काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।
मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।
अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ । यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यु भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।
संसद भवनको गेटमा आगो
काठमाडौंको बानेश्वरमा जेन–जी प्रदर्शन मा क्रममा एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको छ ।
सोमबार दिउँसो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि आन्दोलनकारीहरू थप उग्र बन्न थालेका हुन् ।
अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी समेत गरिरहेका छन्। उनीहरूले संसद भवनको गेट अगाडि आगजनी गरेका छन् ।
त्यस्तै, उनीहरूले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । संसद भवनका ठाउँठाउँका पर्खाल समेत भत्काइएका छन् ।
जेन–जीले सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गरेको थियो । त्यस्तै दिउँसो भने उक्त प्रदर्शनले निषेधित क्षेत्र तोडेपछि प्रहरीले बल प्रयोग गरेको हो । जेन–जीले यस आन्दोलनमा घुसपैठ भएको बताउँदै आएको छ । उनीहरूले विज्ञप्ति जारी गर्दै घुसपैठ भएकाले फर्किन भनेको थियो।
स्थिती तनावग्रस्त
बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ । सोमबार मध्याह्न साढे १२ बजे काठमाडौं प्रशासनले कफ्र्यू आदेश जारी गरेपछि जेनजी आन्दोलनले घर फर्किन आह्वान गरेको थियो। त्यसका बाबजुद पनि बानेश्वर क्षेत्र अझै तनावग्रस्त छ ।
अहिले प्रदर्शनकारीले ठाउँ–ठाउँमा आगजनी गरिरहेका छन् । कतिपयले संसद भवनको गेट अगाडि पनि प्रदर्शन जारी राखेका छन् ।
प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । गोली लागेका कतिपय पत्रकार पनि छन् । करिब दर्जन प्रदर्शनकारीहरू घाइते समेत भएका छन् । उनीहरूलाई बानेश्वर नजिकैको सिभिल अस्पतालमा र्पुयाइएको छ ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रशासनले कफ्र्यू जारी गरे पनि प्रदर्शनकारीहरू फर्केका छैनन् ।
जेनजी आन्दोलनले हिंसात्मक र विध्वंसकारी गतिविधि समेत हुन थालेपछि त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू आफ्ना प्रतिनिधि नभएको पनि भनिसकेको छ ।
सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन् ।
‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ उनले भने;
आन्दोलनले सुरूदेखि नै शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको उनले बताए ।
‘हामीले सुरूदेखि नै यो प्रदर्शन शान्तिपूर्ण गर्ने भनेर भनिरहेका थियौं। यसमा कुनै आधिकारिक आयोजक, नेतृत्व नभएको र आवाज मात्रै उठाउन भेला हुने भनेका थियौं,’ उनले भने, ‘घुसपैठ हुनसक्ने अनुमान हामीले गरेका थियौं। घुसपैठ भएपछि फर्किन आह्वान र्गयौं।’
प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२ १५:२७