श्रीनगर (हुम्ला) । जिल्लामै पहिलो पटक हुम्लाको दक्षिण भेगमा रहेको प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव शुक्रबारदेखि सुरु भएको छ । अदानचुली गाउँपालिकाले पहिलो पटक महोत्सवको आयोजना गरिएको हो ।
अदानचुलीको श्रीनगरमा शुक्रबारदेखि सुरु भएको महोत्सव शनिबार सम्पन्न हुने भएको छ । पहिलो दिउँसोबाट सुरु भएको महोत्सव शनिबार विहान आठ बजेबाट सञ्चालन हुने भएको जानकारी प्राप्त भएको छ ।
गाउँपालिका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य जीवन बहादुर शाहीको प्रमुख आथित्यमा र कर्णाली प्रदेश सरकारका जल स्रोत तथा उर्जा विकास मन्त्री विजय बुढा (बोहरा)को बिशेष आथित्यमा उक्त महोत्सव सुरु भएको हो । यस्तै अदानचुलीमा शुक्रबार सुरु भएको महोत्सवमा सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाया, नेकपा एमाले प्रदेश कमिटी सदस्य नवराज महतारा, लगायतका विभिन्न राजनितिक दलका नेता सहित अदानचुलीका स्थानीयको उपस्थित रहेको थियो ।
महोत्सवको पहिलो दिन देउडा कलाकार विपना सिंह, बनकला सन्ज्याल, अनमोल अमृत,पर्याबहादुर थापा लगायतले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै हुड्के नाच समेत प्रस्तुत गरिएको थियो । भने पुर्व मुख्यमन्त्री शाहीलाई महोत्सवमा भव्य स्वागत गरिएको थियोे ।
यहाँको भाषा साँस्कृतिक, रहनशहन, पर्यटकीय स्थलको प्रचारप्रसारको लागि महोत्सवको आयोजना गरिएको अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । महोत्सवका सभाअध्यक्ष अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, प्रमुख अथिती जीवन बहादुर शाही, विषेश अथिती लगायतले शनिबार सम्पन्न हुने महोत्सवमा आफ्नो मन्तव्य राख्ने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
उक्त महोत्सवमा जिल्ला स्थित सञ्चारकर्मी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष अर्जुन बोहरा, नवनिर्वाचित जिल्ला शाखा सचिव नन्द सिंह, राजधानी दैनिकका मिमसिंह नेपाली लगायतको उपस्थित रहेको बताइएको छ । ।