काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालयको ३४औं बैठक पार्टीको केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमा रिक्त पदाधिकारी तथा सदस्यहरू मनोनयन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनको निर्णय गरी सम्पन्न भएको छ ।
बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नयाँ विकसित राजनीतिक परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले बैठकलाई सम्वोधन गर्दै नयाँ परिवेशमा जनअपेक्षाअनुरुप पार्टी नेतृत्व तहले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो ।
बैठकले पार्टीको रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीका पुराना नेता मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ ।
बैठकले केन्द्रीय कमिटीमा १७ जनालाई मनोनयन गरेको छ । त्यसैगरी, केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्मा पनि सदस्यहरू मनोनयन गरेको छ ।
नयाँ कार्यविभाजन अनुसार सात प्रदेशको इन्चार्जमा शेरधन राई (कोशी), लिलानाथ श्रेष्ठ (मधेस), डा. राजन भट्टराई (बाग्मती), किरण गुरुङ (गण्डकी), पद्मा अर्याल (लुम्बिनी), गोरखबहादुर बोगटी (कर्णाली) र लेखराज भट्ट (सुदूरपश्चिम) तोकिनुभएको छ । यसअघि गतबर्ष फरक भूगोगको जिम्मेवारी पाउनुभएका अधिकांश केन्द्रीय कमिटी सदस्यहरू गृहजिल्लाको जिम्मेवारीमा फर्कनुभएको छ ।