काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।
मङ्गलवार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उनले बताए ।
गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको सङ्गठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो । तर बिचमा त्यसलाई हटाइएको थियो । त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी हुने पनि उनले बताए ।

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाएका थिए ।
बैठकमा आएका सुझावलाई समेटेर छलफलका लागि प्रदेश र तलका कमिटीमा पठाइने र त्यहाँबाट आएका सुझाव समेतलाई समेटेर विधान महाधिवेशनमा लैजाने सहमति भएको गौतमले बताए।
बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको थियो । ‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, उनले प्रस्ट पारे ।
यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापा असहमति जनाउनुभएको गौतमले जानकारी दिए । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, उनले भने ।
पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।
बिज्ञप्तीको पूर्णपाठ
प्रेस विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौं बैठक विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै मुलुकको समसामयिक राजनीतिक विकासक्रम, विधान महाधिवेशन लगायतका विषयमा सारगर्वित मन्तव्य राख्नुभएको थियो ।
हिजो र आज (साउन ५ र ६ गते) पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि घनिभूत छलफल भयो । बैठकमा केन्द्रीय कमिटीका २६४ जना सदस्यहरूले आ–आफ्ना धारणा र सुझावहरू राख्नुभएको थियो । साथै, बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामका बारेमा जानकारी गराउनुभएको थियो । विधान संशोधन सम्बन्धी प्रस्ताव केन्द्रीय कमिटीका सदस्यहरूले दिएका सुझावहरूलाई समावेश गरी प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने छ । बैठकमा आगामी भदौ २०–२२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको तयारी र व्यवस्थापन सम्बन्धमा जानकारी गराइएको थियो ।
बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयमा देहाय बमोजिम निर्णय गरेको छ ;
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपालको संविधानको भाग–६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको (२) मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवद्र्धन, सोही धाराको (४)मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा–२६७ को (२)को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ । यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ । यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्वराष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ ।
बैठकले विभिन्न ८ बुँदे समसामयिक प्रस्तावहरू पारित गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको नवौं बैठक (५–६ साउन २०८२) बाट पारित प्रस्तावहरू
१. नेकपा (एमाले) र नेपाली काँग्रेस बिच सम्पन्न ७ बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले भर्खरै एक वर्ष पूरा गरेको छ । अस्थिरताका यावत् प्रयासलाई चिर्दै सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरेको छ । राजावादीहरूद्वारा गरिएको प्रतिक्रान्तिको दुष्प्रयासलाई विफल तुल्याइएको छ । महत्वपूर्ण नीतिगत सुधारसहित अर्थतन्त्रलाई लयमा फर्काइएको छ । निजी क्षेत्रमा भरोसा जगाउने र बाह्य लगानी अभिवृद्धि गर्ने काम गरिएको छ । अवरुद्ध विकास निर्माणका कामहरूले गति लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा उच्च प्राथमिकताका साथ सुरु गरिएको दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन निष्कर्षमा पुगेको छ । दैलेखमा नेपालको ५० वर्षसम्मको आवश्यकता पूर्ति गर्न सक्ने मिथेन ग्यास भण्डार रहेको तथ्य सार्वजनिक हुनु निकै उत्साहपूर्ण विषय हो । सरकारले बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको उपस्थिति, एजेण्डा र भूमिकालाई प्रभावकारी बनाउँदै लगेको छ । सहकारी क्षेत्रका बेथितिहरूलाई सम्बोधन गर्दै बचतकर्ताहरूको बचत फिर्ता गराउने र अनियमिततामा सङ्लग्नहरूलाई कानुनी दायरामा ल्याउने काम पनि अगाडि बढेको छ । हालै श्रमिकहरुको न्यूनतम पारिश्रमिक वृद्धि गरिएको छ । केन्द्रीय कमिटीको नवौँ बैठक वर्तमान सत्ता सहकार्यलाई अझ सुदृढ गर्दैै सात बुँदे सहमति कार्यान्वयनमा दृढता दोहोर्याउन चाहन्छ र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन आह्वान गर्दछ ।
२. भ्रष्टाचार र अनियमितताप्रति निशर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा नेकपा (एमाले) को आधारभूत मान्यता रहँदै आएको छ । यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको तथ्य सर्वविदितै छ । सार्वजनिक पदमा रहेका नेता, कार्यकर्ता विरुद्ध गम्भीर कानुनी या नैतिक प्रश्न उठेपछि त्यसको छानबिनका लागि मार्गप्रशस्त गर्ने र छानबिन नसकुञ्जेल जिम्मेवारीबाट बाहिर रहने परम्परा बसाल्ने पार्टी नेकपा (एमाले) नै हो भन्ने कुरा विगतमा हामीले पुष्टि गरिसकेका छौँ । भोलिका दिनमा पनि हामी यसै अनुरुप अगाडि बढ्ने सङ्कल्प यो बैठक पुनः दोहोर्याउन चाहन्छ । तर पार्टीले स्थापना गरेको यस मानकलाई बेवास्ता गर्दैै अपुष्ट र नियोजित ढङ्गले गरिने भ्रम प्रचारको भने पार्टी दृढ प्रतिवाद गर्दछ ।
