काठमाडौं । देशलाई निकास दिन राजनीतिक दल र जेन्जी मिलेर अघि बढ्नुको विकल्प नभएको एक कार्यक्रममा सहभागीले बताएका छन् ।
काठमाडौंमा आयोजित 'नेपालमा राजनीतिक स्थिरता, भ्रष्टाचार र असमानता न्यूनीकरणमा राज्य र नागरिक समाजको भूमिका'विषयक अन्तर संवाद कार्यक्रममा सहभागीहरुले देशलाई सुशासनमा राख्न र भ्रष्टाचार मुक्त बनाउन सबै राजनीतिक दल र जेन्जी एक हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपाली काँग्रेसको सामाजिक विभाग प्रमुख डा। रणबहादुर जेन्जी आन्दोलनले २४ घण्टामै सरकार परिवर्तन गरेअनुसार चुनौती पनि धेरै भएको बताउनुभयो । आन्दोलनले अवसर पनि दिएकाले त्यो अवसर खोज्न आवश्यक रहेको उहाँको भनाइ छ ।
जेन्जी आन्दोलन भ्रष्टाचाररहित समाज, पारदर्शिता र सुशासनको लागि भएकाले अहिलेको सरकार र समाज ति माग सम्बोधनको लागि एक हुन आवश्यक भएको बताउनुभयो । उनीहरुले नेतृत्व परिवर्तनको लागि आन्दोलन नगरेको तर राजनीतिक सहभागीता खोजेको भन्दै नेता रावलले ति माग समेटेर सबै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले सरकारले चुनावको वातावरण बनाउनुपर्ने र त्यसमा सबै राजनीतिक दल सहभागी हुनुपर्ने बताउनुभयो । अहिलेको सरकार अन्तरिक भएको र यो सरकारको म्यान्डेट चुनाव गराउने मात्रै भएको भन्दै उहाँले त्यसबाहेकका निर्णय नगर्न चुनौती पनि दिनुभयो ।
उहाँले भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलन र तोडफोडको बारेमा छानविन आयोगले अनुसन्धान गरिरहेकाले त्यसलाई काम गर्न दिन अनुरोध पनि गर्नुभयो । अहिले राजनीतिक दल र जेन्जीबीच संवादहिनता भएको भन्दै नेता सापकोटाले आरोप–प्रत्यारोप र निषेधको अवस्थाभन्दा पनि छलफलबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा एमालेको समाजसेवा विभाग प्रमुख कल्पना चापागाईँले अहिलेको परिस्थितीमा दलका नेतालाई निषेध गरेर फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन कुनै पनि हालतमा नहुने दाबी गर्नुभयो । संसद् पुनस्थापनाबाहेक अर्को विकल्प नै नभएको तर संविधान संशोधनको विषयमा जेन्जीसँग छलफल गर्न एमाले तयार भएको बताउनुभयो । दललाई निषेध गरेर अघि बढ्न नहुने र नमिल्ने उहाँको भनाइ छ ।
जेन्जी समुहकी मोनिका निरौलाले देशमा सुशासन खोज्न जाँदा बाँच्न पाउने अधिकार खोसिएकाले राजनीतिक दलसँग संवाद हुन नसकेको स्पष्ट पार्नुभयो । १५ वर्षदेखि तीन जना नेताले मात्र सरकारको नेतृत्व गरिरहेकाले भौतिक संरचना जलेका बताउनुभयो ।
अहिलेको युवा पुस्ता शासन प्रणालीभन्दा पनि शासन गर्ने नेतादेखि आजित भएका उहाँको भनाइ छ । आफ्नो आत्मालोचना र आत्मसमिक्षा नगर्ने हो भने केही हुन नसक्ने निरौलाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय सामाजिक संजालमा आएका भ्रामक सूचनालाई मानिसले पत्याउँदा पनि समस्या भएको बताउनुभयो । पहिले एक अर्कालाई आरोप लगाउने काम हुने गरेकोमा अहिले पनि त्यसै भइरहेको टिप्पणी गर्नुभयो ।
गैरसरकारी संस्था महासंघ नेपाल ९फेडेन० का कार्यवाहक अध्यक्ष डिल्ली गिरीले सिंहदरबारदेखि सर्वसाधरणसम्म चुकेकाले देश नै हराउँछ कि भन्ने चिन्ता लागेको बताउनुभयो ।
उहाँले राजनीतिक दल बिना देश अघि बढ्न नसक्ने दाबी गर्दै दल र नेतालाई गाली गरेर केही नहुने बताउनुभयो । राजनीतिक स्थिरता, सुशासन र देशमा भ्रष्टाचार अन्त्यको लागि पनि सबै एकजुट हुनुको विकल्प नभएको उहाँको भनाइ छ ।
कार्यक्रममा सुशासन विज्ञ डा। दिपेश घिमिरेले नेपालमा भ्रष्टाचार र आर्थिक असमानताको अवस्था र राज्य अनि नागरिक समाजको भूमिका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२ १६:५५