काठमाडौं । बाढीपहिरोले पूर्वी पहाडी जिल्लाका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार १९ असोजसम्मको प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालित १०५.४ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना बाढीका कारण उत्पादन बन्द भएका छन् ।
त्यस्तै, ९३ मेगावाट क्षमताका पाँच निर्माणाधीन आयोजना पनि क्षतिग्रस्त भएका छन् । इप्पानका अनुसार प्रभावित आयोजना मुख्यतः पूर्वी पहाडी जिल्लाहरू इलाम, पाँचथर र सिन्धुपाल्चोकमा रहेका छन् । तीमध्ये इलाममा मात्रै ११ वटा सञ्चालनमा रहेका आयोजना पूर्ण रूपमा बन्द भएका छन् ।
विद्युत् आयोजनाहरू बन्द भए पनि विद्युत् आपूर्तिमा ठुलो समस्या नआउने ऊर्जामन्त्री कुलमान घिसिङले बताए । उनले भने, ‘अहिले हाम्रो विद्युत् आपूर्तिमा केही ठाउँमा समस्या आएको छ । कतै डुबानका कारण वितरण अवरुद्ध भएको छ भने कतै पोल ढलेका छन् । त्यसले केही क्षेत्रमा सेवा प्रभावित गरेको हो, तर ठुलो समस्या छैन ।’ आइतबार बिहानैदेखि प्राविधिक टोलीहरू मर्मतकार्यमा परिचालित भइरहेको उनले बताए । केही टावरहरूमा क्षति पुगेको भए पनि त्यसले ठुलो अवरोध सिर्जना नगरेको उनले स्पष्ट पारे । ‘मुख्य समस्या केही स्थानमा पोल ढलेका कारण भएको हो । ती सबै ठाउँमा आजभित्र ९आइतबार० मर्मतकार्य सम्पन्न गर्ने योजना छ,’ घिसिङले भने ।
उनका अनुसार अहिले नेपालको विद्युत् उत्पादन क्षमता करिब चार हजार मेगावाट पुगेको छ । यसमा करिब एक हजार दुई सयदेखि एक हजार तीन सय मेगावाट निर्यात गर्न सकिने अवस्था छ । ‘धेरैजसो पावर प्लान्ट सञ्चालनमा छन् । केहीमा साना समस्या आएका भए पनि ती अस्थायी हुन् । दैनिक लोडसेडिङ हुने अवस्था छैन,’ उनले स्पष्ट पारे । घिसिङले हालको खपत पनि तुलनात्मक रूपमा कम भएकाले आपूर्तिमा ठुलो असर नपर्ने बताए । ‘कतिपय स्थानमा मौसम र लाइन मर्मतका कारण आपूर्ति आउजाउ हुन सक्छ, तर त्यो सामान्य प्रक्रिया हो,’ उनले भने ।

मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले क्षति भएका पोल र लाइनको पहिचान गरेर शीघ्र रूपमा मर्मतकार्य अघि बढाइरहेको उनले जनाए । उनका अनुसार तीव्र रूपमा सबै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा पुनस्र्थापित गरिने योजना छ ।
०८२ असोज १९ गते दुई बजेसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानलाई प्राप्त प्रारम्भिक तथ्यांकअनुसार हालसम्म सञ्चालनमा रहेका १०५।४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द छ भने निर्माणाधीन अवस्थाका ९३ मेगावाटका पाँच आयोजनामा बाढीले क्षति पुर्याएको छ।
सञ्चालनमा रहेका आयोजनामध्ये माईखोला, माईखोला क्यासकेड, माईखोला, सुपरमाई, सुपरमाई ए, जोगमाई, तल्लो जोगमाई, माइबेनी र माथिल्लो माईखोलालगायतका आयोजना बाढीपहिरो र संरचनागत क्षतिका कारण रोकिएका छन् । यी आयोजनामा हेडवक्र्स, पावरहाउस, प्रसारणलाइन, सबस्टेसन, टेलरेस र इन्टेकजस्ता संरचनाहरूमा ठुलो क्षति पुगेको इप्पानले जनाएको छ । हिमाल दोलखा हाइड्रोपावरद्वारा सञ्चालित माईखोला र माईखोला क्यासकेड, सानिमा माई हाइड्रोपावरको माईखोला, सुपरमाई हाइड्रोपावर कम्पनीको सुपरमाई, सगरमाथा जलविद्युत् कम्पनीको सुपरमाई ए, सानभी इनर्जीको जोगमाई र तल्लो जोगमाई, सामलिङ पावर कम्पनीको माइबेनी, पञ्चकन्या माई हाइड्रोपावरको माथिल्लो माईखोला र माईभ्याली हाइड्रोपावरको माई सी क्यासकेडजस्ता आयोजना अहिले पूर्ण रूपमा बन्द छन् ।
त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँच आयोजनामध्ये पाँचथरको सभाखोला बी र हेवाँखोला, इलामको सिद्धिखोला र सिन्धुपाल्चोकका ब्रह्मायणी तथा अपर ब्रह्मायणी हाइड्रोपावर बाढीले क्षतिग्रस्त भएका छन् । यी आयोजनामा एक्सेस रोड, हेडवक्र्स, पावरहाउस, निर्माण क्याम्प र सामग्री बगाएको इप्पानले जनाएको छ ।
इप्पानका अनुसार ती आयोजनामा क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ । निरन्तर वर्षाका कारण सडक तथा विद्युत् प्रसारण पूर्वाधारसमेत क्षतिग्रस्त भएकाले मर्मत र पुनः सञ्चालनमा केही समय लाग्ने अनुमान गरिएको छ । ऊर्जा उत्पादनमा आएको अवरोधले राष्ट्रिय ग्रिडमा आपूर्ति हुने विद्युत् परिमाण घट्ने र यसले आगामी दिनमा लोड म्यानेजमेन्टमा असर पार्न सक्ने इप्पानले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२ ०८:३२