सिमकोट । सदरमुकाम सिमकोटमा हक्की खेल मैदानको निर्माण कार्यका लागि सिलान्यास गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद बिकास परिषदको लगानीमा हुम्ला राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नका लागि उक्त खेल मैदान निर्माणका लागि सिलान्यास कार्यक्रम गरिएपछि खेल प्रतियोगिता हुने भएको हो ।
कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवन बहादुर शाहीले एक कार्यक्रमकाबिच खेल मैदानको सिलान्यास गर्नु भएको हो । शाही सहित परिषदका सदस्य टक्कबहादुर शाही, सल्यान जिल्लाको सारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी सो कार्यक्रमका लागि आईतबार सुर्खेतबाट सिमकोट आई पुगेका थिए । दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कर्णाली प्रदेश खेलकुद बिकास परिषदले हक्की खेल प्रतियोगिताको आयोजना हुम्लामा आयोजना गर्ने भएको छ ।
कर्णाली प्रदेशबाट हक्कीका सबै खेलाडीहरु हुम्ला जिल्लाका रहेका छन् । जसका लागि परिषदबाट खेल मैदान निर्माणका लागि बजेट ब्यवस्था गरेर खेल मैदानको निर्माण कार्य सुरु गरिएको हो । आगामी असार २० गते सम्पन्न गर्ने गरि परिषदले ७१ लाख ८५ हजार रुपियाँ लागत लाग्ने गरि समुन्द्रा निर्माण सेवासंग सम्झौता भएको परिषदका इन्जिनीयर कार्मा बहादुर शाहीले जानकारी दिए ।
निर्माण कम्पनीले सम्झौता मिति भन्दा अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने जनाएको छ । निर्माण कम्पनीले खेल मैदानको ग्याविन लगाउने, जमिन सम्याउने र दुबो लगाउने कार्य गर्नु पर्नेछ । यसका लागि बजेट भने एक करोड ४७ लाख बजेट ब्यवस्था गरेको भएपनि टेण्डरबाट घटीघटाउ गर्दा लागत घटेको हो ।
खेल मैदानका लागि माग पत्र पेश
जिल्लाका जनप्रतिनिधिहरुले जिल्लावासीको तर्फको खेल क्षेत्रको बिकासका लागि माग पत्र पेश गरेका छन् । उनीहरुले निर्माणधिन खेल मैदानका अन्य संरचना बाँकी रहेको कारण त्यसको निर्माण कार्य अगाडी बढाउन माग पत्र पेश गरिएको हो । जिल्लावासीको तर्फबाट जनप्रतिनिधिहरुले कर्णाली प्रदेशका पुर्बमुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य टक्कबहादुर शाहीलाई माग पत्र पेश गरेका हुन । उनीहरुले हाल निर्माण कार्य सुरु भएको खेल मैदानमा बाँकी संरचना रहेको कारण त्यसलाई पनि निर्माण गर्न माग गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बताए । उनीहरुले छुट्टाछुट्टै माग पत्र पेश गरेका छन् ।
खेल मैदानमा घेरबार, पानीको निकास, पश्चिम पट्टीको भागमा ग्याविन लगाउने कार्य बाँकी रहेको कारण त्यसका लागि बजेटको ब्यवस्था गर्न माग गरिएको हो । माग पत्र बुझ्दै पुर्बमुख्यमन्त्री शाहीले जिल्लावासीको साझा माग आएको खुसी ब्यक्त गर्दै त्यसलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पर्ने अन्य संरचना निर्माणमा सहयोग गर्ने जनाए । त्यसैगरि परिषदको तर्फबाट सदस्य टक्क्बहादुर शाहीले पनि यसका लागि परिषद सकरात्मक हुने र आफुले बुझेको माग सदस्य सचिवलाई बुझाउने बताए ।
माग पत्रमा जिल्लावासीको तर्फबाट जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी अदानचुली गाउँपाकिलाका अध्यक्ष मोहन बिक्रम सिंह, सिमकोटकी उपाध्यक्ष शुशिला रोकाय भाम र नाम्खा गउाँपालिकाका उपाध्यक्ष तकदिर लामाले गरेका थिए ।