३. भोलि साउन ७ गते, ४७ औं पुष्पलाल स्मृति दिवस । ४७ औंँ स्मृति दिवसको यस अवसरमा यो बैठक नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव, नेपालको लोकतान्त्रिक आन्दोलनका अविचलित धरोहर, संयुक्त जनआन्दोलनका प्रणेता एवं नेपालको इतिहासको वैज्ञानिक व्याख्याता कमरेड पुष्पलालप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछ र उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने सङ्कल्प गर्दछ ।
४. मनसुनको मध्यअवस्थामा आइपुग्दा पनि मधेस प्रदेश लगायत कतिपय भूभागमा पर्याप्त वर्षा नभएर सुख्खा बढ्दै गएको, धान रोपाइँ गम्भीर रुपले प्रभावित भएको र पिउने पानीको समेत हाहाकार पर्दै गएको अवस्थाप्रति नेकपा ९एमाले० गहिरो चिन्ता व्यक्त गर्दछ । सुख्खाग्रस्त क्षेत्रमा किसानहरूलाई आवश्यकता अनुसार वैकल्पिक बाली लगाउन आवश्यक प्राविधिक सहायता र राहत उपलव्ध गराउन यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरेको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेसको दीर्घकालीन समस्या समाधान गर्न माग गर्दछ ।
६. यस पटक पनि किसानहरूले धान खेतीमा आवश्यक पर्ने रासायनिक मल पर्याप्त मात्रामा पाउन नसकेको गुनासो सुनिएको छ । सरकारले चैते धान खेती वृद्धि गर्न प्रोत्साहन गरे अनुरुप गतः वर्ष धेरै किसानहरूले चैते धान लगाए पनि त्यसको बजार प्रबन्ध हुन नसकेकाले किसानहरू मर्कामा परेको गुनासो पनि देखापरेको छ । त्यसै गरी दुध उत्पादक किसानहरूलाई दुग्ध विकास संस्थान र निजी डेरीहरूले भुक्तान गर्नुपर्ने ३ अर्बभन्दा बढी बक्यौता अझै बाँकी रहेको र यसले किसानहरूलाई निकै मर्कामा पुर्याएको यथार्थ पनि सार्वजनिक भएको छ । यो बैठक सरकारले नेपाली किसानहरूले भोग्नुपरेका यी लगायत यावत् समस्याहरूको तदारुकताकासाथ समाधान गर्न, नेपाली किसानहरूको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न आह्वान गर्दछ ।
७. यही असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठुलो क्षति पुर्याएको छ । बाढी पहिरोले कैयौँ व्यक्तिको ज्यान गएको छ भने कतिपय व्यक्ति अझै पनि वेपत्ता छन् । बाढीले नेपाल र चीनलाई जोड्ने मितेरी पुल बगाउनुका साथै सुख्खा बन्दरगाहमा राखिएका दर्जनौँ गाडी, कन्टेनर र भौतिक संरचनामा समेत अकल्पनीय क्षति पुर्याएको छ । केन्द्रीय कमिटीको यो बैठक बाढी पहिरोले पुर्याएको यस क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गर्दछ । मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्र राष्ट्रसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि आह्वान गर्दछ ।
८. शोक प्रस्ताव
(क) यो बैठक नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड बैकुण्ठनाथ दाहालको गतः असार २३ गते ७१ वर्षको उमेरमा भएको असामयिक निधनको खबरले पार्टी केन्द्रीय कमिटी दुखित भएको छ । २०११ साल चैत २९ गते ओखलढुङ्गामा जन्मिनुभएका र हाल त्रियुगा नगरपालिका, उदयपुरमा स्थायी बसोबास गरिरहनु भएका कमरेड दाहाल लामो समयदेखि मुलुकको वामपन्थी आन्दोलनमा आबद्ध रहँदै आउनु भएको थियो । विगतमा शिक्षण पेशा र कानुन व्यवसायमा समेत सङ्लग्न कमरेड बैकुण्ठ दाहाल विगतमा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य हुँदै हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । सङ्घर्षशील, जुझारु, सिद्धान्तनिष्ठ एवं जनसेवी विशेषताका कमरेड दाहालको निधनले उदयपुरको कम्युनिष्ट आन्दोलनमा ठुलो क्षति पुगेको छ । केन्द्रीय कमिटीको यो बैठक कमरेड बैकुण्ठ दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँकी धर्मपत्नी उषा ढकाल दाहालसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
(ख) त्यसैगरी केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पर्वत जिल्लाका स्थापित कम्युनिष्ट नेता कमरेड गणेश पौडेलको यही असार ८ गते ८२ वर्षको उमेरमा भएको निधनबाट पार्टी दुखी भएको छ । पर्वत र गण्डकी क्षेत्रकै कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेड गणेश पौडेलको निधनले त्यहाँको पार्टी काममा क्षति पुगेको छ । केन्द्रीय कमिटीको यो बैठक कमरेड गणेश पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।
(ग) नेकपा (एमाले) का तर्फबाट २०४८ सालको निर्वाचनमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्व सांसद तथा हाल प्रदेश सल्लाहकार परिषद्का सदस्य कमरेड खगराज शर्माको हिजो साउन ५ गते भएको निधनबाट पार्टी दुखित भएको छ । २००२ साउनमा कास्की जिल्लाको सल्यानमा जन्मेर २०३८ सालदेखि बर्दिया मधुवनमा बसाइँसराई गर्नुभएका कमरेड खगराज शर्माले बर्दियाको कम्युनिष्ट आन्दोलनमा लामो योगदान गर्नुभएको छ । बर्दियाको पार्टी प्रमुखको समेत भूमिका निर्वाह गर्नुभएका कमरेड खगराज शर्मा विगतमा प्रदेश कमिटीको सदस्य समेत रहनुभएको थियो । केन्द्रीय कमिटीको यो बैठक कमरेड खगराज शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
(घ) पार्टी स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितकी जीवनसँगिनी एवं प्रतिबद्ध पार्टी कार्यकर्ता कमरेड विमला महतको गत जेठ १५ गते भएको असामयिक निधनबाट पार्टी निकै दुखित भएको छ । केन्द्रीय कमिटी कमरेड विमला महतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नीवियोगमा पर्नुभएका कमरेड लालबाबु पण्डित लगायत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
७ साउन २०८२
राजेन्द्र गौतम
प्रमुख, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग