काठमाडौं । दसैँमा हुने यात्रुको चापलाई लक्षित गर्दै सोमबारदेखि सार्वजनिक यातायातको अग्रिम टिकट खुला गरिएको छ ।
बुकिङ खुला भएसँगै बसपार्कमा अग्रिम टिकट काट्ने सर्वसाधारणको उच्च भिड छ । तर, व्यवस्थापन गर्न नसक्दा घन्टौँ लाइनमा बसेर पनि टिकट पाउन नसकेको सर्वसाधारण बताउँछन् । बुकिङ खुला गरेको पहिलो दुई दिन (सोमबार र मंगलबार) नै अधिकांश यात्रुले टिकट पाउन नसके पनि ५ कात्तिकसम्मका लागि बुक भइसकेका छन् । व्यवसायीहरूले पहुँचवालाका लागि सिट कब्जा गर्दा पनि सर्वसाधारणहरू मर्कामा परेका हुन् ।
यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्न बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काउन्टर खुला गर्ने बताएका छन् । तर, सर्वसाधारणहरू टिकट काट्न अघिल्लो दिन रातिदेखि नै लाइनमा बस्न बाध्य छन् । राति ९ बजेदेखि नै टिकट बुकिङका लागि बसपार्कमा लाइन बस्दा भोलिपल्ट पालो आएपछि पनि टिकट पाउन सकेका छैनन् ।
धनगढीका सन्दीप सिंह सोमबार राति ११ बजे नै अग्रिम टिकट बुकिङका लागि बसपार्क गएर लाइनमा बसेका थिए । यसैगरी, बझाङका धनराज भारती मंगलबार बिहान ३ बजे नै बसपार्क पुगेका थिए । तर, मंगलबार साँझ ५ बजेपछि मात्रै आफ्नो पालो आएर उनीहरूले टिकट पाए । यातायात व्यवसायीहरूले अनलाइन बुकिङलाई बेवास्ता गरेका कारण टिकट पाउन १५ घन्टाभन्दा बढी लाइनमा बस्न बाध्य भएको उनीहरूको गुनासो छ ।
मंगलबार राति १० बजे बसपार्कमा भेटिए बझाङका ज्योतिप्रकाश ओली । उनी दसैँमा घर फर्कन बुधबार टिकट पाउने झिनो आशा व्यक्त गर्दै भने, ‘आज रातिभरि लाइन लाग्ने हो, भोलि कसो टिकट नपाइएला रु’ अग्रिम टिकट बुकिङका लागि अधिकांश यात्रु अघिल्लो दिनै रातिको खाना खाएर ९ बजेदेखि बसपार्कमा लाइन बस्ने गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका शाखा प्रमुख डिल्लीराज भुसालले स्वीकार गरे ।
विश्वमै प्रविधिले ठूलो फड्को मारिरहेको समयमा नेपालका पनि धेरै क्षेत्रमा प्रविधिको विकास द्रुत भइरहेको छ । हवाई क्षेत्र, मुभीको टिकट, बिजुली, खानेपानीलगायतका धेरै लाइन बसेर भुक्तानी गर्नुपर्ने स्थान अनलाइनको प्रयोगले निकै सहज र समयको बचत गराइदिएको छ ।
तर, सार्वजनिक यातायात पूर्ण डिजिटल प्रविधिमा नजाँदा हजारौँ यात्रु रात र दिन गरेर घन्टौँसम्म लाइनमा बस्न बाध्य छन् । प्रविधिको जमनामा समेत लाइनमा बसेर टिकट काट्नुपर्ने अवस्था आउनु लजास्पद रहेको टीकापुरका कमल साउद बताउँछन् । उनले भने, ‘दसैँका वेला यात्रुको चाप हुनु स्वाभाविक हो । तर, त्यसलाई व्यवस्थापन गर्न उचित प्रणाली बनाउन नसक्दा सबैले दुःख पाउनुपरेको छ ।’ यद्यपि, केही कम्पनीहरूले अनलाइन टिकट बुकिङ पनि खुलाएका छन् । अनलाइनमार्फत खुलेका अधिकांश टिकट बिक्री भइरहेका छन् । तर, यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकेको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए ।
पश्चिम नेपाल यातायात प्रालिका शाखा प्रमुख भुसालले पनि आफ्नो सेवालाई पूर्ण रूपमा डिजिटलाइज गर्न नसकेको बताए । ‘हामीले आंशिक रूपमा अनलाइनमार्फत टिकट बुकिङ सुविधा पनि राखेका छौँ । त्यस्तो टिकट बिक्री भइरहेको छ,’ उनले भने, ‘तर, यो क्षेत्रमा अधिकांश पुराना पुस्ता छन्, जो अझै प्रविधिमा अभ्यस्त भइसकेका छैनन् । साथै, सबै यात्रु अनलाइनकै पहुँचमा हुन्छन् भन्ने पनि होइन । त्यसले पनि पूर्ण रूपमा अनलाइनमा जान सकिएको छैन । यसका लागि अझै केही वर्ष लाग्छ ।’
