सुर्खेत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले अवैध रुपमा सुन तस्करी गर्न पशुपतिको जलहरीको नाटक गरेको आरोप लगाउनु भएको छ ।
सरकारमा संलग्न व्यक्ति र तिनका नेताहरुबाटै ठूलो परिणाममा सुनको अवैध आयात गर्ने र प्रतिपक्ष दल एमालेलाई त्यसमा मुछ्न सकिन्न भन्ने कल्पनाका साथ सरकारले पवित्र पशुपती मन्दीरको जलहरी प्रकरण बाहिर ल्याएको हो ।
अहिलेको सरकारबाट सुशासनको कल्पनासमेत गर्न नसकिने बताउनु भएका महासचिव पोखरेलले भने, ‘नक्कली भुटानी शरणार्थीको मुद्धामा प्रतिपक्षलाई फसाउने उद्देश्यले अनुसन्धान सुरु भयो । पछि गठबन्धन भित्रकै दलहरु फस्ने भएपछि पशुपतिको जलहरी काण्ड ल्याइयो । जुन जलहरीका लागि सरकारले अनुदान मात्र ३० करोड दिएको हो । जहाँ पसुपति विकास कोषबाट खर्च अर्बौ भएको छ ।’
‘रोष्टमबाट जलहरीको सुनलाई पित्तल हो भनियो तर भित्रधभित्र सुनको अवैध कारोबार सरकारबाटै गरियो । धर्मिक आस्था भएको स्थानको सुनको जलहरी निकासले जोख्ने काम गरियो । सांसद कति झुट रहेछन् भन्ने कुरा प्रमाणित भयो’ महासचिव पोखरेलले थप्नुभयो ।
त्यो घटनाको अनुसन्धान सरकारमा संलग्न दलकै नेताहरुप्रति जान थनलेपछि वालुवाटार जग्गा प्रकरणको चर्चा गरिएको बताउनु भएका नेता पोखरेलले मुख्यव्यक्तिहरुको छानविन सुरु हुने कुरा गरिएपनि उनिहरुको घरमा गएर राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक मञ्चन भएको आरोप लगाउनु भयो ।
‘अनुसन्धानदाता आफैंले निष्कर्ष निकालेर गरिएको अनुसन्धानले ठूला नेताहरुलाई उम्काउने प्रपञ्च शुरु भएको छ । अनुसन्धान अघि बढ्यो । त्यसमा पनि आफ्ना नेतालाई जोगाउँदै मुद्धा ओझेलमा पार्न सत्ताकै आडमा भइरहेको सुन तस्करी चर्चामा ल्याइयो । हङकङबाट पानी तान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउनै पर्ने कारण सुन तस्करीकै लागि रहेछ । त्यो पनि हामीले कर्मचारीले थाहा पाउन सकेनन् भनेर मान्दिनु पर्ने । ब्रेक सुको तौल कति हुन्छ भनेर भन्न नपाइने, कर्मचारी रि चेकभन्दा हाकिम आएर त्यो होइन भन्दा त्यो मान्दिनु पर्ने । अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नु पर्ने। यस्तो सरकारबाट सुशासनको अपेक्षा हामीले गर्नै पर्ने ?’ पोखरेलले प्रश्न गर्नुभयो ।
कर्णालीलाई किन उपेक्षा ?
