काठमाडौं। स्पेयर पार्टसको आपूर्तिमा समस्याले नेपाली हेलिकोप्टर व्यवसाय नै प्रभावित हुन पुगेको छ।
स्पेयर पार्टसको अभावमा हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरुले समयमा मर्मत सम्भार गर्न सकेका छैनन्। यसले गर्दा अबको सिजन माग अनुसार उडान गर्न नसकिने भन्दै व्यवसायी चिन्तित भएका छन्।
कोभिड अगाडि ७।१० दिनमा उपलब्ध हुँदै आएको पाटपुर्जा अहिले अर्डर गरेको ६ महिनापछि मात्र आउने गरेको सिम्रिक एयरका महाप्रबन्धक मुरली जोशीले बताए। ‘कोभिड र रसिया(युक्रेन युद्धका कारण स्पेयर पार्ट्स आपूर्तिमा समस्या आएको छ। विभिन्न जहाज उत्पादकसँग सहकार्य गर्दै आएका कम्पनीले आफ्ना जनशक्ति हटाएका कारण विश्वव्यापीरुपमै स्पेयर पार्टसको अभाव सिर्जना भएको हो’, महाप्रबन्धक जोशीले भने, ‘अहिले हामीले ६ महिना अगाडि नै आफूलाई आवश्यक पर्ने पार्टपुर्जा अर्डर गर्नुपर्ने अवस्था छ।’
सिम्रिक एयरले हेलिकोप्टरमा प्रयोग हुने वियरिङ अर्डर गरेको ६ महिनापछि मात्र प्राप्त गरेको थियो।
गएको सिजनमा पनि कतिपय हेलिकोप्टर सेवा प्रदायक कम्पनीले यात्रुबाट बुकिङ गरिसकेको अवस्थामा पाटपुर्जा नपाएर आफ्नो व्यापार अरु कम्पनीलाई दिएका थिए। ‘अबको सिजनमा झन अप्ठेरो पर्ने अवस्था छ’, जोशीले भने।
कोभिड अगाडि एयरबस कम्पनीले पार्टपुर्जा स्टकमा राख्थ्यो। आपूर्तिमा कुनै समस्या थिएन। तर अहिले उसँग स्टक छैन। कर्मचारी कटौती गरेका भेण्डरले एयरबसलाई उपलब्ध गराउन नसक्दा विश्वव्यापीरुपमै हेलिकोप्टरका पाटपुर्जाको अभाव हुन पुगेको व्यवसायीहरुले बताएका छन्।
एयर डाइनेष्टीले स्पेयर पार्टस् अभावमा एउटा हेलिकोप्टर मर्मत सम्भार गर्न सकेको छैन। एयर डाइनेष्टीका अपरेसन म्यानेजर बालकृष्ण पण्डितले पार्टपुर्जा नपाएर मर्मत रोकिएको बताए। कम्पनीसँग ४ वटा हेलिकोप्टर छन्।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन प्रकरणपछि कार्गोबाट हुँदै आएको पार्टपुर्जाको आयात प्रकृया लम्बिएको छ। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा पार्टपुर्जाको अभाव हुँदा झन् अप्ठ्यारो सिर्जना भएको छ’, अपरेसन म्यानेजर पण्डितले भने।उनले यसअघि पार्टपुर्जा ल्याउन न्यूनतम चार महिनादेखि १ वर्ष समय लागेको बताए।
कैलाश हेलिकोप्टरले भने आफ्ना तीनवटै हेलिकोप्टरका लागि पाटपुर्जाको जोहो गरिसकेको छ। उसलाई आउँदो सिजनका लागि बुकिङ रद्द गर्नुपर्ला भन्ने चिन्ता छैन।
कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले स्पेयर पार्ट्सको विश्वव्यापीरुपमै समस्या भएपनि कम्पनीले लामो समय लगाएर जोहो गरिसकेको बताए।
‘स्पेयर पार्टस निर्माणमा विभिन्न कम्पनीको आवद्धता हुन्छ। तर कोभिडपछि विभिन्न भेन्डर नै बन्द भएकाले अभावको अवस्था सिर्जना हुन पुग्यो’, पाण्डेले भने, ‘रुस युक्रेन युद्धले मेटल सप्लाइ नै रोकिकाले पनि असर परेको हो। जसका कारण अहिले अर्डर गरेको न्यूनतम छ महिना अगाडि पार्टपुर्जा आयात हुने अवस्था छैन।’
सिम्रिक एयरले सन् २०२४ को मार्चका लागि पार्टपुर्जा अहिले नै अर्डर गरिसकेको छ।
दुईवटा हेलिकोप्टरमार्फत सेवा दिँदै आएको हेलि एभरेष्ट पार्टपुर्जा समयमै नआउने भएका कारण आउँदो सेप्टेम्बरपछि पर्यटकको माग कसरी धान्ने भन्ने चिन्तामा छ। ‘पार्टपुर्जा उत्पादन नै न्यून छ। मर्मत गर्न पठाउँ ५ महिना लाग्छ। नपठाऔं आफूसँग पाटपुर्जा छैन’, कम्पनीका बजार प्रमुख सीताराम सापकोटाले भने, ‘हामीले मगाएको पार्टपुर्जा कहिले आइपुग्छ टुंगै छैन।’
नेपालमा हाल हेलिकोप्टर सेवा प्रदायक ११ कम्पनी सञ्चालनमा छन्। तीसँग ३३ वटा हेलिकोप्टर छन्। तीमध्ये करिब आधा हेलिकोप्टर मर्मत गर्नुपर्ने अवस्थामा रहेको कम्पनीहरुले जनाएका छन्।
मूल्य ६० प्रतिशतले वृद्धि
अभाव चुलिएपछि स्पेयर पार्ट्सको मूल्य विश्वभर बढेको छ। कतिपय सामानको भाउ ५० प्रतिशतसम्म बढेको हेलिकोप्टर कम्पनी सञ्चालकहरुले बताएका छन्। सरकारले भ्याट लागू गरेका कारण नेपालमा ल्याइ पुर्याउँदा मूल्य ६० प्रतिशतभन्दा बढी महँगो परिरहेको छ।
‘कोभिडअघि १ लाख अमेरिकी डलर पर्ने पार्टपुर्जाको मूल्य अहिले विश्व बजारमै डेढ लाख डलर पुगेको छ। यसमा १३ प्रतिशत भ्याट जोड्दा त झन् महँगो हुने भयो’, कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक पाण्डेले भने, ‘त्यही पनि भनेको समयमा पाइँदैन।’
सिम्रिकका महाप्रबन्धक जोशीले नेपालमा ल्याउँदा ७० प्रतिशतसम्म महँगो परिरहेको बताए। मूल्य वृद्धिपछि एउटा वियरिङको मूल्य २७ हजार अमेरिकी डलर पुगेको छ। एउटा हेलिकोप्टरमा तीनवटा वियरिङ प्रयोग हुन्छ।
पार्टपुर्जाको मूल्यवृद्धिको असर भाडामा
एकातिर पाटपुर्जा पाउनै महिनौं कुर्नुपर्ने अवस्था र अर्कातिर चुलिएको मूल्यका कारण हेलिकोप्टर सेवा प्रदायक नेपाली कम्पनीले चार्टर उडानको भाडा बढाएका छन्। वायुसेवा संचालक संघले केही दिनअघि बैठक राखेर भाडा बढाएको हो। यसअघि २५ सय अमेरिकी डलर रहेको काठमाडौं(लुक्ला चार्टर्ड उडानमा दुई सय डलर बढाइएको छ।