सिमकोट । हिमाली जिल्ला हुम्लामा पशुपालन व्यवसायमा लाग्दै आएका कृषकको पशु बिमाप्रति आकर्षण बढ्दै गएको छ ।
जिल्लामा विगतकको वर्षको तुलनामा पछिल्लो समय गाई, गोरु, घोडा, खच्चड, झोपा, जुमा, भेडा बाख्रा र गधाको बिमा गराउने कृषकको संख्या बढ्दै गएको शिखर इन्स्योरेन्स हुम्ला शाखाका पशु प्राविधिक उपेश भण्डारीले बताए ।
‘जिल्लामा यस अगाडि विमा गरेको पशु मरेपछि पशु विमा गर्ने कृषकलाई रकम हस्तान्तरण गरिएकाले यसतर्फ कृषक आकर्षण बढ्दै गएको छ’, प्राविधिक भण्डारीले नेपालवोटसँग भने, ‘पशुबिमा गर्दा कुनै कारणले पशुवस्तु मरेमा त्यसकमो बिमांक कृषकलाई बिमा कम्पनीले दिने व्यवस्था गरेकाले पनि हुम्लामा यसको महत्व बढ्दै गएको देखिन्छ ।’
हुम्लामा चालु आर्थिक वर्ष (२०८०/०८१) मा गाई, गोरु, झोपा, जुमा, चौरी, घोडा, खच्चड, भेडा, बाख्रा र गधा गरेर ९ सय ९९ पशुको बिमा गरिएको छ । जसमा जिल्लाभर ४ सय ४९ विमित कृषक रहेका छन् । यो वर्ष १ सय ३० वटा मरेका गाई गोरु मध्ये १ सय २६ कृषकले क्षतिपूर्ति पाएको शिखर इन्स्योरेन्स शाखा हुम्लाका प्रमुख गोरासिंह बोहराले जानकारी दिए ।
क्षतिपूर्ति रकम पाइने भएपछि किसानहरु अहिले पशुबिमा सहित व्यवसायिक रुपमा पशुपालन तर्फ आकर्षित भएका छन् । बिमा गरेका किसानको पशु क्षति भइहालेमा क्षतिपूर्ति रकम उपलब्ध गराउन थालेपछि पशु बिमातर्फ जिल्लाका किसानको आकर्षण बढेको हो ।
सबैले पशु बिमा गर्न थालेपछि सिमकोट गाउँपालिका वडा नम्वर ८ स्याडा गाउँका किरण बुढाले ८ वटा खच्चडको बिमा गरे । ‘पशु बिमा विषयका बारेमा अँझैपनी जानकारी थिएन । पछिल्लो समय पशु बिमाको लागि शिखर इन्स्योरेन्स शाखा हुम्लाका कर्मचारी उपेश भण्डारी गाउँघर पुगेर पशु बिमाको बारेमा सबै जानकारी गराएपछि आफूसहित अँझ बढी किसानहरु आर्कषित भएका हौं’ स्थानीय बुढाले भथे ।
गएको वर्ष हुम्लाका पशुवस्तुहरुमा फैलिएको चर्चरे लगायतको रोगका कारण सयौको संख्यामा ठूलो मूल्य पर्ने किसानका पशुवस्तु मरेपछि हुम्ला लगायत ग्रामीण भेगका दुरदराजका किसानले पशु बिमातर्फ ध्यान दिएका हुन् । यससम्बन्धि सराकारवाला निकायले पशु बिमा बारे पर्याप्त रुपमा जानकारी गराएको खण्डमा अँझै विमितको संख्या बढ्ने बताइएको छ ।