काठमाडौं । काठमाडौंसहित देशका विभिन्न स्थानमा भएको ‘जेनजी’ को प्रदर्शन र त्यसपछि उत्पन्न भएको असामान्य परिस्थितिप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले स्तब्ध बनाएको एनआरएनएले जनाएको छ । बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको एनआरएनको भनाइ छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संसारभरिका गैरआवासीय नेपालीको नेपालमा ठूलो लगानी छ ।
एनआरएनएले सधैं गैरआवासीय नेपाली र विदेशीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको छ । प्रदर्शनका क्रममा देशभर ३० भन्दा बढीको दुःखद निधन र एक हजारभन्दा बढी घाइते भएका समाचारले विश्वभरका नेपाली समुदायलाई मर्माहत बनाएको छ । दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
एनआरएनएले युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्वबोधलाई सकारात्मक रूपमा ग्रहण गर्ने उल्लेख गर्दै उहाँले मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशीघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकार हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत् यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न पनि आग्रह गर्नुभएको छ । संकटको घडीमा मुलुकमा स्थायित्व र सामान्य स्थिति कायम गर्न राज्यका सबै निकायको सकारात्मक र सक्रिय भूमिका आवश्यक हुने भन्दै एनआरएनए सम्बद्ध सबैलाई यथाशक्य योगदान दिन आग्रह गर्दै आफूले पनि मुलुकको समग्र पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संकटको घडीमा विश्वभर रहेका सबै गैरआवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्वबोधसहित एकबद्ध भई अघि बढ्न एनआरएनएले आह्वान गरेको छ । साथै २०२५ को अक्टोबर ११(१४ का लागि तय गरिएको एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी छ महिनाभित्र गर्ने गरी स्थगित गरेको छ ।
त्यसैगरी मुलुकमा विकसित राजनीतिक घटनाक्रमबारे नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायीबीच जुम मिटिङ आयोजना गरेको छ । महासंघले सबै व्यवसायीहरूलाई उच्च मनोबल राख्न, उद्योग व्यवसाय निरन्तर चलाउन र रोजगारी दिन, शान्तिसुरक्षा र अमनचयन कायम राख्न सहयोग गर्न, घाइते र पीडितको साथमा उभिन आग्रह गर्ने निर्णय गरेको छ । १० वर्षे माओवादी द्वन्द्व, तराई आन्दोलन, २०६२/६३ को जनआन्दोलन झेल्दै व्यवसायलाई निरन्तरता दिँदै आएको निजी क्षेत्रले रोजगारी सिर्जना र लगानी प्रवद्र्धनका लागि शान्ति, सुरक्षा र व्यक्तिगत जीउधनको सुरक्षा पहिलो शर्त भएको बताउँदै आएको छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीँ कतैबाट पनि सिर्जना नहोस् भन्दै निजी क्षेत्रका छाता संगठनहरूले सरकार र आन्दोलनरत पक्षलाई वार्ता र छलफलबाट निकास खोज्न अपिलसमेत गरेका छन् ।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएकोमा चिन्ता व्यक्त गरेको छ । चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ । भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता जेनजीले उठाएका विषय सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले औंल्याएको छ ।
आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवालाई संवाद र रचनात्मक सहकार्यमार्फत् दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै चेम्बरले मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरेको छ ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पनि जेनजी आन्दोलनका क्रममा भएको राष्ट्रिय सम्पत्ति र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले युवापुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति सुरक्षा, नागरिकको सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भ्रष्टाचारमुक्त प्रणाली, लगानी र रोजगारी प्रवद्र्धन तथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माणमार्फत् समुन्नत समाज बनाउन सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वानसमेत गरेको छ ।
संघद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संघ देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानमा सहकार्य गर्न प्रतिबद्ध रहेको छ । नेपाली सेनाको नेतृत्व र संयोजनमा अघि बढ्ने सम्पूर्ण समन्वयात्मक कार्यमा सहयोग गर्न र मुलुकलाई अर्थ–सामाजिक संकटबाट बाहिर निकाल्दै व्यवस्थित र दिगो आर्थिक विकासतर्फ अघि बढाउन संघ दृढ प्रतिबद्ध छ । यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै देशको अर्थतन्त्र पुनः गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्न हामी प्रतिबद्ध छौं ।’