दाङ । नेपका (एमाले) महासचिव शंकर पोखरेलले काठमाडौं महानगर पालिकाको मेयर हुँदा ग्रेटर नेपालको नक्शा कार्यालयमा टाँसेर आफूलाई राष्ट्रियताका पक्षमा प्रस्तुत गरेका प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले भारत भ्रमणको समयमा चुप लागेको आरोप लागएका छन् ।
प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले देशको कार्यकारी प्रमुखका हैसियतले दक्षिणको छिमेकी मुलुक भारतको दुई दिने भ्रमणका क्रममा सीमा क्षेत्रको विषयमा ठोस कुरा नहुनुले उहाँ (वालेन)को नक्कली राष्ट्रवाद उदांगो भएको बताए ।
‘ग्रेटर नेपालको नक्सा मेयर हुँदा कार्यालयमा टाँसेर बस्ने वालेनले प्रधानमन्त्री भएको वेला भारतको औपचारिक भ्रमणका क्रममा कम्तीमा मिचिएका सिमाका बारेमा छलफलको एजेण्डा बनाउनु हुन्छ भन्ने नेपालीहरुको ठूलो अपेक्षा थियो । त्यो पुरा हुन सकेन,’ महासचिव पोखरेलले भने, ‘नेपालजस्तो देशका लागि गुमेको भूभाग फिर्ता ल्याउने विषय असंभव नैं हो तर सीमाना जोडिएका देशका कार्यकारी प्रमुख बीचको औपचारिक भेटका क्रममा त्यस विषयलाई भावनात्मक रुपमा खेल्ने कोशिस पनि नगर्नु ठूलो आश्चर्यजनक विषय हो ।’
पुर्वतिरबाट पश्चिम तिरबाट हवाई मार्ग हुदै जान पाउने आउन नपाएका हामी नेपालीका लागि पश्चिम तिरको एयर रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि यसको कार्यान्वयन पक्षलाई कुर्नुपर्ने बताएका पोपरेलले नेपाल–भारत बीचको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसक्नुले प्रधानमन्त्रीको भ्रमणलाई सफल भएको मान्न नसकिने तर्फ संकेत गरे ।
पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराएका पोखरेलले पञ्चायतमा भएको सहमती कार्यान्वयनमा नआएको दावी गर्दै थपे, ‘प्रधानमन्त्रीले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रवेश गर्न सकेनन् । भ्रमणमा नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेत समेट्न नसक्नुले वर्तमान सरकार जनजीविकाका सवालप्रति अनुदार छ भन्ने पुष्टी मात्रै हुदैन् । नेपालमा भारतबाट आउने उत्पादनले प्राथमिकता पावस्, तर आफ्नो उत्पादन भारतमा पुर्याउने कुरामा ध्यान नजावस् भन्नेमा ढुक्क देखिन्छ ।’
रास्वपा पुरानो भ्रमबाट मुक्त भयो
म्हासचिव पोखरेलले विदेशी ऋणका विषयमा चर्को बिरोध गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले उक्त भ्रमबाट मुक्त भएको बताए ।
नेपालको विकासका लागि वैदेशीक ऋण आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताएका पोखरेलले देश चलाउनु बाहिर बसेर बिरोध गरे जस्तो नहुने बताए ।
‘विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि अहिले रास्वपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारले नै गरेको छ । विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्री जिले नै स्वीकार गर्नुभएको छ । भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ । रास्वपालाई आप्mनो पुरानो भ्रमबाट मुक्त भएको यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ ?’ पोखरेलले प्रश्न गरे ।
भारतको एक्जिम बैङ्कबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसबाट सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनको व्यवहारिक कठिनाइसमेत पुष्टि गरेको भनाइ उनको थियो ।
सरकारका व्यवहारले स्थानीय तहको निर्वाचन बारे अन्योल
