काठमाडौं । उत्तरको छिमेकी मुलुक चीनको कम्युनिस्टा पार्टी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का अध्यक्ष माओत्सेतुङको नामबाट पार्टीको नाम राखेको माओवादीले अन्ततः नाम र काम (माओवाद सिद्धान्त) छाडेको छ ।
माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्ग निर्देशक सिद्धान्त मान्दै आएको उसले फेरि माओवाद पनि छाडेको छ । योसँगै माओवादीमा फेरि फुट देखिएको छ ।
सशस्त्र संघर्षमार्फत ‘गाउँदेखि सहर कब्जा गर्ने’ नीति लिई उसले नेकपा एकता केन्द्रबाट २०५१ फागुनमा माओवादी नाम राखेको थियो । पुष्पकमल दाहालको नेतृत्वमा रहेको नेकपा एकता केन्द्रको तेस्रो विस्तारित बैठकले ‘नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशा निर्माण गरी पार्टीको नाम माओवादी राखिएको थियो ।
माओवादीको नामबाट १० वर्षे सशस्त्र युद्ध गरेको उसले २०७५ जेठमा एमालेसँग एकता गर्दा पहिलो पटक र पछिल्लो पटक नेकपा एसलगायत साना कम्युनिस्ट दलसँग एकता गर्दा नाम र माओवाद छाडेको हो ।
माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी, जनसमाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी) चिरन पुन, नेकपा (माओवादी समाजवादी (कर्णजीत), नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) बीच एकता सहमतिपत्रमा शनिबार हस्ताक्षर भयो । माओवादी छाडेर कम्युनिस्ट अभियान सुरु गरेका गोपाल किराती पनि माओवादीमा फर्केका छन् । एकीकृत पार्टीको नाम नेकपा समाजवादी वा नेपाली कम्युनिस्ट र चुनाव चिह्न तारा रहने नेताहरूले बताएका छन् ।
पछिल्लो एकता प्रक्रियाप्रति असमति जनाउँदै माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्मा र राम कार्कीले अर्को अभियान सुरु गरेका छन् । योसँगै माओवादी जुट्यो अनि फुट्यो पनि । माओवादीबाट अलग भएका मोहन वैद्य, सीपी गजुरेलको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेक्रवित्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी छुट्टै अस्तित्वमा छन् । नेकपाको माओवादीसँग एकताका लागि वार्ता भए पनि सफल हुन सकेन । बरु नेकपाका नेताहरू चिरन पुन र कर्णजित बुढा नेकपा छाडेर माओवादीमा मिसिएका छन् ।
सशस्त्र संघर्षको दस वर्षको अवधिमा पार्टीभित्र अन्तरसंघर्ष चर्किए पनि पार्टी टुटफुट भएन । सशस्त्र संघर्षका बेला तत्कालीन अध्यक्ष दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई, रामबहादुर थापाबीच अन्तरसंघर्ष भए पनि पार्टी एकढिक्का हुँदै २०६३ मा प्रतिस्पर्धात्मक राजीतिमा आयो । संविधानसभामार्फत संविधान निर्माण र माओवादी ‘जनसेना समायोजन’ अघि बढेपछि तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको नेतृत्वमा माओवादी पहिलो पटक विभाजन भएको थियो ।
२०४५ सालदेखि दाहालको नेतृत्वमा रहेको पार्टी औपचारिक रूपमा २०६९ असारमा विभाजन भएको थियो । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले संस्थापनको संविधान निर्माण र शान्ति प्रक्रियाप्रति असमति जनविद्रोहको नीति लिँदै क्रान्तिकारी माओवादी गठन गरेका थिए । हाल वैद्यले महासचिव छाडेर वरिष्ठ नेता सीपी गजुरेललाई नेतृत्व सुम्पेका छन् । माओवादीमा आएको यो नै सबैभन्दा ठूलो विभाजन थियो ।
शान्ति प्रक्रियामा आएपछि २०५१ मा छुटेर गएको नेकपा एकता केन्द्र माओवादीमा मिसियो । तत्कालीन महासचिव निर्मल लामाको नेतृत्वमा नेकपा एकता केन्द्र विभाजन भएको थियो भने पुष्पकमल दाहाल नेतृत्वमा माओवादी गठन भयो ।
२०५१ असारमा नेकपा (एकता केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामा समूह अलग भएको थियो । माओवादी सशस्त्र संघर्ष सुरु गर्ने नीतिप्रति असमति जनाउँदै एकता केन्द्र शान्तिपूर्ण बाटोमा अघि बढ्यो ।दसवर्षे सशस्त्र संघर्ष बिसाएपछि माओवादी र नेकपा एकता केन्द्र मसालबीच एकता सम्भव भयो ।
