काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ ।
जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।
गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
सन्दीपको प्रतिक्रियाः अदालतले न्याय दियो
क्रिकेटर लामिछानेले आफूले अन्ततः न्याय पाएको बताउनु भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दीपलाई दोषी ठहर गर्ने जिल्ला अदालतको फैसला उल्टाई दिंदै सफाई दिइएको हो। उच्च अदालत पाटनबाट सफाइ पाएपछि लामिछानेले आफूलाई धेरै तवरबाट फसाइएको प्रतिक्रिया दिनुभयो।
क्रिकेटर लामिछानेले समर्थकहरूप्रति आभार प्रकट गर्नुभयो। आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे एक वर्षदेखि विभिन्न तवरले फसाएको बताउनु भयो । ‘सुरुदेखि म निर्दोष छु भनिरहें । साढे एक वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,’ उहाँले भन्नुभयो।
उहाँले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताउनु भयो । ढिलै भए पनि आफूले न्याय पाएको उहाँको भनाइ छ।
‘मलाई न्याय दिनु भएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु। अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ’, उहाँले भन्नुभयो ।
उहाँले काँधमा नेपालको झण्डा राख्दै नेपाली क्रिकेटलाई झन माथि पुर्याउने प्रतिवद्धता गर्नुभयो । ‘नेपाली क्रिकेटलाई जहाँ पुर्याएको थिएँ, त्यसभन्दा पनि माथि पुर्याउँछु,’ उहाँले भन्नभयो। सन्दीपका कानुन व्यवसायी सरोजराज घिमिरेले सन्दीप लामिछानेलाई कप्तानीसहितको जिम्मेवारी दिनुपर्ने बताएका छन्।
क्यानको प्रतिबन्ध फुकुवा
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका हुन् ।
पाटन उच्च अदालतले आजै सन्दीपलाई बलात्कार मुद्धामा सफाई दिएको थियो ।