जीवन सेजुवाल
गमगढी । मुगुको खत्याड–३ माथिखर्ककी ७० वर्षीया पञ्चा टमट्टा बिरामी परिन्। बुधबार दमले निकै च्यापेपछि माझीचौरस्थित स्वास्थ्य संस्था लैजानुपर्ने भयो। तर, त्यहाँसम्म लैजान गाउँमा कोही पनि पुरुष भएनन्। गाउँका महिलाहरूले बाँसको स्ट्रेचर बनाए।
चार जनाले काँधमा बोकेर एक घण्टाको बाटो पार गर्दै माझीचौर पुर्याए। माझीगाउँ मात्र होइन, जिल्लाका अधिकांश गाउँ पुरुषविहीन छन्। गाउँमा कोही बिरामी परे, कसैको मृत्यु भए वा कुनै अप्ठ्यारो अवस्था आइपरे उद्धार गर्ने कोही पनि पुरुष छैनन्। युवा जति सबै मुग्लान पसेपछि गाउँ रित्ता छन्, सुनसान बनेका छन्।
गाउँमै गरिखाने अवस्था नभएपछि पुरुषहरू मुग्लान पसेका हुन्। अन्नबाली भिœयाउँदै चाडपर्व सकेपछि युवाहरूले गाउँ छोड छन्। मुगुको खत्याड गाउँपालिका–३ का अध्यक्ष रत्नु बानियाँ भन्छन्, ‘आजभोलि गाउँहरू पुरुषविहीन छन्। कोही मर्दा–पर्दा र बिरामी हुँदा महिलाहरू आफैंले काम गर्छन्। बिरामी पर्दा स्टेचर बोक्नेदेखि कसैको मृत्यु हुँदा मलामी र दासंस्कार पनि महिलाले नै गर्छन्।’
गाउँ छोड्नेको लर्को
तिहार सकिए लगत्तै सदरमुकाम गमगढीबाट दैनिक १ सय ५० भन्दा बढी नेपालगञ्ज प्रस्थान गर्न थालेका हुन्। नेपालगञ्ज हुँदै उनीहरू भारतका विभिन्न सहर जान्छन्। छायाँनाथ रारा यातायात प्रालिका इन्चार्ज रविन मल्लले भने, ‘दसैं र तिहारपछि गाडीमा खचाखच मानिसहरू भारत जान्छन्। वैशाख–जेठपछि वर्षे बाली लगाउन त्यसैगरी खचाखच गाउँ फर्किन्छन्।’
दसैं–तिहार अघि मुगुको सदरमुकाम गमगढीबाट सुर्खेत हुँदै नेपालगन्जसम्म दैनिक २ वटा बस छुट्थे। तर, पर्याप्त यात्रु पाउन मुस्किल हुन्थ्यो। तिहार सकिनेबित्तिकै दैनिक ४र५ वटा बस छुट्ने गरेका छन्। ५ वटा बस यात्रुले भरिभराउ हुन्छन्। जिल्ला छोड्नेको संख्या विस्तारै कम हुँदै गएको छ। मल्ल भन्छन्, ‘गाउँरित्ता भएर जिल्ला छोड्नेको संख्या घट्दै गएको छ।’
गाउँमा रोजगारी नभएको भन्दै केही युवाहरू खाडीमुलुकमा छन्। अरू युवा मजदुरीका लागी भन्दै भारतका विभिन्न स्थानमा लर्को लागेर गए। अहिले गाउँमा युवाहरू नै छैनन्। स्थानीय मुकुन्द रावल भन्छन्, ‘गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्। यो सिजनमा मजदुरीकै लागि भारतका विभिन्न स्थानमा युवा गए। छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका अधिकांश बस्ती युवाविहीन छन्।’
शून्य लाग्न थाले गाउँ कालीकोटको पलाँता गाउँपालिका–१ का लोगिन्द्र न्यौपानेलाई आजभोलि गाउँघर शून्य लाग्छन्। गाउँमा पहिले जस्तो चहलपहल छैन। धेरै मानिसहरू बसाइँसराइ गरी बजार पुगेका छन्। कोही कालापहाड छन्। उनी गाउँमै खुद्रा पसल गर्छन्। उनको व्यापारमा पनि ह्रास आएको छ।
छोराछोरी सहरमा पढ्न पठाउने, बुवाआमा विदेश जाने भएपछि गाउँमा पाका मात्रै बस्छन्। त्यसैकारण व्यापार व्यवसाय घटेको न्यौपाने बताउँछन्। ‘१२र१५ जनाको संयुक्त परिवारमा पनि आजभोलि एक दुई जना मात्र भेटिन्छन्,’ न्यौपानेले भने, ‘गाउँमा मानिसहरू मर्दा मलामी र जन्मिदा उत्सव मनाउने मान्छे नै पाइँदैनन्। दुःख पर्दा रुने र उत्सवमा खुसी हुने मानिसविहीन भए गाउँ।’
