काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभर बाढीको बितण्डा मच्चाएको छ ।
बिहिबारदेखि निरन्तर परेको वर्षाका कारण देशभरका ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।
यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ ।
यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बीपी राजमार्ग खण्ड बन्द भएको छ ।
यस्तै मनाङको चामेमा बाढीका कारण चामे–बेशीसहर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ ।
बाढीले तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित एक घर पहिरोको जोखिममा परेपछि मानिस सामान अन्यत्र सारिएको छ ।
स्थानीय भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं। २३ मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । पहिरोमा केही चौपाया पुरिएको आशंका गरिएको छ ।
निरन्तरको वर्षाले हेटौंडाका केही क्षेत्र डुबानमा परेको छ । गएरातिबाट निरन्तर परेको वर्षाको कारण हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, ६, ७ लगायतका बस्तीमा भेल पसेको छ ।
कर्णाली राजमार्गमा पहिरो जाँदा सयौं सवारीसाधन अलपत्र
अविरल वर्षासँगै कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने अनि कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगन्ज छुटेका सयौं सवारीसाधनहरु अलपत्र परेका हुन् ।
पहिरोले सवारीसाधन रोकिएपछि यात्रुहरुले सास्ती पाइरहेका छन् । अधिकांश यात्रुहरु हिँडेर पहिरो क्षेत्र पार गर्ने अवस्थामा रहेको र कैयन यात्रुहरु गन्तव्यमै पुग्न नपाई फर्किने गरेको प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिए । उनका अनुसार बर्सेनि कर्णाली राजमार्गमा पहिरोले सास्ती दिने गरेको छ ।
कालिकोट खण्डमा मात्रै ५ स्थानमा पहिरो गएको थियो । जसमा माल्फाको दुई र शेरीघाटको पहिरो पन्छाइसकिएको छ । गगनेखोला र हुल्मको पहिरो पन्छाउने कार्य चलिरहेको डीएसपी केसीले जानकारी दिए । उनले भने, ‘पहिरोले बिहानैदेखि सवारी आवागमन ठप्प छ । सवारीसाधन अलपत्र छन् । यात्रुहरु जोखिममा छन् । ’ डोजर मगाएर दुई स्थानको पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । डीएसपी केसीका अनुसार राति अबेरसम्म पहिरो पन्छाएर यातायात सेवा सञ्चालनमा ल्याउन सकिने अवस्था छ ।
बर्सेनि सामान्य वर्षा हुनेबित्तिकै सडकमा पहिरो जाने भएकोले कर्णालीवासी आजित छन् । अविरल वर्षासँगै सडकमा पहिरो जान थालेपछि कर्णालीमा दैनिक उपभोग्य बस्तुहरुमा कालोबाजारी हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानेबित्तिकै पहिरो पन्छाउन मेसिनको व्यवस्थापन गर्नुपर्ने स्थानीय जयबहादुर केसीले बताए । उनले भने, ‘अहिले पहिरो गएको घण्टौ बित्दा पनि मेसिन ल्याउन सकिने अवस्था छैन । अब सरकारले हरेक वर्ष कालिकोट खण्डको झण्डै आधा दर्जन स्थानमा डोजरहरु राख्नुपर्ने हुन्छ । ’
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीका ६ जिल्ला रेड अलर्टमा रहेका छन् । जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालिकोट, हुम्ला र जुम्ला रेड अलर्टमा रहेका हुन् ।
देशका धेरै स्थानमा लगातार पानी परिरहेकाले बाढी, पहिरो, डुबान र बाटो बन्द हुने समस्या देखिएको भन्दै कर्णाली प्रदेश सरकारले सकेसम्म मनसुनको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । यसका लागि १०३ मा फोन गर्न, बाढी र मौसम सम्बन्धी जानकारी लिन १४५५ र उद्धारका लागि ११४९ मा फोन गर्न सुझाव दिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले कालीकोटको हुल्म बजार नजिक ठूल्ठुला बोल्डर आई पूर्ण रुपमा सडक अवरुद्ध भएको र गगने खोला, झाम्ला खोलासहित विभिन्न स्थानहरुमा लेदो बगेर, पहिरो झरेर सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको जनाएको छ । उक्त स्थानहरुमा सडक सञ्चालन गर्नका लागि हृवील लोडर र एक्स्काभेटर परिचालित भइरहेका छन् ।
दोलखाको रोल्वालिङमा ८ घर बगायो
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका(९ मा रोल्वालिङ खोलामा आएको बाढीले ८ घर बगाएको छ । बाढीले डोगाङमा होटल व्यवसाय संचालन गर्दै आएकी ६५ वर्षाया जाङमु शेर्पा बेपत्ता भएकी छन् ।
शुक्रबार राति आएको बाढीले डोगाङमा भएको सबै घर बगाएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष विस्वास कार्कीले बताए ।
रोल्वालिङ पदमार्गमा पर्ने डोवाङका ३ ठुला र ५ साना होटल संचालन भएका घर बगाएको उनले जानकारी दिए । बाढीमा परेकाको उद्वार बेपत्ताको नेपाली सेना, सशस्त्र, जनपथ र पालिकाको विपद् व्यवस्थापन टिमले खोजी गरिरहेको कार्कीले बताए ।
गण्डक ब्यारेजका सबै ढोका खोलियो
पूर्वी नवलपरासी-त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।
गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो ।
प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझिका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको ड्बुान कमगर्न पनि सघाउँछ ।
तिनदिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । रायमाझिका अनुसार गण्डकमा पानीको सतह लगातार बढि रहेको छ ।
नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतियको एकाधिकार छ ।
नेपाल तर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।
जोखिम परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कता अपनाइ राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।
उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे। ‘हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन। क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ’, गृहमन्त्री लामिछानेले भने, ‘हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ। हामीले हरेक व्यक्तिको ज्यान जाँदा राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ।’
उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए। बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारीलगायतको उपस्थिति थियो।