी साइन बोर्ड झुण्ड्याउन र उपभोक्ता समिति गठन गर्नका लागि मात्रै गठन नभएको दावी गरे ।
एमाले पार्टीका नाममा साइन बोर्ड झुण्ड्याउन र तीनै तहका सरकारले दिने योजनामा उपभोक्ता समिति बन्नका लागि गठन भएको पार्टी होइन् केन्द्रीय सदस्य आचार्यले भने, जनताको बहुदलीय जनवादको सिद्धान्तबाट समाज रुपान्तरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ एमाले पार्टी गठन भएको हो ।
व्यक्तिगत स्वार्थ पुीर्तका लागि विभिन्न झुण्डका पार्टी निर्माण गर्ने कामले देश अस्थिरतातर्फ धकेलिएको बताएका आचार्यले बहुदलीय व्यवस्थाकै उपहास गर्ने गरी निर्वाचनमा विभिन्न दलहरुसँग अपवित्र गठबन्धन गरेर सत्ताको विडो हात पार्ने धाउन्यमा मात्र रहेकाले त्यस्ता दलहरुको अस्थित्व बिस्तारै समाप्त हुदैं जाने दावी गरे ।
पार्टी निर्माण र संगठन बिस्तारका लागि सञ्चालित दुई महिने अभियानका क्रममा एमालेले फागुन १३ गतेदेखि दोस्रो चरणको अभियान सञ्चालन गरेको एमाले जिल्ला कमिटी हुम्लाका उपसचिव झलक ढकालले बताए ।