पलाँता गाउँपालिका–१ खाडा गाउँ आधा खाली छ। गाउँमा रहेका ३ सयभन्दा बढी घरधुरीमध्ये सय घरधुरीमा पनि मान्छे छैनन्। कोही सहरतिर बसाइँ सरेका छन् त कोही कामको खोजी गर्न कालापहाड गएका छन्। गाउँमा मानिसको बसोबास घट्दै गएपछि खेतयोग्य जमिन बाँझो हुन थालेको छ । आकाशे पानीको भरमा खेती हुने जमीनमा पछिल्ला बर्ष खडेरीको मार छ। खडेरीले उत्पादन नहुने भएपछि मानिसहरू गाउँको खेतीभन्दा परदेशको कमाईको भरमा छन्। गाउँमा पशुपालन र कृषि कर्म पनि छैनन्।
भैंसी पालन नै हरायो
सल्यानको बनगाड पश्चिम क्षेत्रका गाउँ बस्तीहरूमा पनि युवासँगै पुरुषको संख्या घट्न थालेको छ । गाउँ बस्तीहरू नै युवा र पुरुषविहीन हुँदै छन्। विशेषगरी रोजगारीका लागि साउदी, कतार, मलेसिया लगायतका देश अनि भारतका विभिन्न ठाउँमा रोजगारीसँगै पढाइका लागि सुर्खेत दाङ, नेपालगन्ज, काठमाडौंका सहरमा जानेको संख्या बढ्दो छ। जसका कारण गाउँमा युवा र पुरुषको संख्या घटेको हो।
जिल्लाको पश्चिम बनगाड कुपिन्डे नगरपालिकाका प्रायः युवा रोजगारीका लागि भारत जाने गर्छन्। स्वदेशमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि पुग्दो मात्रामा जमिन नभएको र जमिन भए पनि धेरैजस्तो ठाउँमा सिँचाइ सुबिधाको अभावले घरपरिवारको घरखर्च चलाउनैका लागि भारत जानुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन्।
हाल जिल्लाका पश्चिम बनगाड कुपिन्डे नगरपालिका–३ को खेदगाडा, किम्टाकुरा, खानीगाउँ मेलटाकुरालगायत प्रायः सबै गाउँ बस्तीमा बालबालिका, महिला र ज्येष्ठ नागरिक मात्रै बस्ने गरेका छन्। बनगाड कुपिन्डे नगरपालिका–३ का इन्द्र पुनले भने, ‘स्थानीयस्तरमा रोजगारीका अवसरहरू नहुँदा युवाहरू सबैले गाउँ छोडे। यहाँका गाउँबस्तीमा कोही बिरामी पर्दा, केही समस्या पर्दा पनि युवा भेटिदैनन्। सरकारले स्वदेशमै रोजगारीको व्यवस्था मिलाए युवा पलायन रोक्न सकिन्थ्यो।’
हिजो गरिब निमुखा जनताको हकअधिकार सुनिश्चित गर्न भन्दै, गरिब जनताको टाउकोमा टेकेर एकापसमा लडाउने शासकहरूको जीवन र जीवन शैलीमा धेरै ठूलो परिवर्तन भयो तर परिवर्तनका लागि ज्यान आहुती दिने सर्वहारा वर्गको स्थिति झन् जटिल बन्दै गएको छ।
यहाँका पुरुष र युवाहरू महत्वपूर्ण चार्ड पर्व र खेतीपातीको सिजनमा मात्रै गाउँ फर्किन्छन्। प्रायः जेठ–असारमा मात्रै घर फर्कने गर्छन्। अनि २र३ महिना खेती लगाइसकेपछि फेरि रोजगारीकै लागि बाहिर जाने गर्छन्। यहाँका मानिसहरू अधिकांश भारतको महाराष्ट्र नाशिक, जलगाउँ, गुजरात अहम्दावाद, सिम्ला लगायतका क्षेत्रमा रोजगारीका लागि जाने गरेका छन्। पुन भन्छन्, ‘पहिले–पहिले यहाँका किसानहरूले घरघरमा भैंसी पाल्ने गर्थे। तर, अहिले वन जंगलहरू सामुदायिक वन बनेका छ्न। भनेको बेला घाँस काट्न नपाइने हुँदा भैंसीपालन व्यवसाय पनि लोप हुने अवस्थामा छ।
पिउने पानी नै नभएपछि गाउँ रित्ता
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाका गाउँ रित्तिने अवस्थामा छन्। पिउने पानी अभावका कारण यो गाउँबाट बसाइँसराइ बढ्दो रहेको वडा सदस्य तपेन्द्र बुढा क्षेत्री बताउँछन्। उनका अनुसार रेक्चामा पानीको मुख्य स्रोत भनेकै आकासे पानी हो। त्यसबाट कुवा र तालमा जम्मा भएको पानीले स्थानीयहरू तिर्खा मेटाउँछन्।
‘विवाह, व्रतबन्ध तथा मृत्यु संस्कारमा मात्रै गाउँको सहमति अनुसार दुई चार गाग्री बढी पानी दिइन्छ। पानीकै कारण यहाँको बसाइँसराइ बढेको छ’, वडा सदस्य बुढा क्षेत्रीले भने, ‘समस्या समाधानका लागि अड्डादेखि अदालतसम्म धाइसक्यौं। समस्या उस्तै छ।’ पाँच वर्ष पहिले १ सय ८० घरधुरी भएको रेक्चामा हाल ७० घर मात्रै रहेको वडा सदस्य बुढा क्षेत्रीले बताए।
सिंगै गाउँ बसाइँ सर्यो
दैलेखको महावु गाउँपालिका–५ कासिकाँधको सिंगै गाउँ नै बसाइँ सरेको छ। कासिकाँध गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल शून्य प्रायः छ। बस्तीमा फाट्टफुट्ट ज्येष्ठ नागरिकहरू भेटिन्छन्। पछिल्लो समय कासिकाँधका गाउँमा सडक पुगेको छ। तर, सोही सडकमा गुडेका सवारीसाधन चढेर युवाहरू सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ। कासिकाँधका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ सालको जनगणनाअनुसार त्यहाँका ३८ घरमा ३ सय ६६ जनाको बसोबास थियो। हाल गाउँमा १७ घरमा १ सय २० जना मात्रै रहेको स्थानीय अगुवा धनबहादुर थापाले बताए।
सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको उनले बताए। कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सह–लगानीमा काम गर्न तयार भए पनि निकै कम मात्र व्यावसायिक खेतीमा लागेका छन्। ‘गाउँमा सुविधा बढ्दै गएको छ तर गाउँमा मानिसहरू परदेशीतिर छन्। गाउँमा विकास पुगे पनि मानिसहरू सहर वा विदेश जाने थालेपछि गाउँ रित्ता छन्।
गाउँमा विकास पुग्यो, युवा अडेनन्
सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँ, फार्सेकाँडा र भक्तडीका बस्ती पछिल्लो समय पातलिँदै गएका छन्। गाउँमा सडक सञ्जाल जोडिए पनि खानेपानी अभावले गाउँलेहरू बस्ती छाडेर बसाइँ सर्न बाध्य छन्। यो वडाबाट हालसम्म करिब डेढ सय घरधुरी बसाइँ सरेर गइसकेको पूर्ववडाध्यक्ष धनबहादुर थापाले बताए। उनले भने, ‘पहिले बाक्लो गाउँ थियो, अहिले घरहरू छन् तर मान्छे छैनन्।’ बसाइँसराइले गर्दा मान्छे रित्तिए। लगिियुवाहरू कालापहाड गएपछि सुनसान जुम्लाको मालिकावोता गाउँ।
यस्तै कालीकोटको खल्ला गाउँपालिका पनि रित्तिँदै गएको छ। पुराना काठले सजाइएका आकर्षक घरहरू छन्। तर, घरभित्र मान्छेहरू छैनन्। स्थानीय टिकाराम न्यौपानेले भने, मानिसहरू रोजगारी, व्यापार व्यवसाय लगायतका अन्य कामका लागि कालापहाड र सहरतिर लागे। गाउँका घरहरू उजाड बन्दै गएका छन्।’
