काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी छोडेर गएका नेताहरूलाई पुनः पार्टीमा फर्कन आह्वान गर्दै ‘घर फर्किन कुनै अनुमति आवश्यक नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पोखरेलले पार्टीको नीति र नेतृत्वमाथि विवाद गर्ने र पार्टीमा भाँडभैलो मच्चाउने सोचले भने नआउन स्पष्ट पार्नु भएको छ । ‘नेकपा एमालेबाट अलग भएकाहरूको सन्दर्भमा केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गरेका छौँ आफ्नो घर फर्कनका लागि कुनै एकता गरिरहनु पर्दैन, घरका सन्तानहरू कोही बाहिर गएपछि घर आउँछु भन्दा अनुमति लिनुपर्छ र ?’, उहाँले भन्नुभयो ।
पार्टीमा फर्कनेहरूलाई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने पनि उहाँले बताउनुभयो । ‘तर, सर्त एउटै छ – नीति र नेतृत्वका प्रश्नमा सहमति गरेर आउनुस्, बहस विवाद गर्न आउने कुरामा पार्टी सहमत हुन सक्दैन,’ पोखरेलले भन्नुभयो ।
पोखरेलले पार्टीभित्र पुनर्मिलनका लागि वातावरण बनाइएको बताउँदै उहाँले यी दुईवटा प्रश्नमा सहमत हुने जो कोहीका लागि नेकपा एमालेको ढोका सधैँ खुल्ला रहने स्पष्ट पार्नुभयो ।
उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे समेत टिप्पणी गर्दै उहाँ साझा व्यक्ति भएकाले अहिले पनि सोही भूमिकामा रहनु राम्रो हुने बताउनुभयो। राजनीतिमा आउने हो भने उहाँले पार्टीलाई कनभिन्स गराउन सक्नु पर्ने पोखरेलको धारणा छ । ‘विद्यादेवी भण्डारीले राजनीतिमा सक्रिय हुने चाहना राख्नुभयो भने त्यसबारेमा पार्टीले थप निर्णय गर्नेछ,’ पोखरेलले स्पष्ट पार्नुभयो ।
एमालेभित्र पछिल्लो समय ‘एकता र पुनर्मिलन’ को बहस तीव्र बन्दै गएको छ । केही समयदेखि एमालेले पार्टी फुटाएर अलग भएका नेताहरूलाई ‘घर फर्कने अभियान’ मार्फत पुनः पार्टीभित्र ल्याउने प्रयास गर्दै आएको छ । सो सन्दर्भमा उहाँले सबैलाई पार्टीमा फर्कन र जनताको बहुदलीय जनवादलाई स्वीकार गरेर अन्य पार्टीमा रहेकालाई पनि नेकपा एमाले आउन आग्रह गर्नुभयो ।
नेतृत्वमा आउन चाहनेलाई पोखरेलले पार्टीको महाधिवेशन आयकोले त्यहाँ प्रतिस्पर्धा गरेर स्थापित हुन पनि आग्रह गर्नुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२ १६:५७