एमाले महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिका कारण निर्धारित समय भित्र स्थानीय तहको निर्वाचन हुदैन की भन्ने विषयमा अन्योल सिर्जना गरेको बताए ।
स्थानीय तह र प्रदेश सभाको निर्वाचन एक पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने अन्यौलतामा सरकार रुमलिएको बताएका पोखरेलले स्थानीय तहलाई कमजोर बनाउने दिशामा अघि बढेको सरकारले कतै स्थानीय तह र प्रदेशको निर्वाचनबाट पछि त हट्दैन भन्ने प्रश्न नागरिकमा उब्जीएको टिप्पणी गरे ।
एमाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारेका उनले थपे, ‘स्थानीय तहको म्याद वैशाखमा सकिने र प्रदेश सभाको समय अर्को वर्ष मंसिरसम्म रहेकोले दुवै निर्वाचन एकै साथ हुन सक्छ । स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाउने कुरा किमार्थ मान्य हुँदैन । स्थानीय तह र प्रदेशको निर्वाचन लोकतन्त्रको सुदृढीकरणमा अति महत्वपूर्ण छ ।’
स्थानीय तह र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय सभाको गठन तथा राष्ट्रपतिको निर्वाचन प्रक्रियासँग समेत सम्बन्ध राख्ने भएकाले निर्वाचन समयमा हुन नसके लोकतान्त्रिक प्रक्रियामै असर पर्न सक्ने भनाई उनको थियो ।
सुशासन र विकासमा सरकार कमजोर
महासचिव पोखरेलले वर्तमान सरकार गठन हुँदा नागरिकले सुशासन र विकासको अपेक्षासहित मतदान गरेको भए पनि ती अपेक्षा पूरा हुन नसकेको बताए ।
सरकारले विगतमा ‘नो लाइन’को नारा दिए पनि अहिले सरकारी सेवा प्रवाहमा झन् अव्यवस्था देखिएको टिप्पणी गरेका पोखरेलले भने, ‘पहिलो कुरा त यो सरकारलाई जनताले किन मतदान गरे भन्ने कुरा प्रमुख हुन्छ । सुशासन र विकासका लागि नागरिकले मतदान गरेका थिए । सुशासनका लागि उहाँहरूले ‘नो लाइन’ भन्नुहुन्थ्यो, तर विगतको भन्दा भद्रगोल भएको छ ।’
विदेश जाने युवाको संख्या र लाइन बढिरहेको, नेपालमा लगानी भित्र्याउने वातावरण निर्माण हुन नसकेको तथा विकास निर्माणका कामले गति लिन नसकेको टिप्पणी गरे ।
सरकारका कामकारबाहीप्रति निराश जनतामा बढ्दै असन्तुष्टिले समाजमा अराजकता निम्त्याउन सक्ने चेतावनी दिएका नेता पोखरेलले समाजमा बढ्दो असन्तुष्टी र निराशाबाट उत्पन्न हुने अराजकताले कालन्तरमा देशमा बङ्गलादेशको जस्तो अवस्था नआउला भन्न नसकिने तर्फब सचेत गराए ।
पुराना राजनीतिक दललाई जनताले निर्र्वााचनमार्फत दण्डित गरेको उल्लेख गर्दै उनँले ती दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने धारणा राखे ।
‘नेपालका पुराना राजनीतिक दललाई गएको निर्वाचनमा जनताले दण्डित गरे । उनीहरूले आफूलाई नयाँ विकल्पका रूपमा अघि बढाएनन् भने लोकतन्त्र दुर्घटनामा पर्न सक्दछ,’ पोखरेलले थपे ।
स्थानीय तह निर्वाचनमा वामशक्तिबिच तालमेल हुनसक्छ
महासचिव पोखरेलले आगामी स्थानीय तह निर्वाचनमा वामशक्तिबिच तालमेल हुन सक्ने संकेत गरे । वामपन्थीबिच तालमेल गर्दा मत ट्रान्सफर गर्न सकिन्छ भन्ने चेत नेकपाका नेताहरूलाई फिरेको जिकिर उनको थियो ।
विगतमा माओवादीले एमाले र कांग्रेससँग चुनावी तालमेल गर्दाको अनुभवबाट यो पाठ सिकेको भनाइ पोखरेलको थियो ।
तालमेलको विषममा अनौपचारिक कुराहरू भएका भए पनि कुनै औपचारिक छलफल भने नभएको खुलासा गरेका पोखरेलले तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेको भएपनि नेतृत्व तहमा छलफल शुरु नभएको प्रतिक्रिया दिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३ १५:१४