गाउँका घर आँगनबाट मुगु रारा जाने सडक गएको छ। विकासका अन्य पूर्वाधारहरू पनि बनिरहेका छन्। तर, मानिसहरू धमाधम गाउँ छोड्दै छन्। गाउँमा भएको विकासको उपभोग गर्ने मानिस छैनन्। निकै आकर्षक देखिने तिलागुफाका धेरै गाउँहरू पछिल्लो समय बसाइँसराइका कारण उजाडिँदै जान थालेका छन्। यस्तै जुम्लाको मालिकावोता गाउँ पनि सुनसान छ। घरहरू गमक्कै छन्। मानिसहरूको चहलपहल फाटफुट छ। मानिसहरू रोजगारीका लागि कालापहाड गएपछि गाउँ खाली छ।
व्यवस्था फेरियो, अवस्था उस्तै
गाउँमा संघीयता आयो। घर आँगनमै सरकार आए। तर, मानिसहरूलाई संघीयता र सुविधाले पनि गाउँमा रोकेन। कर्णालीका शैक्षिक अभियान्ता हरिहर बस्नेतले भन्छन्, ‘यस्तै गतिले गाउँका मानिसहरूको बसाइँसराइ हुँदै गयो भने थप समस्या हुने निश्चित छ। सरकारले गाउँमै बस्न बाध्य हुने गरी नीति, योजना र कार्यक्रम ल्याउनै पर्छ। गाउँमै मानिसहरूको भविष्य देखाउनुपर्छ। राम्रा विद्यालय, सुविधायुक्त अस्पताल, आम्दानीका स्रोत र अवसरहरू गाउँ केन्द्रित बनाउनुपर्छ।’
संघीयताको मर्मअनुसार विकेन्द्रीकरणको नीति गाउँमा पुगेको उनको भनाइ छ। ‘व्यवस्था फेरियो,’ बस्नेत भन्छन्, ‘तर जनताको अवस्था फेरिएन्। यसैकारण स्थानीयले बसाइँसराइको बाटो समातेका छन्।’
विकासका कारण विकट गाउँ सुगम बनेका छन्। पहरा फोरेर बनाइएका सडक हुँदै गाउँमा गाडी गुडेका छन्। सहरबजारका भन्दा पूर्वाधार सम्पन्न विद्यालय गाउँमा ठडिएका छन्। स्वास्थ्यचौकी गाउँमै छन्। सञ्चारको सुविधा पुगेको छ। तर, पनि गाउँमा बस्ने मानिस घट्दै गएका छन्। त्यसको कारण जनताको अपन्वत्वको विकास भएन् र नेतृत्वको अपन्वत्वको विकास हुन थाल्यो। विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएका छन्। यहाँको बसाइँसराइको अवस्था चिन्ताजनक छ। यो रोकिनुपर्छ।
महिला अधिकारकर्मी छाया सुनारले गाउँमा पर्याप्त रोजगारीका अवसर र जीवीकोपार्जनका सम्भावनाहरू कम भएकै कारण गाउँ रित्तिँदै गएको बताउँछिन्। उनले भनिन्, ‘गाउँमा राजनीतिक नेतृत्व पनि पहुँचवालाकै छ। अन्य गतिविधि पनि केही मानिसहरूको कब्जामा छ। विकास जति डोजरका लागि छ। मानिसहरू कसका लागि गाउँ बस्छन्।
मानिसले गर्न काम पनि डोजरलाई दिने, मानिसले खन्न सक्ने सडक पनि कमिसनको खेलमा डोजरवालालाई दिने भएकाले गाउँमा मानिसहरूलाई कामै पाउन समस्या छ। भएका काममा फेरि समयमै ज्याला नपाउने पनि समस्या छ। त्यसैले थोरै भए पनि कमाई गर्नका लागि परदेश जान मानिसहरू बाध्य छन्।
गाउँ समाजका लागि केही गर्छु भनेर अगाडि बढ्ने समाजसेवीलाई दिन दहाडै लखेट्ने काम भयो। हुने खानेहरू सहरमा जग्गा जमिन किनेर बस्न लागे। गरिब निमुखाहरू भारतलगायत तेस्रो मुलुकमा जान बाध्य भए। गाउँमा राजनीतिक नेतृत्व पनि पहुँचवालाकै छ। अन्य गतिविधि पनि केही मानिसहरूको कब्जामा छ। विकास जति डोजरका लागि छ। मानिसहरू कसका लागि गाउँ बस्छन्।
हराउँदै गाउँले जीवन
