काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको पश्चिमबंगालस्थित सिलिगुडीदेखि नेपालको झापा (चारआली)सम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणको शिलान्यास गरेका छन् । दुवै प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा उक्त परियोजनाको शिलान्यास गरेका हुन् ।
यो नेपाल–भारत सीमापार दोस्रो पेट्रोलियम पाइपलाइन परियोजना हो । यसअघि मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण भई सञ्चालनमा आइसकेको छ । दुवै देशका प्रधानमन्त्री तहबाट परियोजनाको शिलान्यास हुने भएपछि चारआलीस्थित २३ बिघा तीन कट्ठा १३ धुर जमिनमा एक स्टेज निर्माण गरी कार्यक्रम व्यवथापन गरिएको थियो । दिल्लीबाट घोषणा हुनासाथ झापामा शिलान्यास गरिएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।
साहका अनुसार परियोजना निर्माणका लागि ११ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सम्पूर्ण लागत भारतले नै व्यहोर्ने सम्झौता भएको साहले जानकारी दिए । ‘परियोजनाको कुल अनुमानित लागत ११ अर्ब १४ करोड रुपैयाँ रहेको छ । जसमध्ये पाइपलाइनतर्फ करिब चार अर्ब २७ करोड र भण्डारगृहसहितको ग्रिनफिल्ड टर्मिनलतर्फ ६ अर्ब ८७ करोड रुपैयाँ लाग्नेछ,’ उनले भने, ‘यो सबै लागत भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुनेछ ।’
पाइपलाइन भारतको पश्चिमबंगालतर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर बिछ्याइनेछ । आठ इन्च गोलाइ हुने पाइपलाइनबाट प्रतिघण्टा दुई सय किलोलिटरभन्दा बढी इन्धन ढुवानी गर्न मिल्छ । एउटै पाइपलाइनबाट पेट्रोल र डिजेल ढुवानी गर्न मिल्ने संरचना निर्माण हुने साहले जानकारी दिए ।
पाइपलाइनबाट ल्याएको तेल राख्नका लागि चारआलीमा कुल १८ हजार नौ सय किलोलिटर क्षमताको भण्डारगृहसमेत निर्माण हुनेछ । ‘पेट्रोलका लागि २२ सय किलोलिटर क्षमताका समान तीनवटा भर्टिकल ट्यांक र डिजेलका लागि ४१ सय किलोलिटर क्षमताको समान तीनवटा भर्टिकल ट्यांक भारतीय अनुदान सहयोगमा निर्माण हुनेछ,’ साहले भने । यसरी कुल ६ वटा भर्टिकल ट्यांकमा इन्धन भण्डारण गर्न मिल्ने सुविधासहितको संरचना बन्ने उनले जानकारी दिए ।
एकैपटक २० भन्दा बढी ट्यांकरमा तेल लोड–अनलोड गर्न मिल्ने सुविधा हुनेछ भने आधुनिक सुविधाको प्रयोगशाला र स्वचालित प्रणालीमा आधारित इन्धन लोडिङ सिस्टम हुनेछ । जसकारण डिपोभित्र एक थोपा पनि इन्धन नचुहिने भएकाले वरिपरि पेट्रोलियम पदार्थको गन्धसमेत नआउने निगमको दाबी छ । झापामा बनेको पूर्वाधारले कोशी प्रदेशसहित मधेश प्रदेशको सिराहा र सप्तरीसम्म इन्धन वितरण गर्न सकिने निगमले जनाएको छ ।
‘भारतबाट पाइपलाइनमार्फत ढुवानी सुरु गर्दा सडकमार्गबाट मात्र हुने इन्धन ढुवानीमा निर्भरता घट्ने, भन्सारमा सवारीसाधनको जाम नहुने, ढुवानी खर्च बचत हुने, प्रदूषण नियन्त्रण हुने, चुहावट नियन्त्रण हुने तथा आपत्कालीन अवस्थामा देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न थप सहयोग पुग्ने अपेक्षा छ,’ साहले भने ।
निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सक्ने लक्ष्य राखिएको छ । तर, इन्डियन आयल कर्पोरेसन ९आइओसी०ले ३६ महिनाभित्रमै परियोजना सक्ने जानकारी गराएको उनले बताए । सडक, वन, नापी, स्थानीय तहलगायतका निकायले परियोजना अघि बढ्ने क्रममा प्रदान गर्नुपर्ने स्वीकृतिमा पनि सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ ।
उक्त परियोजना आइओसीले स्वामित्वमा लिएर निर्माण सुरु हुनुअघि आयल निगमले जग्गा व्यवस्थापन र वरिपरि पर्खाल निर्माण गर्ने काम गरिरहेको छ । जग्गा व्यवस्थापनतर्फ करिब ३० प्रतिशत र पर्खाल निर्माणतर्फ ७० प्रतिशतसम्म प्रगति भइसकेको साहले बताए । ‘जग्गामा माटो, ढुंगा–गिटीलगायत हालेर सम्याउने काम सकेपछि पर्खाल निर्माणले पनि पूर्णता पाउँछ । त्यसपछि आइओसीलाई परियोजना निर्माणका लागि जग्गा हस्तान्तरण गर्नेछौँ,’ उनले भने । आइओसीले पनि हाल उक्त जग्गामा पाइपलाइन र भण्डारगृह निर्माणका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको उनले जानकारी दिए ।