२०६५ पुसमा नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको नेकपा (एकता केन्द्र मसाल) बीच पार्टी एकता भएको थियो । त्यसबेला पार्टीको नाम एकीकृत नेकपा (माओवादी) र नेकपा एमालेबीच २०७५ जेठमा एकता भएपछि माओवादीले नाम र माओवाद छाडेको थियो । तर सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपाको मुद्दामा एमाले र माओवादी अलग गरेपछि माओवादी पुरानै पथमा फर्किएको थियो ।
२०६९ मा मूल माओवादीबाट वैद्यतिर लागेका नेताहरू रामबहादुर थापा, देव गुरुङ, पम्फा भुसालले २०७३ जेठमा माओवादीमै फर्केपछि नेकपा ९माओवादी केन्द्र० राख्ने निर्णय भएको थियो । थापाले २०७३ जेठमा क्रान्तिकारी माओवादी फुटाएर माओवादीको मूल धार समातेका थिए ।
वैद्य माओवादीले जनविद्रोहको नीति कार्यान्वयन हुन नसकेपछि चन्द ०७१ मंसिरमा पार्टी विभाजन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए ।
सशस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिमा आएको र २०६४ सालमा सबभन्दा ठूलो दल बनेको माओवादी अनेकौं टुटफुटपछि गएको आम निर्वाचनमा तेस्रो दलमा खुम्चिएको थियो । माओवादी केन्द्रमा दाहाल अध्यक्ष, क्रान्तिकारी कम्युनिस्ट पार्टीमा वैद्य महासचिव, नेपाल कम्युनिस्ट पार्टीमा नेक्रविक्रम चन्द महासचिव छन् । त्यस्तै माओवादी आन्दोलनकै प्रभावशाली नेता बाबुराम भट्टराई नयाँ शक्ति, जसपा हुँदै नेसपा (नयाँ शक्ति) मा आइपुगेका छन् । यद्यपि उनले पछिल्लो समय नेतृत्व भने दुर्गा सोबलाई हस्तान्तरण गरेका छन् ।
माओवादी आन्दोलनबाटै आएकाहरू पनि स(साना गुट र उपगुटमा सीमित छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मा धर्मेन्द्र बास्तोला महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमा आहुति महासचिव, आम जनता पार्टीमा प्रभु साह अध्यक्ष छन् । माओवादी कम्युनिस्ट पार्टीमा रामनारायण पाल महासचिव छन् । माओवादीका नाममा अरु दल पनि निर्वाचन आयोगमा दर्ता छन् ।
संविधान जारी भएपछि २०७२ असोज ९ मा भट्टराईले माओवादी त्याग गरी पार्टी छाडेका थिए । माओवादीमा दोस्रो नेताका रूपमा रहेका भट्टराई दाहालसँग लामो संघर्षपछि ०६८ असोजमा प्रधानमन्त्री बनेका थिए ।
माओवादी निर्माणको पृष्ठभूमि सशस्त्र युद्धकै तयारीसँग जोडिएको छ । २०४८ मंसिर ४ मा नेकपा (एकता केन्द्र) को एकता महाधिवेशनले दाहालको प्रस्तावमा मार्गनिर्देशक सिद्धान्त माओवाद र दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गरेको थियो । त्यही महाधिवेशनले दाहाललाई महामन्त्रीमा निर्वाचित गरेको थियो ।
२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको नामबाट भाग लिई उसले प्रतिनिधिसभामा ९ र राष्ट्रिय सभामा २ सिट जितेको थियो । शान्ति प्रक्रियामा आएपछि २०६४ को संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बन्न सफल भएको थियो । अनेकौं टुटफुटपछि पछिल्लो पटक नेकपा एकीकृत समाजवादी र माओवादीबाटै अलग भएका साना कम्युनिस्ट पार्टीसँग माओवादीले एकता गरी नाम परिवर्तन गर्ने भएको छ ।
यस्ता छन्ः फुटका श्रृंखला
२०५१ असार ; निर्मल लामा नेतृत्वको एकता केन्द्र फुटेर माओवादी जन्मियो
२०६९ असार ; मोहन वेद्य, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्दलगायतका नेताहरूले माओवादी छाडेर क्रान्तिकारी माओवादी पार्टी गठन गरे
२०८२ कात्तिक mजनार्दन शर्मा र राम कार्कीलगायतको ुप्रगतिशील अभियानु
एकता
२०६५ पुसः एकता केन्द्र (मसाल) सँग एकता
२०७३ जेठः एकीकृत नेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी (बादल समूह) लगायतका दल एकता भई माओवादी केन्द्र
२०७५ जेठः एमाले(माओवादी एकता भई नेकपा
२०८२ कात्तिकः नेकपा एसलगायतका दलहरूसँग एकताको निर्णय
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२ २२:१७