एक दशक अघिसम्म जुम्लाका गाउँहरू वरपर, तल–माथि बस्ती बाक्लो थियो। जुम्ला सिंजाका शक्तिसिंह खत्रीले भन्छन्, ‘सबै घर–घरमा मानिस टन्न हुन्थे, निकै रमाइलो थियो। चाडपर्वमा छुट्टै रौनक र उल्लासमय वातावरण हुने गर्दथ्यो। साथीभाइको ठूलो जमघट हुने गथ्र्यो। दसैंको सराय नाच हेर्न होस् वा तीजको मेला हेर्न, तिहारमा देउसीभैली खेल्न वा भजनकीर्तन कुनै पनि मेला महोत्सवमा धेरै मानिसको उपस्थिति हुने गर्दथ्यो।
कुनै पनि चाडपर्व आउँदा भने मनमा छुट्टै किसिमको आनन्दको अनुभूति हुन्थ्यो। कुनै यस्तो चाडपर्व थिएन, जहाँ हर्ष उमंग नहोस्। गाउँमा मेलापात गर्दा होस् या गाईबाख्रा चराउन वन जंगलमा जाँदा कति रमाइला थिए। वर्षायाममा होस् या हिउँदमा जुनसुकै समयमा पनि गाउँघरमा छुट्टै उल्लास हुने गर्दथ्यो। तर, आजभोलि ती सबै कुरा इतिहास बनेका छन्। गाउँमा मानिसहरूको चहलपहल नै निकै कम छ। सुनसान बन्दै गएका छन् गाउँ।
समाज आधुनिकतातर्फ लम्किँदै गर्दा गाउँबस्तीहरू खाली हुँदै गएका छन्। पहिले हराभरा हुने गाउँका खेतीयोग्य जमिन बाँझै छन्। प्रत्येक घरमा कम्तीमा ६र७ जना परिवारका सदस्य हुने घरमा अहिले वृद्ध बुबा–आमा मात्र भेटिन्छन्। जुम्लाको सिजा गाउँपालिका पूर्वअध्यक्ष देवलसिंह रावल भन्छन्, ‘गाउँमा भएका घरहरू प्रायः खाली छन्। मानिसहरू बढी सुविधाभोगी भएकाले पनि गाउँ रित्तिएका हुन्।
यस्तै कालीकोटका सामाजिक अभियन्ता बीपी विश्वकर्माले नेपालको राजनीतिक अवस्थाकै कारण गाउँमा मानिसहरू बस्न नसक्ने अवस्था आएको बताउँछन्। ‘राजनीतिक परिवर्तन जे–जति भए ती सबै सत्ता र शक्तिका लागि मात्र भए,’ उनी भन्छन्, ‘राजनीतिक व्यवस्था जति फेरिए पनि जनताका समस्याहरू झन् जटिल हुँदै गए। हिजो गरिब निमुखा जनताको हकअधिकार सुनिश्चित गर्न भन्दै, गरिब जनताको टाउकोमा टेकेर एकापसमा लडाउने शासकहरूको जीवन र जीवन शैलीमा धेरै ठूलो परिवर्तन भयो तर परिवर्तनका लागि ज्यान आहुती दिने सर्वहारा वर्गको स्थिति झन् जटिल बन्दै गएको छ।
मुठ्ठीभर मानिसहरू परिवर्तन आयो भन्छन्। केलाई परिवर्तन भन्ने रु’ गरिबी कै कारण गाउँलेहरू विस्थापित हुन पुगेको उनको भनाइ छ। ‘मानिसहरू पनि परदेशी भएका छन्,’ विश्वकर्मा भन्छन्, ‘स्वास्थ्य, शिक्षालगायत आधारभूत आवश्यकता पनि पूरा हुन सकेका छैनन्। गरिबीका कारण अवसरको खोजीमा आज गाउँ बस्तीहरू रित्तिएका छन्।’
कालीकोट शुभकालिका गाउँपालिकाका मनराज शाही गाउँबाट विस्थापित हुने परिस्थिति माओवादी जनयुद्धबाट सुरु भएको बताउँछन्। ‘त्यतिखेरदेखि सुरु भएको यो क्रम अझै पनि रोकिएको छैन,’ शाही भन्छन्, ‘गाउँघरमा बनेका विकासका पूर्वाधारहरू जनयुद्धका नाममा पूरा–पूरा ध्वस्त पार्दै हिँड्यौं। विनाश अति भयो, तर विकास केही गर्न सकेनौं।
गाउँ समाजका लागि केही गर्छु भनेर अगाडि बढ्ने समाजसेवी, शिक्षक वर्ग टाठाबाठा, पैसावाला र हुने खाने वर्गलाई दिनदहाडै लखेट्ने काम भयो। गाउँ घरमा बस्न नसक्ने वातावरण सिर्जना भयो। हुने खानेहरू सहरमा जग्गा जमिन किनेर बस्न लागे। गरिब निमुखाहरू भारत लगायत तेस्रो मुलुकमा जान बाध्य भए।’