अमलेखगन्जस्थित दोस्रो चरणको पाइपलाइन पनि हस्तान्तरण
भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणका पूर्वाधार पनि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा हस्तान्तरण भएको छ । परियोजना हस्तान्तरणका लागि आयल निगमले मधेश प्रादेशिक कार्यालय, अमलेखगन्ज परिसर दिल्लीमा भएको शिलान्यास कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न मिल्ने गरी एलइडी बोर्ड राखिएको थियो ।
निगमको अमलेखगन्ज डिपो प्रमुख अशोक साहका अनुसार दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका समान दुइटा पेट्रोल भण्डारगृह, २४ वटा लोडिङ–अनलोडिङ प्वाइन्ट, आधुनिक प्रयोगशाला र स्वचालित प्रणालीमा तेल लोड–अनलोड गर्न मिल्ने पूर्वाधार बनेका छन् । दोस्रो चरणअन्तर्गतका पूर्वाधार ०८१ असोजमै सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात भइरहेको छ । त्यसअघि ०७५ बाट पाइपलाइनमार्फत डिजेल आयात गरिएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइन भारतको दुई अर्ब भारुभन्दा बढी अनुदान तथा प्राविधिक सहयोगमा निर्माण भएको हो । सो पाइपलाइनमार्फत नेपालको कुल खपतको करिब ७० प्रतिशत इन्धन आयात हुने गरेको छ ।
सर्लाहीमा ग्यास पाइपलाइन विस्तार गर्न अध्ययन गर्ने
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको ‘सरप्राइज’मध्ये एउटा हो, ग्यास पाइपलाइनको सम्भाव्यता अध्ययन गर्ने ।
गत साउनदेखि नेपालमा चर्किएको ग्यास अभावका कारण उपभोक्ता एक थान सिलिन्डरका लागि लामो लाइन लाग्न बाध्य भए । अहिले निजी क्षेत्रसँग न्यून (१० हजार १ सय टन) भण्डारण रहेको, तर सरकारसँग भण्डारगृह नै नरहेको अवस्था छ । अर्कातिर भारतबाट ग्यास आयात गर्न टाढाको दूरीमा रहेका रिफाइनरीमा पुग्नुपर्ने बाध्यता छ ।
यी सबै समस्याको समाधानका लागि दीर्घकालीन रूपमा ग्यास आपूर्ति सहज गर्न सर्लाहीमा ग्यास पाइपलाइन ल्याएर भण्डारगृह बनाउने नेपालको प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक देखिएका छन् । त्यसैले, दुवै देशका प्रधानमन्त्रीको भेटपछि जारी भएको संयुक्त वक्तव्यमा नेपालमा ग्यास पाइपलाइन निर्माणबारे अध्ययन गर्ने उल्लेख छ । वक्तव्यको बुँदा नम्बर १६ को अन्तिम हरफमा भनिएको छ, ‘दुवै पक्षले भारत र नेपालबिच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सम्भाव्यताको अध्ययन गर्न सहमति जनाएका छन् ।’
सर्लाहीमा आयल निगमले खरिद गरेको १५ बिघा जमिनमा पाइपलाइनसहितको भण्डारगृह बनाउने प्रस्ताव यसअघि नै भारतलाई पठाइसकेको थियो । आयल निगम र भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन ९आइओसी०का अधिकारीबिच पनि एक संयुक्त कार्यदल बनाएर सर्लाहीमा ग्यास पाइपलाइनसहितको भण्डारगृह बनाउन आवश्यक गृहकार्य भइरहेको छ । आयल निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायका अनुसार निगम र आइओसीबिचको संयुक्त कार्यदलले लागतबारे छलफल गरिरहेको छ । ‘सर्लाहीमा कम्तीमा एक महिनाको माग धान्न सक्ने गरी ५० हजार टन क्षमताको भण्डारगृह बनाउनुपर्छ भनेर हामीले प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘सोही सेरोफेरोमा रहेर छलफल भइरहेको छ ।’
आइओसीको मोतीहारीसम्म पाइपलाइनमार्फत ग्यास आयात भइरहेका कारण त्यहाँबाट सर्लाहीसम्म पाइपलाइन विस्तार गर्नुपर्नेछ । अहिले बुलेटमार्फत भारतको हल्दिया, बन्थरा, पाराद्वीप, बरौनी, मथुरा र दुर्गापुर रिफाइनरीबाट ग्यास ढुवानी गर्दा लागत र समय धेरै लाग्ने गरेको छ । यी रिफाइनरी नेपालका ग्यास उद्योगबाट पाँच सयदेखि १२ सय किलोलिटरसम्मको दूरीमा छन् । जसकारण वेला–वेला देखापर्ने ग्यास आपूर्तिको असहजतालाई हटाउन मुस्किल हुने गरेको छ । सर्लाहीमै पाइपलाइनमार्फत ग्यास ल्याउने हो भने देशभर नियमित रूपमा ग्यास आपूर्ति सहज हुने निगमको दाबी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३ ०७:४३