पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफूविरुद्ध अनर्गल प्रचार गरेको बताउनुभएको छ ।
सोमबार एमाले गण्डकी प्रदेश कमिटीको विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बरु शिर काटियोस् तर आफ्नो शिर त्यस्तासँग नझुक्ने बताउनुभयो ।
‘भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन’,उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले देशमा राजनीतिक रूपमै डकैती भइरहेको बताउनुभयो । भन्सार र एयरपोर्टबाट कर छलेर तस्करी भइरहेको र सरकारले कारबाही गर्न नसकेको उहाँले बताउनुभयो । ‘भन्सारमा कर उठ्दैन, तस्करी मात्रै हुन्छ । एयरपोर्टबाट क्विन्टल सुन बरामद भयो, ६० किलोमा झर्यो’ अघि भने, ‘डकैती भइरहेको छ देशमा । साढे ९ केजी सुन बरामद भएको थियो, अहिले २ किलो होला । त्यहीँबाट खाए, सिद्ध्याए ।’
उहाँले एमालेलाई बदनाम गराउन आफूमाथि अनर्गल प्रचार गरेको बताउनुभयो । ‘कहिले कम्बोडियामा लगानी गरेको भन्छन् । कहिले ठाउँ ठाउँमा जग्गा र महल छ भन्छन्,’ उनले भने, ‘यो सबै एमाले सिध्याउन गरिएको दुष्प्रचार हो । कम्बोडियामा मैले टेलिकममा लगानी गरेको रहेछु भने पत्ता लगाउनुस्, १ हजार थपेर तपाईँलाई नै दिन्छु ।’
उहाँले आफ्नो कार्यकालमा नेपालको उल्लेखनीय प्रगति भएको बताउनुहुँदै अहिले देशको अवस्था डामाडोल भएको बताउनुभयो । ‘मेरो कार्यकालमा दक्षिण एसियाको उदीयमान अर्थतन्त्र भएको देश भनेर नेपालको प्रशंसा गरिएको थियो । विश्वमा तीव्र विकास गर्ने १० देश मध्ये एक हो भनेर प्रचार भएको थियो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले नेपाल दक्षिण एसियाको सबैभन्दा गरिब राष्ट्र बनेको छ । यो गठबन्धनको उपलब्धि हो ।’