जेठ १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह)का पोलिटव्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरि सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन् । पार्टी मुख्यालयमा आज (आईतबार) एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले राईलाई प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले आफूले हुर्काएको र नेता बनाएको एक असल योद्धालाई फेरि घर फर्काउन पाएकोमा खुशी व्यक्त गरे । ‘यो पछिल्लो कडि हो यो रोकिनेवाला छैन । एकदिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ ।’ प्रचण्डले भने, ‘अरु कम्युनिष्ट समूहहरु पनि यो पार्टीमा जोडिनुपर्छ ।’
अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको भन्दै उनले समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिएको बताए ।
‘ज–जसले कम्युनिष्ट समूह चलाइरहनुभएको छ । आउनुस छलफल गरौँ । सम्वाद गरौँ, इतिहासको वर्तमानको, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि समिक्षा गरौँ’ प्रचण्डले आग्रह गरे ।
विप्लवको गतिविधि ठीक छैन
पार्टी प्रवेश हुँदै नेता राईले विप्लवले अवलम्बन गरेको अहिलेको बाटोले देश र जनतालाई फाइदा नगर्ने भएकोले मूलघरमा फर्केको बताए । आफ्नो नेता प्रचण्ड नै भएको बताउँदै उनले विप्लवको गतिविधिले १७ हजार सहित जन्माउने दिसामा जाने भएकोले आफू चिन्तित भएको बताए । भोजपुरको बोया घर भएको राई पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री समेत हुन् ।
विप्लवद्वारा राईलाई कार्वाही
विप्लवले नेता राईलाई आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ । आजै एक प्रेस विज्ञप्ति जारी गर्दै उनले राईलाई कार्वाहीको घोषणा गरेका हुन् ।