काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।
कपडाका जुत्ता उत्पादन गर्ने उद्देश्यले २०४३ कात्तिक २७ मा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको च्याम्पियन फुट वेयरले तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा खरिद गरेको थियो । यसमा चौधरी परिवारका सदस्यहरूसहित बाँसबारी छाला जुत्ता कम्पनीसमेत सेयरधनी थिए । तर, जग्गा लिँदा मिलेमतो भएको र तीन वर्षमा च्याम्पियन फुटवेयर बन्द गरी पूरै जग्गा कब्जा गरिएको सीआईबीको दाबी छ ।
केही महिना अघिबाटै अनुसन्धान भइरहेकामा तथ्य र प्रमाणले कानुनविपरीतका गतिविधि भएको देखिएपछि केही आरोपितलाई नियन्त्रणमा लिइएको सीआईबीका एसएसपी दिनेश आचार्यको भनाइ छ । ‘सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा लैजाने निर्णयमा संलग्न बाँसबारीका तत्कालीन कार्यकारी अध्यक्ष र सञ्चालक समिति सदस्य तथा सरकारी जग्गा लिएर भोगचलन गरिरहेका व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ,’ एसएसपी आचार्यले भने, ‘जग्गा हिनामिनामा संलग्न सबैमाथि अनुसन्धान भइरहेको छ ।’
२०२२ साउनमा चिनियाँ सरकारले स्थापना गरिदिएको जुत्ता कारखाना ८३ रोपनीमा फैलिएको थियो । कम्पनी निरन्तर घाटामा गएको कारण देखाएर सञ्चालक समितिले जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । यस क्रममा सञ्चालक समितिले प्रतिरोपनी साढे २ लाखका दरले १० रोपनी ९दुई पटक गरी० जग्गा २५ लाखमा च्याम्पियन फुटवेयरलाई बेचेको थियो । सरकारी उद्योगको जग्गा बिक्री गर्ने निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भए पनि सञ्चालक समितिले नै त्यस्तो निर्णय गरेकामा कार्यकारी अध्यक्ष थापा र सञ्चालक समितिलाई सीआईबीले आरोपी मानेको छ ।
जग्गाको कुल मूल्य २५ लाख रुपैयाँ कायम भएकामा सो बराबर हुने गरी च्याम्पियन फुटवेयरको २५ सय कित्ता सेयर बाँसबारीले पाएको थियो । यसरी च्याम्पियनमा २५ प्रतिशतको सेयरधनी बाँसबारी भएकामा बाँकी ७५ प्रतिशत सेयर चौधरी परिवारका विनोद, अरुण, वसन्त, बाबु लुनकरणदास, दिदी गंगादेवी र भिनाजु महेशकुमार अग्रवालका नाममा कायम भएको थियो । यही अनुबन्धका आधारमा २०४३ कात्तिकमा च्याम्पियन फुटवेयर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको थियो । बाँसबारीको ६ रोपनी जग्गा २०४४ को भदौमा र थप चार रोपनी जग्गा मंसिर १८ मा च्याम्पियन फुटवेयरको नाममा सारिएको थियो ।
च्याम्पियन फुटवेयरमा २५ प्रतिशत सेयरका लागि बाँसबारीको जग्गाको मूल्यांकनबाट २५ लाख लिइएकामा ७५ प्रतिशत सेयरबापत चौधरी परिवारले भने आठ लाख मात्र भुक्तान गरेको देखिएको सीआईबीको दाबी छ । ‘त्यसमा पनि तीन वर्ष जुत्ता उत्पादन गरेपछि कारखाना बन्द भएको देखिन्छ,’ सीआईबीका एसएसपी आचार्यले भने । बाँसबारी जग्गा प्रकरणमा उकालोडटकम र टक्सार म्यागजिनले समाचार लेख्दै आएका थिए ।
चौधरी र थापा चिरायु अस्पतालमा भर्ना
केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका व्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा भर्ना भएका छन्।
मुटुमा समस्या देखिएपछि चौधरीलाई महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएको सीआईबी स्रोतले जनाएको छ।
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
चौधरी ग्रुपका सदस्य तथा सीजी होल्डिङका प्रबन्ध निर्देशक हुन् अरुण। अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन्। उनीहरुले सरकारको नामको १० रोपनी जग्गा किर्ते गरेर निजीकरण गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
यता व्यसायीहरुले भने चौधरीलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन्। उनीहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै निजी क्षेत्रलाई सरकारले हतोत्साहित हुनेगरी डण्डा बर्साएको आरोप लगाएका छन्।