सिमकोट । नेपाली काँग्रेसको भगेनी संस्था नेपाल महिला संघ प्रदेश निर्वाचन समन्वय समितिका सभापति छपाल लामाले छात्राहरुलाई खेलकुद सामाग्री सहयोग गरेकी छन् ।
छात्राहरुलाई खेलकुदमा सक्रिय बनाउने ध्येयले प्रदेश सभापति लामाले हुम्लाको मानसरोवर माध्यमिक विद्यालयलाई उक्त खेलकुद सामाग्री सहयोग गरेकी हुन् ।
परिवार देखि समाजमा समेत अनेकनखाले हिंसा र पीडाबाट प्रताडीत हुन परेका छात्राहरुलाई खेल क्षेत्रमा समेत सक्रिय बनाउन विद्यालयका प्राचार्य अमबरबहादुर शाही मार्फत एक सेट भलिबल र एक सेट नेट सहयोग गरेको सभापति लामाले बताइन् ।
विद्यालयमा अध्ययनरत छात्राहरूको खेल क्षेत्रमा रहेको प्रतिभा र खेल क्षमतालाई विकास गर्न र उनीहरूमा भएका सीप तथा कलालाई खेलकुदमार्फत थप विकास गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको हो, खेल सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ हुम्लाकी उपाध्यक्ष समेत रहेकी लामाले भनिन्, विद्यालयमा अध्ययनरत छात्राहरूलाई पढाइसँगै खेलकुदका क्षेत्रमा पनि सक्रिय बनाउने हेतुले मैले व्यक्तिगत रुपमै भएपनि सानो सहयोगको प्रयास गरेकी हुँ ।
विद्यालयमा सञ्चालन हुने सबै खालका खेलकुदमा छात्राहरुलाई समेत समावेश गरेर गए उनिहरुको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा समेत सहयोग पुर्याउने विश्वाश लामाले व्यक्त गरिन् ।
लामाले प्रदान गरेको खेलकुद सामग्रीले विद्यालयका छात्राहरूलाई नियमित रूपमा भलिबल अभ्यास तथा प्रतियोगितामा सहभागी हुन सहज हुने विद्यालयका प्रधानाध्यापक शाहीले बताए । खेलकुद सामग्रीको अभावमा छात्राहरुलाई यथेष्ट अभ्यास गर्न समस्या हुँदै आएको अवस्थामा यो सामग्री सहयोगले छात्राहरूलाई थप उत्साहित बनाउने अपेक्षा शाहीले गरे ।
व्यक्तिगत रुपमै भएपनि सभापति लामाले गरेको सहयोग निकै श्रहानिय रहेको भन्दै धन्यवाद ज्ञापन गरेका शाहीले शैक्षिक विकाससँगै विद्यार्थीको अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतिभा विकास पनि महत्वपूर्ण भएको बताए ।
नेपाली कांग्रेसको भगेनी संस्था महिला संघ नेपाल हुम्लाको प्रदेश निर्वाचन क्षेत्रिय समन्वय कमिटी सभापति निर्वाचित भएपछि लामाले हरेक वर्ष विभिन्न सहयोग गर्दै आएको बताएकी छन ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३ १४:२१