जेठ २३, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेस भएको बजेटले संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने बताएका छन्।
उनले सामाजिक सुरक्षा भत्ताका विषयमा अनावश्यक बहस गरिएको गुनासोसमेत गरे। नेपालीको औसत आयुलाई ध्यानमा राखेर ज्येष्ठ नागरिक भत्ताको व्यवस्था गरिएको उनको भनाइ थियो।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले राज्यले सोझै गर्न नसक्ने काम ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ताको रकमबाट भएको बताए। हजुरबा हजुरआमाले आफ्ना नातिनातिनीलाई कापीकलम किनिदिनुभएको छ। बिरामी पर्दा औषधोपचार गर्नुभएको छ, उनले अगाडि प्रश्न गरे, "त्यो के गलत भयो ररु राज्यले गर्ने काम जेष्ठ नागरिकले आफ्नो परिवारमा गर्नुभएको छ। यो नराम्रो भयो र ?
अर्थमन्त्रि खतिवडाले वित्तीय संघीयता कार्यान्वयनको काम जारी रहेको भन्दै यस विषयमा केही कमजोरी भएको हुन सक्ने बताए। राष्ट्रिय पुनर्निर्माण, राष्ट्रिय गौरवका आयोजना, विगतमा बहुवर्षीय ठेक्कामा बन्दोबस्त भएका आयोजनामा रु आठ खर्ब बराबरको बजेट संघको अनिवार्य दायित्व हो भन्दै उनले ती दायित्वलाई बजेटमा आत्मसात् गरिएको बताए।
उनले अल्पसंख्यक जाति, वर्ग र समुदायलाई बजेटलाई सम्बोधन गरेको बताउँदै भने, अल्पसंख्यक, वर्ग र समुदायलाई सम्बोधन गर्ने बजेट २०५१ सालको बजेटदेखि नै शुरु भएको त्यसपछि यी क्षेत्र हराएका थिए। म त्यही विरासत बोकेको पार्टीको अर्थमन्त्री भएकाले अल्पसंख्यक समुदायलाई बजेटले सम्बोधन गर्ने प्रयास गरेको छु।"
उनले पूँजीगत खर्च बढाउनेतर्फ विशेष ध्यान दिनैपर्ने उल्लेख गर्दै स्थानीय अवरोध र निर्माण व्यवसायीले काम नगर्दा पनि विकास निर्माणमा समस्या परेको बताए। उनले यस्तो अवस्थामा ९० प्रतिशत बढी खर्च गर्न सके पनि उपलब्धिमूलक हुने बताए। बढीभन्दा बढी विकास बजेट खर्च गर्नेतर्फ सरकार लागिपरेको उनको भनाइ थियो।