अर्को वर्षदेखि पूर्ण अनलाइनः महासंघ
राष्ट्रिय यातायात व्यवसायी महासंघले अर्को वर्षदेखि पूर्ण रूपमा अनलाइन टिकेटिङको सुविधा सुरु गर्ने दाबी गरेको छ । महासंघको नेतृत्वमा अहिले ‘मेरो यात्रा’ नामक सफ्टवेयर ९एप० बनाउने काम भइरहेको महासंघका अध्यक्ष स्वाँरले बताए । त्यो तयार भएपछि सार्वजनिक यातायातलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्न सकिने उनको भनाइ छ । ‘त्यसमा महासंघअन्तर्गतका गाडीको विवरण, उनीहरूको लोकेसन ९जिपिएस०लगायत विवरण हुन्छ,’ उनले भने, ‘त्यसबाटै सार्वजनिक यातायातको टिकट काट्ने सुविधा हुन्छ ।’ अनलाइन टिकेटिङमा भुक्तानीलाई सहज बनाउन प्रभु पेसँग समझदारीसमेत गरिसकेको महासंघको भनाइ छ ।
यसकारण बढ्यो चाप
दसैँमा काठमाडौंबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश जाने यात्रुहरूको चाप उच्च देखिएको छ । अग्रिम टिकट बुकिङ गर्न गोंगबु बसपार्कमा पनि सोही प्रदेशका यात्रुहरूको भिड बढी छ । यसपालि सुदूरपश्चिम प्रदेशलगायतका निकायले विभिन्न पदमा कर्मचारी माग गर्दै लोकसेवा आयोगमार्फत विज्ञापन निकालेको छ । सोही कारण पनि उक्त प्रदेशहरूबाट थुपै्र व्यक्तिहरू लोकसेवाको तयारी गर्न काठमाडौं आएका छन् ।
उनीहरू फर्कंदा पनि यात्रुहरूलाई टिकट पाउन मुस्किल भएको महासंंघका अध्यक्ष स्वाँरले बताए । दसैँ मनाउन काठमाडौंबाट १८ लाख हाराहारीमा यात्रु बाहिरिने व्यवसायीहरू बताउँछन् । अधिकांशले सार्वजनिक यातायात प्रयोग गर्ने हुँदा चाप हुनु स्वाभाविक हो । तर, यसपालि यात्रुको चाप अस्वाभाविक बढेको महासंघका अध्यक्ष स्वाँरले बताए ।
अहिले लोकसेवाको तयारी गर्न आउने, स्थानीय तहका कर्मचारीहरूको आन्दोलनलगायतका कारण काठमाडौंमा बाहिरी जिल्लाका व्यक्तिको चाप थप बढेको छ । उनीहरू पनि दसैँ मनाउन घर जाने तयारीमा छन् । यसैगरी, यसपालि गोंगबु बसपार्कदेखि मात्रै लामो दूरीका गाडी छुट्न पाउने नीति छ । अहिले वर्षपार्कबाट मात्रै अग्रिम टिकट काट्न सकिन्छ । त्यसले गर्दा पनि भिडभाड बढेको स्वाँरको भनाइ छ ।
गाडी थप गर्ने तयारी
अस्वाभाविक रूपमा यात्रुको संख्या बढी हुने देखिएपछि महासंघे गाडी थप्ने तयारी गरेको छ । महासंघका अध्यक्ष स्वाँरले वैकल्पिक माध्यमबाट गाडी थप्ने बताए । ‘हामीले यो स्तरमा यात्रुको संख्या बढ्छजस्तो लागेकै थिएन । त्यसैले टिकट पाउन गाह्रो भएको हो । यद्यपि, यसमा हाम्रो ध्यान गएको छ । यात्रुको संख्या कम हुने रुटको सवारीसाधन ल्याएर, नयाँ गाडी थपेरलगायतका माध्यमबाट मागअनुसार गाडी व्यवस्थापन गर्छौँ,’ उनले भने, ‘आशा छ, ढिलै भए पनि यात्रुहरूले टिकट पाउनेछन् । उनीहरूलाई दसैँमा गन्तव्यसम्म पुर्याउने विषयमा हामी प्रतिबद्ध छौँ ।’
२६ गतेबाटै रुट परमिट खुला
यात्रुको चाप उच्च देखिएपछि सरकारले असोज २६ गतेबाटै सार्वजनिक यातायातको रुट परमिट खुला गर्ने निर्णय गरेको छ । व्यवसायी, यातायात व्यवस्था विभागलगायतका निकायबीच मंगलबार भएको बैठकले यस्तो निर्णय गरेको हो । योसँगै २६ असोजदेखि सार्वजनिक गाडीहरू जुनसुकै रुट ९ठाउँ०मा पनि गुड्न पाउनेछन् ।