नेकपा एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभागको आयोजनामा गरेको महासचिवसँग कफी र कुरा कार्यक्रममा पोखरेलले पार्टीले कर्णालाई उपेक्ष नगरेको प्रतिक्रिया दिनुभयो ।
सुर्खेतमा रहेका सम्पादक र व्यूरो प्रमुखहरुसँगको आयोजना गरिएको कार्यक्रममा पत्रकारका प्रश्न र जिज्ञासा सुनेपछि पोखरेलले कर्णालीमा एमाले बलियो राजनीतिक दल भएर पनि राष्ट्रिय राजनीतिमा उपस्थित हुन नसक्नु, सरकारको नेतृत्व लिन नसक्नु लगायतका विषयमा प्रस्ट पार्ने कोसिस गरे ।
उनले प्रदेश सरकारको नेतृत्वको विषयमा उठेको प्रश्नमा आफूबाट त्यस्तो कुनै कार्य नभएको दाबी गरे । ‘महासचिवले नै कर्णालीलाई पेलेको हो कि भन्ने कुरा आयो, त्यो सत्य होइन,’ उनले भने,‘ त्यो बेला कर्णालीमा माओवादीले नछाड्ने भयो, स्वयम् प्रचण्डज्यूले नै कर्णाालीमा माओवादीले नेतृत्व छोड्नै सक्दैन, पाउनुपर्छ भनेकाले सम्भव भएको हैन ।’
०७४ मा कर्णालीमा एमालेसँग एक्लै २० सिट हुँदा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएन । यामलाल कँडेलले पटक–पटक नेतृत्व लिने प्रयास गरेपनि एमाले केन्द्रकै कारण नेतृत्व पाउन नसकेको आरोप प्रदेशका नेताहरूले लगाउने गरेका छन् ।
साङ्गठनिक कर्णालीमा एमाले बलियो हुँदा पनि पार्टी केन्द्रको उपेक्षाले न केन्द्रको मन्त्री पाउँछन न त पार्टीको केन्द्रमा नै कर्णालीको उपस्थिति बलियो छ । कांग्रेसमा पूर्णबहादुर खड्का, माओवादीमा जनार्दन शर्मा, शक्ति बस्नेतहरूको उपस्थिति बलियो हुँदा एमालेमा भने कर्णालीको उपस्थिति नै छैन ।
महासचिव पोखरेलले भने उक्त कुरा स्वीकार गरे । भने,‘ यो विषयमा हामी जानकार छौँ । नेतृत्व विकास गर्नुपर्छ । तर, राष्ट्रिय राजनीतिमा स्थापित हुने नहुने कुरा व्यक्तिमा भर पर्ने कुरा रहन्छ ।’
पोखरेलको भनाइमा कर्णालीका एमाले नेताहरूले पार्टी केन्द्रमा उपस्थिति बलियो बनाउन नसकेको देखिन्छ । सापेक्ष रूपमा यामलाल कँडेल र गोरख बोगटी जस्ता नेताहरूको योगदान रहे पनि केन्द्रका भूमिका बनाउने कुरामा उहाँहरू आफैले सङ्घर्ष गर्नुपर्ने उनको भनाइ थियो । महाधिवेशनमा पदाधिकारीमा कर्णालीले दाबी गर्ने भनेर चितवन पुगे पनि खाली हात फर्कनु परेको थियो ।
‘राष्ट्रिय राजनीतिमा भूमिका बनाउने कुरामा पहिलो कुरा व्यक्ति आफैमा भर पर्छ,’ उनले भने,‘ नेताहरू कर्णालीमै केन्द्रित हुने कि राष्ट्रिय राजनीतिमा स्थापित हुने उहाँहरूमा निर्भर रहने र लादेर नै लिने भन्ने कुरा रहँदैन । यद्यपि पार्टीले आफ्नो भूमिका भने निर्वाह गर्नुपर्छ नै ।’
०७९ को चुनावमा प्रतिनिधि सभामा एमाले शुन्य भएको र प्रदेशमा पनि कमजोर उपस्थिति बनेपछि एमाले केन्द्रीय नेताहरूको ध्यान कर्णालीमा देखिन्छ । पछिल्लो समय प्रायः नेताहरू कर्णाली केन्द्रित भएका छन् ।
यद्यपि एमाले केन्द्रका नेताले कर्णालीलाई माया भन्दा दयाभाव देखाउने गरेको कुरा छलफलमा उठ््यो । उदाहरणका लागि अहिले कर्णालीको इन्चार्जको रूपमा सुदूरपश्चिम प्रदेशका लेखराज भट्ट छन् । तर, कर्णालीको कुनै पनि नेताहरू अन्य प्रदेशको इन्चार्ज भएर काम गरिहरेका छैनन । ‘के कर्णालीका एमाले नेताहरूको अन्य प्रदेशको इन्चार्ज भएर काम गर्न सक्ने क्षमता नभएको हो ?’ एक पत्रकारको प्रश्न थियो, ‘तपाईँहरू हिजोआज कर्णाली दौडेको दौडेई हुनुहुन्छ, यो त तपाईँहरुको मनैदेखि कर्णालीप्रति माया भन्दा पनि दयाभाव मात्र देखियो । कर्णालीप्रति हेर्ने तपाईँहरको दृष्टिकोणा बदल्नुहोस् ।’
पोखरेलले अब कर्णालीमा नेतृत्व विकासमा ध्यान दिइने बताए । कमी, कमजोरी केही रहेको र बाँकी समाधान गर्दै अघि बढिने उहाँको भनाइ थियो ।